भूराजनीति चुनौती र नेपालको रास्ट्रीयता : डा.खगेन्द्र प्रसाईं

  • साझा डबली
  • मङ्लबार, बैशाख २५, २०८१
  • रास्ट्रीयता भन्ने बित्तिकै यसले अलिकति इमोश्नल बनाउछ, यो स्वभाबिक कुरा हो।तर ऐतिहासिक भौतिकबादमा बिश्वास गर्ने मार्क्सवादीहरुले भने यसलाई तथ्यमा आधारित भएर विश्लेषण गर्नैपर्छ ।

    रास्ट्रीयताको अवधारणा ऐतिहासिक सन्दर्भसङ्ग जोडिएको हुन्छ र यो सापेक्ष बिषय हो।भारतको लागि रास्ट्रीयता भन्नुको अर्थ आफ्ना वरिपरिका साना देशहरूलाई हेप्ने खालको छ, अमेरिकाका लागि रास्ट्रीयता भनेको संसारभर आफ्नो प्रभाव र नियन्त्रण कायम गरेर आफ्नो अभिमान बढाउने कुरा हो भने नेपालका लागि रास्ट्रीयता भनेको त्यस्ता शक्तिशाली र अभिमानी देशबाट स्वतन्त्र र स्वाभिमान हुन पाउनुपर्छ भन्ने कुरासङ्ग जोडिएको सवाल हो। त्यसैले १९९० मा रास्ट्रीयता भन्नाले हामी जे बुझ्थ्यौ पञ्चायतमा त्यो छुट्टै थियो।अहिलेको रास्ट्रीयता भन्नाले पञ्चायतले भनेको भन्दा फरक अवस्थामा छ।

    लेनिनको कालमा रास्ट्रीयता भन्नाले आत्मनिर्णयको अधिकारको प्रश्न थियो।तर आज त्यो छैन।अहिले लेनिनकै जस्तो हुनुपर्छ भनेर सोच्ने कुरा समेत अब लेनिनमाथी अन्याय हुन्छ।लेनिनले त ठोस परिस्थितिको ठोस विशेषणको कुरा गर्नु भएको थियो।१ सय बर्षपछि अहिले पनि लेनिन कै विश्लेषण सार्वभौम र सान्दर्भिकता छन् भन्नु अमार्क्सवादी कुरा हो।अहिलेको समयमा रास्ट्रीयता भनेको साम्राज्यवादी विश्वव्यवस्था भित्र आफुलाई कसरी स्वतन्त्र राख्ने कुरा हो।यद्यपि एकथरी साथीहरू ७० को दशकपछि साम्राज्यवादको संरचनामा परिवर्तन आएको भनिरहेका छन।यसले पनि रास्ट्रीयताको नयाँ अवधारणाको माग गर्छ कि गर्दैन भन्ने बारे हामी स्पस्ट हुनुपर्छ ।

    अहिलेको विश्व भनेको एकातर्फ देशहरूका सिमाहरु खुल्ला छन् , ती पुजीको अनुकुल हुनेगरी खुला गरिएका छन।पुँजीवादलाई मजदुर चाहिन्छ सस्तो प्राकृतिक श्रोत आवश्यक हुन्छ , त्यसका लागि सिमाहरु खुला गरिएको हो ,उसलाई संसारभर बेलगाम घुम्न चाहिन्छ, त्यो प्रक्रियामा हाम्रो जस्ता देशहरूलाई त्यसले कस्तो चुनौती र अवसर दिन्छ भन्ने आधारमा हामीले रास्ट्रीयतालाई ब्याख्या गर्नुपर्छ।

    एकातिर संसार यसरी खुला छ भने अर्कोतिर बिरोधाभाषपूर्ण ढंगले हरेक देशहरूले आफ्नो प्रतिरक्षा बजेट बढाइरहेका छन्, सेनाको आधुनिकीकरण गरिरहेका छन।संसार युद्दतर्फ गए जस्तो देखिन्छ ।यो परिस्थितिमा रास्ट्रीयताको परिभाषा र पुनर्परिभाषा आवश्यक हुन्छ।अहिले हिजोको शोभियत संघ वा शितयुद्दको बेलाको जस्तो रास्ट्रीयताको परिभाषाले हुँदैन ।अहिले हाम्रा लागि रास्ट्रीयताको बिषय भनेको अमेरिकाले चीनलाई इन्सर्कल गर्नका लागि नेपालमा बढाउदै लगेको प्रभाव र त्यसलाई निस्तेज गर्ने उदेश्य सहित चीनले नेपालमा बढाउदै लगेको प्रभावबाट हामी कसरी स्वतन्त्र र सार्वभौम हुने भन्ने बिषय हो।परम्परागत रूपमा रहेको भारतको नेपालमाथिको प्रभाव पनि हाम्रो उत्तिकै चुनौती हो ।यी तीन ओटा शक्तिको प्रतिस्पर्धा भित्र हाम्रो रास्ट्रीयता कसरी जोगाउने , त्यसले हाम्रो राजनीति कता जान्छ भन्ने कुरा हो आजको रास्ट्रीयताको बिषय ।

    हिजो इतिहासको खास चरणमा पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गा बीचको तरुल भन्नु भएको थियो।तर अहिले तीन ढुङ्गा बीचको तरुल भन्नू पर्ने बेला आएको छ।यसप्रकारको प्रतिस्पर्धाको बीचबाट पनि रास्ट्रीयताको लागि चुनौती र अवसर दुबै छ भन्ने कुरालाई हामीले ख्याल गर्नुपर्छ।यसले नयाँ ढङ्गले रास्ट्रीय एकता र नेगोसियशनको स्थिति पैदा भएर देशलाई अगाडि लिएर जाने सकारात्मक अवसर एकातिर छ भने शक्तिशाली देशको युद्द मैदान बन्ने खतरा पनि उत्तिकै छ ।

    अमेरिकीहरु जहाँजहाँ जान्छन् त्यो देशको सत्यनाश हुने गरेको इतिहास छ।अहिलेसम्मको इतिहास यस्तो छ।देशमा जतिबढी अमेरिकीहरु प्रवेश गर्नेछन त्यति नै त्यसले समाजवादी अभियानलाई पनि तहसनहस पार्ने छ।नेपालमा एमसीसीको प्रवेशलाई समेत हामीले गम्भीर रूपमा लिनुपर्छ ।

    हिजो लेनिनले साम्राज्यवादको व्याख्या गर्दा खेरी जुन पाँच ओटा विशेषताको चर्चा गरेका थिए ,त्यसमध्ये साम्राज्यवादीहरुले बिश्वलाई आपसमा बाडचुड गर्नेछन् भनेका थिए।तर अहिले संसारको कुनैपनि देश ,कुनै एउटा शक्तिको मात्रै नियन्त्रणमा हुने स्थिति छैन ।हिजो अमेरिकाको स्याटेलाइट भनिएको जापान , कोरिया जस्ता राज्यमा समेत चाइना र भारतको ठूलो व्यापार छ।कुनैपनि संसारको एउटा भाग एउटा कुनै राज्यको अधिनमा छैन ।यो लेनिनले भने जस्तो साम्राज्यवाद होईन ।यसले हामीलाई पनि केही अवसर पनि दिएको छ।नेपालमा बिगतको जस्तो भारत वा चीन कुनै देश बिषेसको मात्रै व्यापारको प्रभुत्वको संभावना हुनेछैन ।यो हाम्रा लागि अवसर हुनेछ।

    जुन देशको अर्थ व्यवस्था हुन्छ राजनीति पनि उसैको हाबी हुन्छ।यसलाई राजनीति र अर्थव्यवस्था भनेर अलग गरेर हेर्नु हुँदैन ।जहाँसम्म रास्ट्रीय पुजी सम्बन्धि हिजोको माओको जुन परिभाषा थियो, त्यसको पनि पुनरपरिभाषा जरुरी छ।कुन पुजी रास्ट्रीय पुजी हो र कुन होइन भन्ने कुरामा हामी स्पस्ट हुनुपर्छ ।नेपालीको स्वामित्व भएको पुजी मात्रै रास्ट्रीय पुजी हुन्छ भन्ने कुरा पनि अब सहि होइन।चीनले के प्रमाणित गर्‍यो भने जसले त्यहाँ कम्पनी खोलेका छन,जसले रोजगार दिएर मुल्यको सञ्चय, संग्रह र पुनसंग्रह गर्छन्, त्यहाँ उत्पादन गर्छन् ती रास्ट्रीय पुजी भए।त्यसैले नेपालीको स्वामित्व भएको पुजी मात्रै रास्ट्रीय पुजी हुन्छ भन्ने कुरा आजको सन्दर्भमा सहि होईन ।

    (नेपाल चीन जनमैत्री समाजद्वारा २१बैशाख२०८१मा काठमाडौमा आयोजित अन्तर्कृयामा व्यक्त मन्तव्यको सम्पादित अंश)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology