पोथी बास्नुहुँदैन

  • साझा डबली
  • सोमवार, भदौ २५, २०८०
  • सधैँसधैँ घरका धुरीहरूमा
    आँगनहरूमा, बार्दलीहरूमा, बारका घोचाहरूमा
    घाँटी तन्काउँदै, सिउर हल्लाउँदै
    बास्ने काम भालेको हो
    आवाज उकास्ने काम भालेको हो ।

    पोथीले मात्र कुर्कुराउनु पर्छ
    आक्रोशका घुड्काहरू चुपचाप निल्नुपर्छ
    अण्डा पार्नुपर्छ ओथारा बस्नुपर्छ
    चल्ला काढ्नु अनि
    तन्मयतापूर्वक बच्चा हुर्काउनुपर्छ
    उन्मुक्त हाँसो हाँस्नुहुँदैन
    पोथी बास्नुहुँदैन ।

    तौलीतौली बोल्नुपर्छ
    शब्दमा आदरभाव घोल्नुपर्छ
    पाउमा निहुरिनुपर्छ
    दासताको फुल सिउरिनुपर्छ
    लक्ष्मणरेखा नाघ्नुहुँदैन
    अधिकार माग्नुहुँदैन
    उन्मुक्त हाँसो हाँस्नुहुँदैन
    पोथी बास्नुहुँदैन ।

    आँसु हतियार हो
    मुस्कान हतियार हो
    स्थितिअनुसार प्रयोग गर्नुपर्छ
    परिस्थितिअनुसार उपयोग गर्नुपर्छ

    साँचो कुरा बोल्नुहुँदैन
    अन्धकारको पर्दा खोल्नुहुँदैन
    उन्मुक्त हाँसो हाँस्नुहुँदैन
    पोथी बास्नुहुँदैन ।

    टेक गर्नुहुँदैन
    थुनछेक गर्नुहुँदैन
    मालिक मालिक रट्नुपर्छ
    यन्त्रजस्तो भएर खट्नुपर्छ
    नयाँ परिवेशमा टेक्नुहुँदैन
    नौलो विचार बोक्नुहुँदैन
    उन्मुक्त हाँसो हाँस्नुहुँदैन
    पोथी बास्नुहुँदैन ।

    बासेमा के हुन्छ ?
    साह्रै अनिष्ट हुन्छ
    नीतिनियम रुष्ट हुन्छ
    ठूलो अवरोध सहनुपर्छ
    आँसुको नदीमा बग्नुपर्छ
    सपना तुहिन सक्छ
    जीवन चुँडिन सक्छ
    ओथाराको अन्डा
    त्यसैत्यसै कुहिन सक्छ
    चल्लाको कलिलो जीवन
    नफुल्दै भर्न सक्छ
    प्रहार हुन सक्छ
    संहार हुन सक्छ
    त्यसैले चेतनाको डाक बोल्नुहुँदैन
    अन्धकारको पर्दा खोल्नुहुँदैन
    उन्मुक्त हाँसो हाँस्नुहुँदैन
    पोथी बास्नुहुँदैन ।

    अवरुद्ध चेतना
    कहिलेकाहीँ प्रवाहित हुन खोज्दा
    जडताका विरुद्ध
    गतिशीलताका पाइला चाल्न खोज्दा
    उज्यालाले कुत्कुत्याएपछि
    आँटिला मुटुहरूले मुख खोल्दा
    साँचो कुरा बोल्दा
    आतङ्कित बर्बरताहरू
    एकैपल्ट ब्युँझिएर
    जीवनको विरुद्ध
    मृत्युघण्ट ठोक्न सक्छन्
    एकोहोरो शङ्ख फुक्न सक्छन्
    त्यसैले ठूलो आँट नलिई
    दरिलो साथ नलिई
    काँडाघारीमा पस्नुहुँदैन
    उन्मुक्त हाँसो हाँस्नुहुँदैन
    पोथी बास्नुहुँदैन ।

    ( म उभिएको ठाउँबाट )

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology