हामी देशको नेतृत्व लिने ठाउँमा आइपुगेका छौं : शीलु सी

  • साझा डबली
  • शनिबार, भदौ ३०, २०८०
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य शीलु सीले नेपाल कम्युनिस्ट पार्टी देशको नेतृत्व लिने ठाउँमा आइपुगेको बताएकी छन् । नेकपा काठमाडौं उपत्यका व्युरोसहित तीन वटा व्युरोले संयुक्त रुपमा आयोजना गरेको राजनीति तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शीलुले आफ्नो पार्टी देशको नेतृत्व गर्ने ठाउँमा पुगेको बताएकी हुन् ।

    पार्टी नेतृत्व प्रति जनतादेखि ठूला राजनीतिक दलहरुसम्मले विश्वास गरेकाले आफ्नो पार्टी देशको नेतृत्व गर्ने ठाउँसम्म पुगेको बताएकी हुन् । ‘हाम्रो महासचिवलाई माओवादी केन्द्रका नेताहरुले नेतृत्व गरिदिन पर्यो भनिरहनु भएको छ । त्यहाँ विप्लवको खोजी भइरहेको छ ।’, उनले भनिन्, ‘त्यहाँ नेताहरुको खडेरी भएर हो । जनताले पनि विप्लवलाई एक पटक हेर्न पाए हुन्थ्यो भन्ने गरेका छन् । तर हाम्रो पार्टी महासचिव कुनै पनि पार्टीको महासचिव बन्न जानुहुन्न । सिधै नेतृत्व आउँछ भने पछि हटिन्न ।’

    नेकपा अहिलेसम्म स्वतन्त्र, स्वच्छ र जनताको पक्ष उभिएकाले देशले विश्वास गर्ने ठाउँमा पुगेको उनको भनाई थियो । उनले रवि लामिछाने, बालेन शाहहरु विदेशीका दलालहरु भएको बताइन् । ‘रविहरु जनताका मान्छे होइनन् । उनीहरु त विदेशीका दलालहरु हुन् । उनीहरुलाई जनताको माया छैन ।’, उनले भनिन्, ‘उनीहरु विदेशीका सच्चा दलाल हुन् । हाम्रो अबको लडाई उनीहरु सँग हो ।’

    कार्यक्रममा नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा उपत्यका व्युरो इन्चार्ज तथा पार्टीका पोलिटव्युरो सदस्य कृति सीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपत्यका व्युरोसहित पूर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ र जवस मोर्चामा कार्यरत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पूर्वी ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य विकल्प सीले गरेका थिए भने प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टीका पोलिटब्युरो सदस्य आजद सीले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य विषम सी, शिलु सी, शुशील सीले प्रशिक्षण मन्तव्य राखेका थिए ।

    अतिथिको रुपमा नेकपाका पोलिटव्युरो सदस्यहरु माइला सी, चिरन सी, आस्था सी लगायत थुप्रै केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology