कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

  • साझा डबली
  • बुधबार, मंसिर १३, २०८०
  • काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै छन् । प्रधानमन्त्री प्रचण्डसहित नेपाली प्रतिनिधिमण्डल आज राति १० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । नेपाली टोलीमा वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोलगायत अन्य उच्चाधिकारी सहभागी हुनेछन् ।

    कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित देशहरुको तर्फबाट नेपालले अध्यक्षतासहित प्रतिनिधित्व गर्दैछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यूएईको दुबइमा भोलि सम्मेलनको उद्घाटन समारोह हुँदैछ । आयोजक यूएईले सम्मेलनको अध्यक्षता गर्नेछ ।

    कोप–२८ मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । भोलिदेखि १३ दिनसम्म चल्ने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड भोलि र पर्सि आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    उनले शुक्रवार सत्रलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले शुक्रवार नै ‘कल अफ दी माउन्टेन : हु सेभ अस फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउने कार्यतालिका छ । यो सत्रमा उनले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तन र तापक्रमको असर बुझ्न र हेर्नका लागि अपिल गर्ने तयारी छ ।

    प्रधानमन्त्री प्रचण्डले सम्मेलनका क्रममा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवम् उच्चस्तरीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने छन्। साथै उनले यूएईमा हुन लागेको नेपाल–यूएई व्यापार सम्मेलनमा सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ । नेपाली टोली शनिवार स्वदेश फर्किने छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology