
धनगढी / नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश समितिले अहिलेको आर्थिक राजनीतिक संकटको अग्रगामी निकासका लागि समाजवादी धारा निर्माणमा पहल गर्ने निर्णय गरेको छ।चैत २९ र ३० गते प्रदेश इन्चार्ज भरत सी `रणबीर´को अध्यक्षतामा धनगढीमा सम्पन्न सचिवालयको विस्तारित बैठकले यथास्थितिवाद विरुद्ध समाजवादी विकल्प अनिवार्य रहेको निष्कर्ष निकालेको हो।
बैठकले मुलुकमा अहिले सबैतिर अराजकता, निराशा र राज्यको असफलता व्यक्त भैरहेको मौकामा प्रतिगामी षड्यन्त्रको प्रयास भैरहेको भन्दै त्यसको भण्डाफोर र निकासको लागि समाजवादबारे व्यापक बिमर्श गर्ने निर्णय गरेको प्रदेश इन्चार्ज भरत सीले जानकारी दिएका छन् ।
उनले सत्ताको संकटको फाइदा उठाउने उदेश्यले केहि बिदेशी शक्तिहरु समेत सक्रिय भएकोले प्रतिगामी षड्यन्त्र र देशको स्वाधीनताविरुद्ध जारी बाह्य हस्तक्षेपको भण्डाफोर गर्ने निर्णय गरेको बताए ।
अहिले संसदीय व्यवस्था अन्तर्गतका कम्युनिस्ट र गैरकम्युनिस्ट पार्टीहरु समस्याको अग्रगामी निकास खोज्ने भन्दा पनि सरकार परिवर्तन गर्ने नाममा यथास्थितिवादको गोलचक्करमा देशलाई घुमाइ राख्ने प्रयास गरिरहेकोले त्यसको चिरफार समेत आवश्यक रहेको बैठकले जोड दिएको छ।
बैठकले स्थानीय तहमा भ्रष्टाचार,बिकास निर्माणमा भएको ढिलासुस्ती , घुसखोरी जस्ता बिकृति बढेकोले त्यसविरुद्ध जनसरोकारका सवालमा संघर्ष सञ्चालन गर्ने,अछामको जयगढमा भएको आगलागी पीडितलाई आफ्नो उत्पादनबाट राहत दिने,आगामी बैशाख १७ गते देखि कैलाली र कञ्चनपुरमा हुने सामना कलाकारको सांस्कृतिक कार्यक्रमको तयारी गर्ने निर्णय समेत गरेको छ।
त्यस्तै बैठकमा केन्द्रीय सदस्य,जिल्ला इन्चार्ज र अन्य सहभागी सदस्यहरुले आ-आफ्नो कार्यक्षेत्रको मौखिक रिपोर्टिङ गरेका थिए।रिपोर्टिङमा स्थानीय बिकास निर्माण, देशको राजनीतिक घटनाक्रमको स्थानीयमा परेको प्रभाव, जनताको सुझाव र अपेक्षा, विभिन्न मित्र पार्टीका नेताकार्यकर्तासङ्गको सहकार्य र उनिहरुको सुझाव, पार्टी कामका सबलपक्ष र सिमाहरुबारे सहभागीले धारणा राखेको बताइएको छ।