जनकपुरधाम, असोज ४ । देशभर संविधान दिवसको दीपावली भइरहेका बेला राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भने संविधान जलाएको छ । मधेस विरोधी संविधान भन्दै राजपाका कार्यकर्ताहरुले जनकपुरधामको शिव चोकमा शुक्रबार साँझ प्रहरीकै सामुन्ने संविधान जलाएका हुन् ।
प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री तथा राजपा नेता जितेन्द्र सोनलको नेतृत्वमा राजपाका युवा नेता संविधान जलाएका छन् । संविधान जलाउनु अघि राजपाले विरोध जुलुस निकालेका थिए ।
जुलुस जनकपुरको विभिन्न भागमा परिक्रमापश्चात शिव मन्दिर अगाडि कोणसभामा परिणत भएको थियो। कोणसभा सकेपछि संविधान जलाइरहँदा प्रहरी भने मुकदर्शक बनेको थियो ।
कोणसभामा मन्त्री सोनलले संविधान संशोधन गरी सबै समुदायको हकअधिकार ग्यारेण्टी नगरेसम्म विरोध जारी राख्ने बताए । उनले जनताले मत दिएर जिताएपछि सत्तामा पुगेको भन्दै कसैको दाया मायाले सरकारमा नपुगेको बताए ।
थरूहट समुदायका अगुवा तथा नेता लक्ष्मण थारूले अब अधिकारका लागि पुनः विद्रोह हुने चेतावनी दिए ।