केही मापदण्ड परिवर्तन गरेर यसपालीको एसईई मूल्यांकन गत वर्ष भन्दा फरक हुने

  • साझा डबली
  • मङ्लबार, जेष्ठ २५, २०७८
  • काठमाडौं,  जेठ २५ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनका लागि नयाँ कार्यविधिको तयारी गरेको छ । यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताएका छन ।

    उनले भने ‘कार्यविधिको ड्राफ्ट तयार भइरहेको छ । यो महिनाभित्र सकेर मूल्यांकन गर्न निर्देशन दिन्छौं ।’

    गतवर्ष एसईईको नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो । सोही कार्यविधि अनुसार विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी विद्यार्थीको मूल्यांकन गरिएको थियो ।

     

    समितिले पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन गरी परीक्षाफल प्रकाशित गरेको थियो ।

    यस वर्षको मूल्यांकन विधि गत वर्षकोभन्दा फरक हुने अध्यक्ष पौडेलले बताएका छन । के-के फरक हुन्छ भन्ने नखुलाएका उनले भने, ‘गत सालको भन्दा अलि-अलि फरक हुन्छ ।’

    कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएपछि जेठ १३ गतेबाट तय भएको एसईई परीक्षा स्थगित भएको थियो । आन्तरिक मूल्यांकन विधि अनुसार गराउने शिक्षा मन्त्रालयको प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेपछि बोर्डले मूल्यांकन कार्यविधि तयार गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology