कोरोना प्रभावित किसानका लागि राहत घोषणा

  • साझा डबली
  • बिहिबार, जेष्ठ १, २०७७
  • बुटवल, जेष्ठ १। प्रदेश नं ५ को सरकारले कोरोनाबाट प्रभावित किसानलाई राहत दिने भएको छ।

    बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित किसानका लागि कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

    बैठकले रोल्पामा भएको बम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैंयाका दरले राहत दिने निर्णय समेत गरेको छ।

    यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

    १) कोभिड-१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ। यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च हुनेछ।

    कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुने क्षेत्र

    क) कृषि एम्बुलेन्स परिचालनका लागि ३४ लाख रुपैंया

    ख) बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी,प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने। त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने। ५ सय किसान लाभान्वित हुने। कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने। प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने।

    ग) व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम-दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन हुने। ७ हजार लाभान्वित हुने। कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने। मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने। यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुने।

    घ) कोभिड-१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम

    यो कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गर्ने

    (१ सय ९ वटै पालिकामा गर्ने। व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने। प्रति किसान २० हजारका दरले सहयोग गर्ने। १० हजार ९ सय लाभान्वित हुने।)

    ङ) ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड :

    (२ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने। ६ हजार लाभान्वित हुने।)

    च) दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया

    (दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने।)

    छ) बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया। सबै जिल्लामा सञ्चालन गर्ने । २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने। प्रति बिघा २० हजार रुपैंयाका दरले दिने।

    यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने ।

    २) प्रदेश स्वास्थ्य नीति-२०७७ स्विकृत

    ३)स्वास्थ्य नियमावली स्विकृत

    ४)रोल्पामा वम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैंयाका दरले राहत दिने।

    ५) केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्विकृति दिने

    ६) जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय।

    ७) नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने।

    ८) कोरोना विशेष अस्पतालको क्षमता बढाउने:

    बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने। बुटवलमा २ सय बेड थप्ने र भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने।

    बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने।

    बिरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने।

    त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology