नयाँ सदस्यहरुको विवरण तत्काल केन्द्रमा पठाउन महासंघलाई जनपत्रकार संगठनको माग

  • साझा डबली
  • आइतवार, मंसिर १०, २०८०
  • काठमाडौं । जनपत्रकार संगठन नेपाल, उपत्यका प्रदेशले नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाबाट प्राप्त नयाँ सदस्यहरुको विवरण तत्काल केन्द्रमा पठाउन माग गरेको छ । आइतबार नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशलाई ज्ञापनपत्र बुझाउँदै संगठनले नयाँ सदस्यहरुको विवरण केन्द्रमा पठाएर उनीहरुको मताधिकार सुरक्षित गर्न माग गरेको हो ।

    संगठनका प्रदेश संयोजक शोभराज बरालको नेतृत्वमा गएको जनपत्रकारको टोलीले उपत्यका प्रदेशका महासचिव टेनिश रोकालाई ५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो । नेपाल पत्रकार महासंघले गरिरहेको कान्तिपुर लगायतका मिडियाहरु विरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन पहल गर्नुपर्ने, साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमहरु सुरक्षा, संरक्षण र सम्बद्र्धनका लागि उपत्यका प्रदेशले तत्काल पहल लिनुपर्ने, लगायतमा माग राखेर ज्ञापनपत्र बुझाएको हो ।

    साथै, नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिदै गर्दा काठमाडौं जिल्लाबाट प्राप्त नयाँ सदस्यता केन्द्रमा सिफारिस नभएको प्रति आपत्ती जनाउँदै तत्काल सिफारिस गरी नयाँ सदस्यहरुको मताधिकारि सुरक्षित गर्नसमेत माग गरेको छ । पत्रकारहरुको क्षमता वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था र उक्त तालिम प्रशिक्षणमा जनपक्षीय पत्रकारहरुको उपस्थिति सुनिश्चित गर्न समेत माग गरिएको छ ।

    ज्ञापनपत्र बुझाउन शाहस भट्ट, कमल बि.क, पुस्पा पाउद, पासाङ बि.क लगायतको उपस्थिति रहेको थियो । ज्ञापनपत्र बुझ्दै महासचिव रोकाले जनपत्रकारले उठाएका मागहरु प्रदेश समितिकै चासोका विषय भएकाले कार्यान्वयन हुनेमा चिन्त नगर्न आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology