अतिरिक्त मूल्यको शोषण गर्ने तरिका: एक अर्थ-राजनीतिक बिमर्श 

  • साझा डबली
  • मङ्लबार, भदौ २६, २०८०
  •  

    (क) निरपेक्ष अतिरिक्त मूल्य

    पुँजीवाद मजदुरहरूको शोषण र दोहनमाथि आधारित व्यवस्था हो । बाहिरबाट हेर्दा मजदुरहरू स्वतन्त्रजस्तो देखिए पनि आफ्नो श्रमशक्तिको बिक्री नगरी बाँच्न नसक्ने बाध्यताले गर्दा वास्तवमा उनीहरू स्वतन्त्र छैनन् । आर्थिक बाध्यताले गर्दा उनीहरू पुँजीपतिहरूका लागि आफूलाई घोट्न र अतिरिक्त मूल्य सिर्जना गर्न बाध्य रहन्छन् । पुँजीवादी उत्पादनको एउटा महत्त्वपूर्ण विशेषताको रूपमा त्यसको मूल उद्देश्य जनताको आवश्यकता परिपूर्ति गर्नुभन्दा पुँजीपतिको सम्पत्ति बढाउनु, पुँजीपतिका लागि धन पैदा गर्नु रहेको छ । अर्को तथ्य, अतिरिक्त मूल्यका लागि पुँजीपतिहरूको प्यास कहिल्यै मेटिंदैन । मार्क्सकै शब्दमा- “पुँजी भनेको मृत श्रम हो र यो रक्त पिपासु पिशाच जीवित श्रमलाई चुसेर मात्र बाँचेको हुन्छ । जति बढी जीवित श्रम त्यसले चुस्दछ, त्यति बढी त्यो मोटाउँछ। “मुद्राको रूपमा पुँजीको सञ्चय असीमित रूपमा गर्न सकिने भएकाले मजदुर र जनताको सकेसम्म बढी शोषण गरेर आफू झन्झन् मोटाउने पुँजीपतिहरूको चाहना सधैं अतृप्त रहेको हुन्छ । पुँजीपतिहरू आफूलाई अझ धनी बनाउने प्रयासमा अतिरिक्त मूल्य बढाउन अर्थात् मजदुरको शोषण अरू तीव्रत्तर पार्न खोज्छन् तथा सो काम निरपेक्ष र सापेक्ष अतिरिक्त मूल्यको उत्पादनद्वारा दुई तरिकाबाट गर्छन् ।

    मजदुरहरूको शोषण बढाउने एउटा उपाय कामको समय बढाउनु हो । यो साधारण वा सजिलो उपाय हुनाको मुख्य कारण यसमा बढी अस्थिर पुँजी, खास किसिमको प्रविधि वा बेग्लै श्रम सङ्गठनको खाँचो पर्दैन, केवल मजदुरलाई आर्थिक रूपले बाध्य पारे पुग्छ । मजदुरलाई बढी समय काममा लगाउनुको अर्थ हो अतिरिक्त श्रम समय लम्ब्याउनु, जसबाट बढी अतिरिक्त मूल्य उत्पादन गर्नु हो । निरपेक्ष अतिरिक्त मूल्यको उत्पादन कार्यदिन बढाउने कुरासित सम्बन्धित छ । यसरी कामको समय निरपेक्ष रूपमा बढाएर अर्थात् श्रमशक्तिको खर्चमा निरपेक्ष रूपले वृद्धि गर्दा जुन अतिरिक्त मूल्य प्राप्त गरिन्छ, त्यसलाई निरपेक्ष अतिरिक्त मूल्य भनिन्छ ।

     

    कामको समय निरपेक्ष रूपले बढाएर पुँजीपतिले बढी अतिरिक्त मूल्य हासिल गर्न सक्छ । त्यसैले कामको समय लम्ब्याएर निरपेक्ष अतिरिक्त मूल्यको उत्पादन गर्नु पुँजीवादी शोषणको एउटा सामान्य आधार हो ।

     

    मानौँ, पहिले ८ घण्टाको कार्यदिनमा ४ घण्टा आवश्यक श्रम समय र ४ घण्टा अतिरिक्त श्रम समय रहेको थियो । त्यस अवस्थामा मजदुरले प्रतिघण्टा रु.२५ बराबरको मुल्य पैदा गर्छ । त्यसअनुसार उसले पहिलो ४ घण्टामा श्रमशक्तिको मूल्यको रूपमा आफूले पाएको मूल्य (रु. १००/-) को परिपूर्ति गर्दछ भने पछिल्लो ४ घण्टामा रु.१००।- को अतिरिक्त मूल्य पैदा गर्दछ । यहाँ शोषणको दर १०० प्रतिशत छ । यदि ८ घण्टालाई बढाएर १० घण्टाको कार्यदिन बनाइएको अवस्थामा मजदुरले गर्ने अतिरिक्त श्रम ४ घण्टाबाट बढेर ६ घण्टा हुन जान्छ । सो ६ घण्टामा उसले रु. १५०।- को अतिरिक्त मूल्य पैदा गर्दछ र शोषणको दर १५० प्रतिशत हुन्छ । यसरी कार्यदिनको वृद्धिबाट कुल अतिरिक्त मूल्य र त्यसको दर दुवैमा वृद्धि हुन्छ । कामको समय निरपेक्ष रूपले बढाएर पुँजीपतिले बढी अतिरिक्त मूल्य हासिल गर्न सक्छ । त्यसैले कामको समय लम्ब्याएर निरपेक्ष अतिरिक्त मूल्यको उत्पादन गर्नु पुँजीवादी शोषणको एउटा सामान्य आधार हो । अतिरिक्त श्रम समय जति बढी भयो त्यति बढी अतिरिक्त मूल्य हडप्न पाउने भएकाले पुँजीपतिले कामको समयलाई सकेसम्म धेरै, अधिकतम हदसम्म बढाउन चाहन्छ ।

     

    पुँजीको यस प्रवृत्तिका बारेमा मार्क्स लेख्नुहुन्छ- “…. अन्धो, रोक्नै नसकिने भावावेशमा अतिरिक्त श्रमका लागि आफ्नो हुँडारी भोकमा, पुँजीले कार्यदिनको नैतिक सीमालाई मात्र होइन, त्यसको शारीरिक अधिकतम सीमालाई समेत पनि नाघ्ने गर्दछ । त्यसले शरीरको अभिवृद्धि, विकास र स्वस्थ निर्वाहका लागि चाहिने समयका साथै स्वच्छ हावा र घामको उपभोगका लागि चाहिने समयलाई चोरेर लिन्छ, खानाको समयलाई सम्भव भएसम्म उत्पादनको प्रक्रियासितै मिलाएर लैजान्छ, जसले गर्दा मजदुरलाई उत्पादनका साधनलाई झैं, त्यसरी नै खाना दिइन्छ, जसरी ब्याइलरलाई कोइला तथा मेसिनलाई ग्रिज र तेल दिइन्छ । त्यसले शारीरिक शक्तिको पुनस्थापना, क्षतिपूर्ति तथा नवीकरणका लागि चाहिने मस्त निद्रालाई सुषुप्तावस्थाको त्यति घण्टासम्ममा घटाउँछ, जति एकदमै थाकेको शरीरको पुनर्जीवनका लागि आवश्यक छ ।

     

    कार्यदिनको सीमालाई निर्धारित गर्ने कुरा श्रमशक्तिको सामान्य निर्वाह रहेको हुँदैन; कामदारहरूको आरामको समयलाई निर्धारित गर्ने कुरा श्रमशक्तिको अधिकतम सम्भव दैनिक व्यय रहन्छ, चाहे उक्त श्रमशक्ति जतिसुकै रोगी, बाधित तथा कष्टकर होस् । पुँजीले श्रमशक्तिको जीवनको लम्बाइप्रति कुनै वास्ता गर्दैन । उसको मुख्य र एक मात्र चासोको विषय एक कार्यदिनमा क्रियाशील पार्न सकिने अधिकतम श्रमशक्ति रहन्छ । त्यसले मजदुरको जीवन समयलाई छोट्याएर उक्त उद्देश्य हासिल गर्छ, जसरी एउटा लोभी किसानले जमिनलाई त्यसको उर्वराशक्तिबाट वञ्चित गरेर त्यसबाट बढी उपज लिने गर्छ ।

     

    यसरी मजदुरहरूको तातो रगतका लागि कहिल्यै नमेटिने रक्त पिपासा शान्त पार्ने प्रयत्नमा कामको समय अधिकतम सीमासम्म बढाउनु र त्यस ढङ्गले मजदुरको आयु छोट्याएर उसलाई शारीरिक तथा नैतिक अधपतनको खाल्टोमा खसाली बढीभन्दा बढी अतिरिक्त मूल्य हडप्नु पुँजीवादी उत्पादनमा अन्तर्निहित प्रवृत्ति हो । कामको समय बढाएर निरपेक्ष अतिरिक्त मूल्य उत्पादन गर्ने उक्त तरिका पूँजीवादका सुरुका वर्षहरूमा प्रमुख रहेको थियो, किनभने त्यस बेला अतिरिक्त मूल्य बढाउने अन्य उपायहरूको विकास भइसकेको थिएन ।

     

    निरपेक्ष अतिरिक्त मूल्यको सम्बन्धमा पुँजीपतिको चाहना र आदर्शको कुरा गर्ने हो भने ऊ त कामको समय एक दिनमा चौबीसै घण्टा होस् भन्ने चाहन्छ, जुन कुरा जतिसुकै कठोर शोषणको स्थिति भए पनि सम्भव छैन । कामको समय बढाउने सम्बन्धमा केही सीमाहरू छन् । एउटा प्रमुख सीमा हो- कुनै पनि व्यक्तिका लागि आफ्नो सामर्थ्य कायम गर्न अर्थात् उसको जीवन्त शक्ति कायम राख्न उसका शारीरिक आवश्यकताहरूको पूर्ति हुनुपर्छ र त्यसका लागि समयको खाँचो पर्छ । बाँच्नका लागि उसले खानु-पिउनु, सुत्नु, आराम गर्नु र अन्य आवश्यकताहरू पूर्ति गर्न उसलाई कामबाट फुर्सद मिल्नुपर्छ । उक्त आवश्यकताको परिपूर्तिका निम्ति चाहिने समय पुँजीपतिले मजदुरबाट हडप्न सक्दैन, किनभने त्यसो गरेमा मजदुरको जीवनलीला नै समाप्त हुन्छ । यसले कामको समयलाई शारीरिक रूपले सीमित पार्दछ । कामको समय सीमित पार्ने अर्को सीमा हो नैतिक तथा सामाजिक सीमा।

     

    विकसित मुलुकहरूमा रहेका मजदुरका बौद्धिक तथा सामाजिक आवश्यकता अल्पविकसित मुलुकका मजदुरहरूको भन्दा बढी छन् ।

     

    मजदुरलाई उसका सामाजिक, बौद्धिक तथा सांस्कृतिक आवश्यकताहरूको परिपूर्ति गर्न समयको आवश्यकता पर्दछ । उसलाई पत्रपत्रिका पढ्न, रेडियो सुन्न, सिनेमा र टेलिभिजन हेर्न तथा अन्य मनोरञ्जनात्मक काम गर्न समय दिनुपर्ने हुन्छ । जहाँसम्म ती आवश्यकताहरूको मात्रा र त्यसलाई पूरा गर्ने साधनहरूको सवाल छ, त्यो सम्बन्धित मुलुकको विकास, त्यहाँको सांस्कृतिक तथा बौद्धिक स्तर, सामाजिक परिवेश आदिमा निर्भर गर्दछ । विकसित मुलुकहरूमा रहेका मजदुरका बौद्धिक तथा सामाजिक आवश्यकता अल्पविकसित मुलुकका मजदुरहरूको भन्दा बढी छन् ।

     

    कामको समय अधिकतम मात्रामा बढाउने पुँजीपतिको चाहना भए पनि त्यसलाई असीमित रूपमा बढाउन सकिँदैन । यस सम्बन्धमा विभिन्न शारीरिक, सामाजिक तथा नैतिक सीमाहरू रहेका छन् । त्यस्तै, अर्को ध्यानयोग्य कुरा कामको समय घटाउने सीमा । त्यसलाई आवश्यक श्रम समयभन्दा कम पार्न सकिँदैन, किनभने त्यस स्थितिमा पुँजीपतिलाई अतिरिक्त मूल्य प्राप्त हुँदैन र उसले उत्पादनमा आफ्नो पुँजी लगाउने छैन ।

     

    कामको समय कति हुने भन्ने सम्बन्धमा पुँजीपति र मजदुरको स्वार्थ पूरै विपरीत र वैरभावपूर्ण छ । पुँजीपति कामको समय आवश्यक श्रम समयभन्दा सकेसम्म बढाउन चाहन्छ भने मजदुर त्यसलाई कम पार्न खोज्छ । मजदुरको स्वास्थ्य र जीवनको पर्बाह नगरी कामको समय बढाउने पुँजीपतिको प्रयासले निरन्तर रूपमा मजदुरको प्रतिरोधको सामना गर्नुपरेको छ । कामको समयलाई लिएर मजदुर र पुँजीपतिमाझ ठूलठूला सङ्घर्षहरू चलेका छन् । मजदुरहरूको सङ्घर्षले व्यापकता लिँदा पुँजीपतिहरूले बाध्य भएर समयसमयमा पछि हट्नु र सहुलियतहरू दिनुपरेको छ । आफ्नो हकहित र न्यूनतम कार्यदिनका लागि चलाइएका मजदुरहरूका सशक्त, व्यापक तथा जोडदार सङ्घर्षहरूको फलस्वरूप कामको समय सीमित पारेर समयसमयमा कानुनहरू बनेका छन् । सामान्य कार्यदिन कति हुने भन्ने सवालको फैसला शक्तिले अर्थात् मजदुर र पुँजीपतिहरूमाझ चल्ने सङ्घर्षले गर्ने गरेको छ । अहिले ८ घण्टाको सामान्य कार्यदिन धेरैजसो मुलुकहरूमा जसरी स्थापित भएको छ, त्यो सयौँ वर्ष मजदुर र पुँजीपति वर्गमाझ चलेको भयानक रक्तरञ्जित सङ्घर्षको परिणाम हो ।

     

    समान अधिकारको झगडामा शक्तिले फैसला गर्छ । त्यसैले पुँजीवादी उत्पादनको इतिहासमा कार्यदिन कति हुन्छ भन्ने कुराको निर्धारणले आफूलाई सङ्घर्षको परिणामको रूपमा, सामूहिक पुँजी अर्थात् पुँजीपतिहरूको वर्ग र सामूहिक श्रम अर्थात् मजदुर वर्गमाझ सङ्घर्षको परिणामको रूपमा प्रस्तुत गर्छ ।

     

    पुँजीपतिले मजदुरलाई सकेसम्म बढी समय काममा लगाउन खोज्ने तर मजदुरले कार्यदिनलाई निश्चित सामान्य समयमा घटाउन खोज्ने कुरालाई स्पष्टसित दर्साउँदै मार्क्स लेख्नुहुन्छ- “… ज्यादै लचकिला सीमाहरूलाई एकातिर राख्दा वस्तुहरूको विनिमयको स्वरूप स्वयम्ले कार्यदिनको कुनै सीमा, अतिरिक्त श्रममा कुनै सीमा लादेको छैन । कार्यदिनलाई सकेसम्म लामो बनाउने र सम्भव हुँदा एक कार्यदिनलाई दुई कार्यदिन बनाउने प्रयास गर्दा, पुँजीपतिले क्रेताको रूपमा आफ्नो अधिकार स्थापित गरेको हुन्छ । अर्कोतिर बेचिएको वस्तुको अनौठो स्वभावले क्रेताद्वारा त्यसको उपभोगमा एउटा सीमा बाँधेको हुन्छ र कार्यदिनलाई निश्चित सामान्य समयमा घटाउने इच्छाले गर्दा मजदुरले विक्रेताको रूपमा आफ्नो अधिकार स्थापित गरेको हुन्छ । तसर्थ, यहाँ एउटा वैरभाव, अधिकारको विरुद्ध अधिकार छ र दुवैले विनिमयको नियमको लालमोहर पाएका छन् । समान अधिकारको झगडामा शक्तिले फैसला गर्छ । त्यसैले पुँजीवादी उत्पादनको इतिहासमा कार्यदिन कति हुन्छ भन्ने कुराको निर्धारणले आफूलाई सङ्घर्षको परिणामको रूपमा, सामूहिक पुँजी अर्थात् पुँजीपतिहरूको वर्ग र सामूहिक श्रम अर्थात् मजदुर वर्गमाझ सङ्घर्षको परिणामको रूपमा प्रस्तुत गर्छ ।

    कार्यदिन लम्ब्याएर निरपेक्ष अतिरिक्त मूल्य हासिल गर्न पुँजीपतिहरूले अपनाउने एउटा तरिका मजदुरहरूलाई ओभरटाइम काम गराउनु हो । निर्धारित कार्यदिनभन्दा बढी समय काममा लगाएर निरपेक्ष अतिरिक्त मूल्यको उत्पादनमा वृद्धि गर्ने यो तरिका सबैजसो पुँजीवादी तथा अल्पविकसित मुलुकहरूमा प्रयोग गरिन्छ । उक्त तरिकाले पुँजीपतिका लागि थप अतिरिक्त मूल्य पैदा गर्छ भने अर्कोतिर मजदुरको स्वास्थ्यमा हानि पुऱ्याएर र उसमाथि बढी कामको बोझ लादेर ज्यादै खराब प्रभाव पैदा गर्छ ।

     

    त्यसै गरी अर्को उपायबाट पनि बढी अतिरिक्त मूल्यको सिर्जना गर्ने गरिन्छ । कुनै मजदुरको शोषण २४ घण्टा वा दिनरात काम गराएर गर्न सकिँदैन किनभने शारीरिक दृष्टिबाट सो कुरा बिलकुल असम्भव हुन्छ । त्यसको विकल्पको रूपमा मजदुरहरूमा कसैलाई दिउँसो र कसैलाई रातमा काममा लगाएर चौबीसै घण्टा शोषण गरिन्छ । आजकल अनेकौँ उद्योगहरू तीन सिफ्ट चलाइन्छ । यसरी पालैपालो काम ` गराउने व्यवस्था मिलाई २४ घण्टा उत्पादनको प्रक्रिया चालू राखेर बढीभन्दा बढी अतिरिक्त मूल्य हडप्ने गरिन्छ, किनभने उत्पादनमा प्रत्येक थोपा श्रम लाग्नुको अर्थ अनुपातिक रूपले अतिरिक्त मूल्यको परिमाणमा वृद्धि हुनु हो ।

     

    (ख) सापेक्ष अतिरिक्त मूल्य

    आवश्यक श्रम समय र अतिरिक्त श्रम समय कार्यदिनका अभिन्न अङ्ग हुन् किनभने यी दुई तत्त्व मिलेर कार्यदिन बनेको हुन्छ । निरपेक्ष अतिरिक्त मूल्यको उत्पादनको सम्बन्धमा कार्यदिनको जुन हिस्सामा श्रमशक्तिको मूल्यबराबरको मूल्य पैदा गरिन्छ त्यसलाई अचल र जुन हिस्सामा अतिरिक्त मूल्यसमेत पैदा गरिन्छ त्यसलाई परिवर्तनीय रूपमा लिइन्छ । यसमा आवश्यक श्रम समय अचल र कुल कार्य समय परिवर्तनीय रहन्छ । निरपेक्ष अतिरिक्त मूल्यको अर्थ नै कामको समयलाई बढाएर पैदा गरिने अतिरिक्त मूल्य हो ।

    शोषणको मात्रा बढाउन पुँजीपतिहरूले अपनाउने अर्को उपाय पनि छ । यस उपायमा कामको समयमा कुनै हेरफेर हुँदैन तर श्रमशक्तिको मूल्य पैदा गर्ने आवश्यक श्रम समय कम पारेर बढी अतिरिक्त मूल्य पैदा गरिन्छ । यसमा कार्यदिनको लम्बाइमा कुनै हेरफेर हुँदैन, तर आवश्यक श्रम समय र अतिरिक्त श्रम समयमाझको विभाजनमा हेरफेर हुन्छ। निश्चित कार्यदिनको ढाँचाभित्र आवश्यक र अतिरिक्त श्रममाझको अनुपात फेरेर आवश्यक श्रम समयमा कटौति गरी प्राप्त गरिने अतिरिक्त मूल्यलाई सापेक्ष अतिरिक्त मूल्य भनिन्छ ।

    यस दृष्टान्तअनुसार कार्यदिन= ८ घण्टा, श्रमशक्तिको मूल्य = रु. १००/-, १ घण्टामा मजदुरले सिर्जना गर्ने मूल्य = रु. २५/-, आवश्यक श्रम समय= ४ घण्टा र अतिरिक्त श्रम समय= ४ घण्टा । अब मानौँ, आवश्यक श्रम समयलाई ४ घण्टाबाट ३ घण्टामा घटाउँदा अतिरिक्त श्रम समय ५ घण्टा हुन्छ । उक्त अतिरिक्त श्रम समयमा मजदुरले २५×५= रु. १२५/- को अतिरिक्त मूल्य पैदा गर्छ । यसरी यहाँ पुँजीपतिले हडप्ने अतिरिक्त मूल्यमा वृद्धि भएको छ र सोहीअनुसार अतिरिक्त मूल्यको ( अतिरिक्त श्रम समय : आवश्यक श्रम

    दरमा पनि वृद्धि भएको छ- दर =५/३×१०० = १६६ प्रतिशतमा बढेको छ । यहाँ आवश्यक श्रम समय)×१०० = ५/३ × १०० = समय घटाइ अतिरिक्त श्रम र आवश्यक श्रमको अनुपातमा परिवर्तन ल्याएर अतिरिक्त मूल्यको परिमाण र दरमा वृद्धि गरिएको छ ।

    अब सवाल उठ्छ– आवश्यक श्रम समयलाई कसरी घटाउन सकिन्छ ? अर्थात् सापेक्ष अतिरिक्त मूल्य बढाउने तरिका कुन हो ? आवश्यक श्रम समय घटाउने एउटा तरिका हो श्रमशक्तिको मूल्य घटाउनु । माथिको दृष्टान्तमा श्रमशक्तिको मूल्य रु. १००।– बाट रु. ७५।– मा घटेको छ । हामीलाई थाहा छ श्रमशक्तिको मूल्यको निर्धारण मजदुर र उसको परिवारका लागि आवश्यक जीविकाका साधनहरूको मूल्यद्वारा हुन्छ । त्यसैले श्रमशक्तिको मूल्यमा कटौति उक्त जीविकाका साधनहरूको कुल मूल्यमा कटौतिबाट मात्र सम्भव हुन्छ । उक्त साधनहरूको मूल्यमा कटौति एउटै उपायबाट मात्र हुन सक्छ, त्यो हो ती साधनहरूको उत्पादन गर्ने उद्योगमा श्रमको उत्पादकत्व बढाउनु अर्थात् श्रमको प्राविधिक प्रक्रियामा हेरफेर गर्नु, किनभने कुनै पनि वस्तुको मूल्य श्रमको उत्पादकत्वविपरीत अनुपातमा रहेको हुन्छ । श्रमको उत्पादकत्व जति बढ्छ त्यति नै वस्तुको मूल्य घट्छ, त्यस्तै श्रमशक्तिको मूल्य पनि श्रम उत्पादकत्वको वृद्धिको अनुपातमा घट्छ । अनि श्रम उत्पादकत्वमा वृद्धि भई श्रमशक्तिको मूल्य घटेपछि सो मूल्य उत्पादन गर्ने आवश्यक श्रम समय पनि घट्न जान्छ र सोहीअनुसार सापेक्ष अतिरिक्त मूल्यमा वृद्धि हुन्छ ।

     

    यसरी सापेक्ष अतिरिक्त मूल्यको उत्पादनको आधार श्रमको सामाजिक उत्पादकत्वमा वृद्धि रहेको छ । मार्क्सको भनाइमा “श्रमशक्तिको मूल्य वस्तुको मूल्यमाथि निर्भर रहने भएकाले वस्तुको मूल्य श्रमको उत्पादकत्वको विपरीत अनुपातमा रहन्छ । त्यसको विपरीत सापेक्ष अतिरिक्त मूल्य उक्त उत्पादकत्वको प्रत्यक्ष रूपले अनुपातिक रहन्छ । उत्पादकत्व बढ्दा त्यो पनि बढ्छ र उत्पादकत्व घट्दा त्यो पनि घट्छ । श्रम उत्पादकत्वमा वृद्धिबाट सापेक्ष अतिरिक्त मूल्यमा वृद्धि हुने भएकाले सो मूल्यमा वृद्धि हुने स्थिति रहेसम्म पुँजीपतिको स्वार्थ श्रम उत्पादकत्वलाई बढाउनुमा रहेको हुन्छ । मार्क्सले देखाएअनुसार पुँजीवादले तीन चरणबाट श्रमको उत्पादकत्व बढाएको छ- साधारण पुँजीवादी सहकारिता (अर्थात् धेरै मजदुरहरूलाई एकै ठाउँमा जम्मा गरेर), श्रम विभाजन तथा ज्यासल उत्पादन र मेसिन उत्पादन तथा विशाल मात्राको उद्योग । यी तीन चरणहरूमध्ये सबभन्दा पछिल्लो अर्थात् मेसिन उत्पादनमा मेसिन, उत्पादन प्रविधि र श्रम सङ्गठनमा ठूलठूला सुधार, वैज्ञानिक तथा प्राविधिक उपलब्धिहरू आफ्नो हितमा प्रयोग गरेर पुँजीपति वर्गले सापेक्ष अतिरिक्त मूल्यको उत्पादनमा निकै वृद्धि गरेको छ ।

     

    पुँजीवाद अन्तर्गत मेसिनको आविष्कारद्वारा विशाल मात्रामा उद्योगहरूको सिर्जना तथा यान्त्रीकृत उद्योगको विकास भएकाले त्यसबाट सम्पूर्ण सामाजिक उत्पादन प्रणाली र उत्पादनको चरित्रमा ठूलो हेरफेर भएको छ ।

    बढीभन्दा बढी अतिरिक्त मूल्य प्राप्त गर्ने आफ्नो प्रयासमा पुजीपतिले पुँजीवादी उत्पादनका सबै चरणमा श्रम उत्पादकत्व बढाउने गरेको छ । त्यसको अर्थ हो, ती चरणहरूमा श्रम उत्पादकत्वमा निकै वृद्धि गरेर सापेक्ष अतिरिक्त मूल्यको उत्पादनको मात्रा विस्तारित गरिएको छ । पुँजीवादअन्तर्गत मेसिनको आविष्कारद्वारा विशाल मात्रामा उद्योगहरूको सिर्जना तथा यान्त्रीकृत उद्योगको विकास भएकाले त्यसबाट सम्पूर्ण सामाजिक उत्पादन प्रणाली र उत्पादनको चरित्रमा ठूलो हेरफेर भएको छ । त्यसरी पुँजीवादी उत्पादनले सापेक्षिक अतिरिक्त मूल्यको तीव्र वृद्धि अर्थात् मजदुरहरूको शोषणको अत्यधिक वृद्धिका लागि पर्याप्त मात्रामा प्राविधिक आधार तयार पार्ने काम गरेको छ ।

    अतिरिक्त मूल्य बढाउन अपनाइने अर्को तरिका श्रमको तीव्रता हो । मजदुरलाई सकेसम्म बढी निचोरी उसको सारा श्रमशक्ति खर्च गर्न लगाएर आफ्नो हित साध्नु पुँजीपतिमा रहेको स्वाभाविक प्रवृत्ति हो । कार्यदिनको लम्बाइ यथावत राखेर पुँजीपतिले सो कार्यदिनभित्र हुने उत्पादन प्रक्रियामा मजदुरको शारीरिक तथा मानसिक शक्ति खर्च गर्न लगाउने उद्देश्यले श्रमलाई तीव्रत्तर पार्न खोज्दछ । श्रमको तीव्रता भन्नाले कामको गति बढाउने, श्रम समयको प्रत्येक घण्टामा मजदुरलाई अधिकतम काम गराउने कुरा : जनाउँछ, जसले गर्दा उसले त्यतिकै समयमा बढी काम गर्दछ, बढी श्रमशक्ति खर्च गर्छ र बढी श्रमशक्तिको व्ययको अर्थ हो बढी मूल्यको उत्पादन र त्यसको अर्थ हो अतिरिक्त मूल्यको अनुपातिक वृद्धि । यस दृष्टान्तअनुसार कार्यदिन = ८ घण्टा, श्रमशक्तिको मूल्य = रु. १००।- र प्रत्येक घण्टा मजदुरले सिर्जना गर्ने मूल्य = रु. २५। – । अब मानौं, श्रमलाई तीव्रत्तर पार्नाले प्रत्येक घण्टा मजदुरले सिर्जना गर्ने मूल्यमा वृद्धि भई रु. २५।– बाट रु. ३०।- भएको छ । त्यस स्थितिमा श्रमशक्तिको मूल्यको रूपमा आफूले पाएको रु. १००।- को मूल्य मजदुरले ४ घण्टामा होइन, ३ घण्टा २० मिनेटमा पैदा गर्दछ र अतिरिक्त श्रम समय ४ घण्टाबाट बढेर ४ घण्टा ४० मिनेट भएको छ ।

    पहिले पुँजीपतिले ४ घण्टाको अतिरिक्त श्रम समयबाट रु. १००/- अतिरिक्त मूल्य प्राप्त गरेको थियो भने अब श्रम तीव्रताको फलस्वरूप (अर्थात् प्रतिघण्टा रु.३०/- को मूल्यको उत्पादनको हिसाबबाट) उसले ४ घण्टा ४० मिनेटमा रु. १४०/- अतिरिक्त मूल्य प्राप्त गर्दछ । यसरी अतिरिक्त मूल्यको दर १००/- बाट १४०/- प्रतिशत पुगेको छ । मजदुरलाई खुब छिटछिटो काम गर्न लगाउने, त्यतिकै • समयमा उसलाई बढी शक्ति लगाउन समर्थ पार्ने, उसबाट बढी उत्पादनको काम पूरा

    गराउने, उसलाई बढी मेसिनहरू चल्न लगाउने र उसमाथि कामको बढी बोझ लादने उपायबाट सापेक्षिक अतिरिक्त मूल्यको उत्पादन गरिन्छ ।

    मजदुर वर्गको बढ्दो विद्रोह र कामको समय मनपरी बढाउन सक्ने स्थिति नभएका कारण संसद्ले बाध्य भएर कारखानाहरूमा सामान्य कार्यदिन लागू हुने गरी कानुन बनाएपछि सापेक्षिक अतिरिक्त मूल्यको उत्पादनतर्फ पुँजीपतिको ध्यान केन्द्रित हुन्छ । मार्क्स लेख्नुहुन्छ– “….जति मात्रामा मेसिनहरूको प्रयोगको प्रचारप्रसार हुन्छ र मेसिन चलाउनमा अभ्यस्त एक खास वर्गका मजदुरहरूको अनुभव सञ्चित हुन्छ, त्यसको स्वाभाविक परिणामस्वरूप श्रमको छिटोपन र तीव्रतामा वृद्धि हुन्छ ।” कामको समयलाई अनिवार्य रूपले छोट्याउनुपर्ने भएपछिको स्थितिको सम्बन्धमा मार्क्स भन्नुहुन्छ- “उत्पादक शक्तिको विकास र उत्पादन साधनहरूको मितव्ययितामा त्यसले जुन प्रेरणा दियो, त्यसले मजदुरलाई बढी श्रमको व्यय गर्न र कार्यदिनका चुहिने प्वालहरू टाल्न वा छोट्याइएको कार्यदिनको सीमाभित्र मात्र प्राप्त गर्न सकिने मात्रामा श्रमलाई तीव्रतर पार्न लगाउँछ । त्यसपछिदेखि कुनै निश्चित अवधिमा श्रमलाई अधिक साँचेर राख्नुको वास्तविक अर्थ श्रमको बढी परिमाण हो । आफ्नो विस्तार अर्थात् समयावधिको मात्राका अतिरिक्त अब श्रमले आफ्नो तीव्रताको मात्रा, आफ्नो कोचाकोच (Condensation) को मात्रा वा घनत्वको मात्रा प्राप्त गर्छ ।

    श्रमको उत्पादकत्वमा वृद्धि र उत्पादक शक्तिहरूको उच्च विकासले आमजनताको जीवनस्तर माथि उठाउन, तिनीहरूलाई भोक र अभावबाट मुक्त गर्न र तिनीहरूको सामाजिक, आर्थिक तथा बौद्धिक उन्नतिका लागि अवसरहरू प्रदान गर्छ । तर पुँजीवादअन्तर्गत उपरोक्त उद्देश्यहरूको पक्षमा उक्त अवसरहरूको प्रयोग भएको छैन र हुन सक्दैन, किनभने त्यसअन्तर्गत गरिएको उत्पादक शक्तिहरूको विकासको उद्देश्य अतिरिक्त मूल्यको उत्पादन गर्ने कार्यदिनको हिस्सा लम्ब्याएर उक्त मूल्यको उत्पादनमा सकेसम्म वृद्धि गरी पुँजीपतिहरू झन्झन् धनी बन्नु रहेको हुन्छ । झन्झन् बढी सापेक्षिक अतिरिक्त मूल्य प्राप्त गर्ने उद्देश्यले श्रमको उत्पादन शक्ति बढाउनु पुँजीवादी उत्पादनमा निहित एउटा सतत प्रवृत्ति हो ।

     

    (ग) थप अतिरिक्त मूल्य

    श्रमको उत्पादक शक्ति बढाएर पुँजीपतिहरूले सापेक्षिक अतिरिक्त मूल्य प्राप्त गर्ने कुरा हामीले माथि देखिसकेका छौं । पुँजीपतिहरू सापेक्षिक अतिरिक्त मूल्य मात्र होइन, थप अतिरिक्त मूल्य पनि प्राप्त गर्छन् । यसको सिर्जना त्यस्ता कारखानाहरूमा हुने गर्छ, जहाँ नयाँनयाँ मेसिन र अत्याधुनिक ढङ्गको उत्पादन सङ्गठन प्रयोगबाट सम्बन्धित उद्योगमा प्रचलित औसतभन्दा बढी श्रम उत्पादकत्व हासिल गरिन्छ । थप अतिरिक्त मूल्य त्यस्ता वैयक्तिक पुँजीपतिहरूले प्राप्त गर्छन्, जसले श्रमको उत्पादन शक्तिको स्तर औसतनभन्दा बढाएर, सम्बन्धित उद्योगमा संलग्न अन्य पुँजीपतिहरूले भन्दा कम खर्चमा वस्तुको उत्पादन गर्छन् । त्यस स्थितिमा वस्तुको सामाजिक मूल्य र खास वैयक्तिक पुँजीपतिको कारखानाको उत्पादनको वैयक्तिक मूल्यमा फरक पर्छ । यो भिन्नता नै थप अतिरिक्त मूल्यको स्रोत हो ।

    माथिको दृष्टान्तबाट थाहा हुन्छ- कार्यदिन = ८ घण्टा, श्रमशक्तिको मूल्य रु. १००।- र पैदा गरिने अतिरिक्त मूल्य = रु.१००।- । मानौँ, मजदुरले आठ घण्टा काम गरेर कुनै वस्तुको १० इकाइ उत्पादन गर्छ र उक्त इकाइमा उत्पादन साधनको मूल्य रु. २०।– रहेको छ भने मजदुरले गर्ने दैनिक उत्पादनको कुल मूल्य रु. २००।- (उत्पादन साधनको मूल्य) + रु.१००/- (श्रमशक्तिको मूल्य) + रु. १००/- (अतिरिक्त मूल्य) = रु. ४००।-। यस रूपबाट प्रतिइकाइको सामाजिक मूल्य रु. ४००/१० = रु. ४०/- हुन आउँछ ।

    अब अनुमान गरौं, कुनै पुँजीपतिले नयाँ मेसिन र नयाँ उत्पादन प्रविधि प्रयोग गरेर श्रमको उत्पादक शक्ति दोब्बर बनाउँछ, जसअनुसार मजदुरले आफ्नो कामको समयमा २० इकाइको उत्पादन गर्छ । प्रत्येक इकाइमा रु.२०।- को उत्पादन साधन रहने हुनाले उसको सम्पूर्ण दैनिक उत्पादनको मूल्य रु. ४००।- (उत्पादन साधन) + रु. १००।– (श्रमशक्ति) + रु. १००/- (अतिरिक्त मूल्य) = रु.६००/- हुन्छ । यसरी प्रत्येक इकाइको वैयक्तिक मूल्य रु.६००/२०= रु. ३०/- हुन आउँछ ।

    त्यसैले उक्त उत्पादित वस्तुको वैयक्तिक मूल्य त्यसको सामाजिक मूल्यभन्दा कम हुन्छ । त्यसको उत्पादनमा औसत सामाजिक स्थितिअन्तर्गत लाग्ने श्रम समयभन्दा कम लाग्न गएको छ । तर वैयक्तिक मूल्य त्यसको वास्तविक मूल्य होइन, किनभने कुनै वस्तुको मूल्य निर्धारण कुनै वैयक्तिक उत्पादकले त्यसमा लगाउने श्रम समयद्वारा हुने होइन, बरु त्यसको उत्पादनका लागि सामाजिक रूपले आवश्यक श्रम समयद्वारा हुन्छ । त्यसैले श्रम उत्पादकत्व दोब्बर पार्ने पुँजीपतिले सामाजिक मूल्य अर्थात् प्रतिइकाइको रु. ४०।– मा आफ्नो वस्तु बेच्दछ र त्यसरी प्रत्येक इकाइलाई रु. ४०/- मा बेचेर रु. १०।– को थप अतिरिक्त मूल्य र जम्मा रु. २००।- थप अतिरिक्त मूल्य प्राप्त गर्छ । सामाजिक मूल्यमा वस्तुको बिक्रीबाट थप अतिरिक्त मूल्य हासिल गरेर पुँजीपतिले अतिरिक्त मूल्यको दरमा पनि वृद्धि गर्दछ । पहिले रु. १००/- अतिरिक्त मूल्य हासिल गरेकोमा अब रु.३००।– प्राप्त गर्ने भएकाले अतिरिक्त मूल्यको दर ३००प्रतिशत हुन्छ । त्यसै गरी वस्तुको बजारको विस्तारका लागि अरूले भन्दा सस्तोमा पनि बेच्न सक्छ । उसले आफ्नो वस्तु सामाजिक मूल्यभन्दा कम तर वैयक्तिक मूल्यभन्दा बढीमा वा रु. ३५/- मा बेच्दा पनि प्रत्येकमा रु. ५/- वा जम्मा रु.१००/- थप अतिरिक्त मूल्य प्राप्त गर्छ ।

    स्रोतको दृष्टिकोणबाट थप अतिरिक्त मूल्य पनि एक प्रकारको सापेक्ष अतिरिक्त नै हो । जसरी सापेक्ष अतिरिक्त मूल्य कामको समय लम्ब्याएर होइन, आवश्यक मूल्य श्रम समयको कटौतिद्वारा अतिरिक्त श्रम समय बढाएर प्राप्त गरिन्छ, त्यसरी नै थप पनि श्रम उत्पादकत्वको वृद्धिद्वारा अतिरिक्त श्रम समय बढाएर प्राप्त अतिरिक्त मूल्य गरिन्छ । यस साझा स्रोत र तरिकाको दृष्टिबाट दुवै समान छन् । तर ती दुईमा एउटा कुरामा भिन्नता छ, त्यो हो- थप अतिरिक्त मूल्यलाई वैयक्तिक श्रम उत्पादकत्वमा वृद्धिद्वारा, सबैबाट होइन कि केही पुँजीपतिहरूबाट मात्र प्राप्त गरिन्छ र तिनीहरूले त्यसलाई तबसम्म मात्र प्राप्त गर्न सक्छन्, जबसम्म उक्त नयाँ उत्पादन प्रविधि सम्बन्धित सम्पूर्ण उद्योगमा विस्तारित भएको हुँदैन । अरू पुँजीपतिहरूले पनि त्यसलाई लागू गरेपछि त्यस्तो अतिरिक्त मूल्य बिलाएर जान्छ । यसबारे मार्क्स लेख्नुहुन्छ- ‘…जुन पुँजीपतिले उन्नत उत्पादन तरिका लागू गर्छ, उसले यही व्यवसायमा लागेका अरू पुँजीपतिहरूभन्दा बढी कार्यदिनको हिस्सालाई अतिरिक्त श्रमतर्फ लगाउँछ ।

    जुन काम सापेक्ष अतिरिक्त मूल्यको उत्पादनमा लागेका पुँजीपतिहरूको सम्पूर्ण जमातले सामूहिक रूपमा गर्दछ, त्यही काम उसले वैयक्तिक रूपमा गर्दछ । तर अर्कोतिर, उक्त नयाँ उत्पादन तरिका सामान्य हुनेबित्तिकै तथा त्यसले सस्तो पारिएको वस्तुको वैयक्तिक मूल्य र सामाजिक मूल्यमाझको भिन्नता खतम पार्नेबित्तिकै उक्त थप अतिरिक्त मूल्य बिलाउँछ । श्रम समयद्वारा मूल्यको निर्धारणसम्बन्धी नियमले नयाँ उत्पादन तरिकाको प्रयोग गर्ने वैयक्तिक पुँजीपतिलाई उसको वस्तु त्यसको सामाजिक मूल्यभन्दा कममा बेच्न बाध्य पारेर आफ्नो नियन्त्रणमुनि ल्याउँछ । त्यही नियमले एउटा मान्नैपर्ने प्रतियोगिताको नियमको रूपमा क्रियाशील रहेर उसका प्रतियोगीहरूलाई नयाँ तरिका अपनाउन बाध्य पार्छ ।”

    (घ) महिला तथा बालश्रम

    श्रमका औजारमा क्रान्तिकारी सुधारबाट आधुनिक उद्योगको स्थापना भएकाले यसमा मेसिनहरूको एउटा सङ्गठित व्यवस्था पाइन्छ । हाते उद्योगमा श्रमशक्तिको प्रमुखता रहन्थ्यो भने आधुनिक उद्योगमा मेसिनहरूको व्यवस्था ज्यादै उच्च रूपमा रहन्छ । वास्तवमा विकसित मेसिनहरूको प्रयोगबाट आधुनिक उद्योगको सुरुआत भएको हो ।

     

    उत्पादनमा मेसिनहरूको प्रयोगले मजदुरहरूलाई गह्रौं कामबाट मुक्त गर्छ र कुनै वस्तु उत्पादन गर्न चाहिने आवश्यक श्रम समय छोट्याउँछ । तर पुँजीवादअन्तर्गत मेसिनहरू मजदुरको तीव्र शोषणका लागि ठूलो साधन रहेका हुन्छन् । काममा शारीरिक बलको प्रयोग हटाई कम शारीरिक बल भएकाहरूलाई पनि उत्पादनको काममा लगाउन सकिने पारेर मेसिनले महिला र बालश्रमको प्रयोग र शोषण गरी धेरै अतिरिक्त मूल्य प्राप्त गर्न समर्थ पारेको छ ।

     

    पुँजीवादको सुरुको अवधिमा ज्यासल र हाते उद्योगहरूमा काम गर्ने मजदुरहरू सबैजसो पुरुष हुन्थे, किनभने त्यसमा धेरै शारीरिक बल लगाउनुपर्ने भएकाले महिला र केटाकेटीहरू कामका लागि योग्य हुँदैनथे । त्यसैले मजदुरलाई उसको श्रमशक्तिको मूल्यस्वरूप प्राप्त हुने रकममा उसको परिवारका निम्ति आवश्यक जीविकाका साधनहरू पनि समावेश हुन्थ्यो । मेसिन उत्पादनले ठूलो शारीरिक बलको आवश्यकता हटाएर कम शारीरिक बल भएका वा पर्याप्त मात्रामा शारीरिक विकास भइ नसकेकाहरूलाई काममा प्रयोग गर्न सक्ने स्थितिको सिर्जना गर्यो । फलस्वरूप पुँजीवादी उद्योगधन्दामा क्रियाशील श्रमशक्तिमा महिला र बालबालिकाहरूको श्रम पनि समावेश भयो । दक्षता नचाहिने वा कम दक्ष भए पुग्ने काममा कम ज्यालामा तिनीहरूको प्रयोग गरेर पुँजीपतिहरू विशाल अतिरिक्त मूल्य हसुर्न समर्थ भए । यसरी मानिसलाई गहौं कामबाट मुक्त गर्ने र धेरै जनाको काम एउटैले गर्ने साधन बनेको मेसिन मजदुर परिवारका सबै सदस्यलाई ज्यालादारी मजदुरमा भर्ती गरी शोषणको सिकारको सङ्ख्यामा वृद्धि गर्ने साधन बन्यो । उत्पादन प्रक्रियामा महिला र बालश्रमको प्रयोगको फलस्वरूप पुँजीपतिका लागि शोषणको क्षेत्र निकै विस्तार भयो र मजदुरको मात्र होइन, उसका परिवारको अतिरिक्त श्रम समयद्वारा उत्पादित अतिरिक्त मूल्य हसुर्ने अवसर पनि प्राप्त भयो ।

     

    त्यसरी उत्पादनको काममा महिला र बालश्रमको प्रयोगले पुँजीवादी शोषणको परिधि विस्तारित गर्दछ । त्यति मात्र होइन, त्यसले शोषणको मात्रा बढाएर अतिरिक्त मूल्यको दर पनि बढाउँछ । पहिले मजदुरले आफ्नो श्रमशक्ति मात्र बेच्ने गर्दथ्यो भने अब ऊ आफ्ना स्वास्नी र केटाकेटीको श्रमशक्तिको विक्रेता वा ‘दास व्यापारी’ पनि बन्छ । महिला र बालश्रमको प्रयोग भएपछि एउटा मजदुर परिवारको जीविकाका लागि अब एक जनाले होइन, परिवारका अन्य सदस्यहरूले पनि काम गर्छन् । यसले गर्दा मजदुरको श्रमशक्तिको मूल्य कम हुन जान्छ, जसको अर्थ शोषणको मात्र बढ्नु हो । त्यसका साथै श्रम बजारमा कामका लागि होडबाजी गर्नेहरूको सूचीमा महिला र बालबालिकाहरू पनि समावेश भएपछि श्रमशक्तिको आपूर्तिमा वृद्धि हुन्छ, जसले गर्दा श्रमशक्तिको किनबेचमा पुँजीपति अनुकूल स्थितिमा रहन्छ । यसबारे मार्क्स लेख्नुहुन्छ- “श्रमशक्तिको मूल्य निर्धारण वैयक्तिक प्रौढ मजदुरहरूको जीविकाका ·

    लागि आवश्यक श्रम समयद्वारा मात्र होइन, बरु उसको परिवारको जीविकाका लागि आवश्यक श्रम समयद्वारा पनि हुन्छ।

    महिला र बालश्रमको शोषण पुँजीपतिका लागि भौतिक लाभको स्रोत रहेको छ । कम ज्यालामा तिनीहरूलाई काममा लगाएर उसले बढी अतिरिक्त मूल्य प्राप्त गर्छ । पुरुषभन्दा महिलालाई कम ज्याला दिने गलत चलनले ठूलो भेदभाव ल्याएको छ ।

     

    परिवारका प्रत्येक सदस्यलाई श्रम बजारमा लगेर मेसिनले उसको श्रमशक्तिको मूल्य उसको सम्पूर्ण परिवारसम्म व्यापक पार्छ र श्रमशक्तिको अवमूल्यन गर्छ । चार जना मजदुरहरूको परिवारको श्रमशक्ति खरिद गर्नका लागि परिवारका नाइकेको श्रमशक्ति किन्नलाई लागेभन्दा बढी लाग्न सक्छ, तर त्यसको बदलामा एक जनाको श्रमको ठाउँ चार जनाको श्रमले लिन्छ र तिनको मोल एक जनाको अतिरिक्त श्रममाथि चार जनाको अतिरिक्त श्रमको अधिकताको अनुपातमा घट्छ । परिवारको जीविकाका लागि अब चार जनाले श्रम मात्र गर्नुपर्ने होइन, बरु पुँजीपतिका लागि अतिरिक्त श्रम पनि गर्नुपर्छ । यसरी हामी कुन कुरा देख्छौँ भने मेसिनले पुँजीको शोषण शक्तिको मुख्य विषय बनेका मानवीय पदार्थलाई बढाउनुका साथै शोषणको मात्रालाई पनि बढाउँछ ।”

     

    महिला र बालश्रमको शोषण पुँजीपतिका लागि भौतिक लाभको स्रोत रहेको छ । कम ज्यालामा तिनीहरूलाई काममा लगाएर उसले बढी अतिरिक्त मूल्य प्राप्त गर्छ । पुरुषभन्दा महिलालाई कम ज्याला दिने गलत चलनले ठूलो भेदभाव ल्याएको छ । हिजोआज विकसित वा अल्पविकसित सबैजसो मुलुकमा महिलाहरू कारखाना र ज्यासलमा कार्यरत छन् । ती सबै मुलुकमा एउटै कामका लागि पुरुष र महिलालाई फरकफरक ज्याला दिइने गरिन्छ, महिलाहरू पुरुषले भन्दा कम ज्याला पाउँछन् । त्यसै गरी धेरै मुलुकहरूमा बालश्रमको भयानक शोषण विद्यमान छ । यस प्रकारले महिला र बालबालिकाहरूको शोषण गरेर पुँजीपतिहरू बढी अतिरिक्त मूल्य हडप्ने गर्छन् ।

     

    (ङ) निरपेक्ष र सापेक्ष अतिरिक्त मूल्यको सम्बन्ध

    कम ज्यालामा महिला तथा बालबालिकाहरूलाई काममा लगाएर निकै बढी अतिरिक्त मूल्य हडप्ने कुराबाहेक पुँजीपतिले मुख्य रूपमा तीन उपायको प्रयोगबाट अतिरिक्त मूल्यको मात्रा बढाउने गर्छ- (१) कामको समय लम्ब्याएर, (२) श्रमको उत्पादन शक्तिमा वृद्धि गरेर र (३) श्रमलाई तीव्रतर पारेर । पहिलो उपायबाट उसले निरपेक्ष अतिरिक्त मूल्य प्राप्त गर्छ र दोस्रो र तेस्रो उपायबाट सापेक्ष अतिरिक्त मूल्य प्राप्त गर्छ । निरपेक्ष अतिरिक्त मूल्यको सम्बन्ध कार्यदिनमा वृद्धिसँग रहन्छ भने सापेक्ष अतिरिक्त मूल्यको सम्बन्ध श्रमको उत्पादकत्व र श्रमको तीव्रतासित रहन्छ । यसरी प्रयोग गरिने उपायमा भिन्नता देखिए पनि तिनीहरूबीच सम्बन्ध घनिष्ठ हुन्छ ।

     

    जीविकाका साधनहरूको उत्पादनका लागि आफ्नो सारा समय लगाउनुपर्ने स्थिति रहेको खण्डमा कामदारले अरूका लागि काम गर्ने समय पाउने छैन । आदिम त्यस्तो स्थिति थियो, त्यसैले त्यतिखेर कुनै अतिरिक्त श्रम थिएन, कुनै अतिरिक्त युगमा मूल्य थिएन, शोषकहरू थिएनन् । मार्क्सकै शब्दमा- “आफ्नो श्रममा केही मात्रामा उत्पादकत्व नभएमा उसको अधीनमा कुनै अतिरिक्त समय हुँदैन । यस्तो अतिरिक्त समय नभएमा कुनै अतिरिक्त श्रम हुँदैन । त्यसैले कुनै पुँजीपतिहरू हुँदैनन्, कुनै दास मालिकहरू हुँदैनन्, कुनै सामन्ती मालिकहरू हुँदैनन्; एक शब्दमा भन्ने हो भने ठूलठूला सम्पत्तिवान्हरूको कुनै वर्ग हुँदैन ।

     

    आदिम समयमा जब मानिस जनावरको स्तरबाट उठिसकेको थिएन, त्यस बेला श्रमको उत्पादन शक्ति साह्रै कम थियो र अतिरिक्त श्रम भन्ने कुनै कुरा थिएन । पछि जब मानिसको श्रमको केही सामाजिकीकरण हुन थाल्यो अर्थात् कुनै उपज व्यक्तिविशेषको उपज बन्न छाडेर कामदारहरू मिलेर पैदा गरेको सामाजिक उपज बनेपछि यस्तो स्थिति उत्पन्न भयो, जब एक जनाको अतिरिक्त श्रमको आधारमा अर्कोले बाँच्ने मौका पायो । आदिम साम्यवादी व्यवस्थाको विघटनपछि उत्पन्न शोषण व्यवस्थाको सुरुसुरुमा श्रमको उत्पादकत्व त्यति ठूलो थिएन र त्यस बेला सम्भवतः शोषकहरूको सङ्ख्या पनि कम थियो । श्रमको उत्पादकत्वमा जति वृद्धि हुँदै गयो त्यतिकै रूपमा अरूको श्रममा बाँच्ने सामाजिक अङ्गको वृद्धि भयो । यसरी कुन कुरा देखिन्छ भने अतिरिक्त श्रमको आधार, शोषणको आधार र प्रस्थान बिन्दु रहेको श्रम उत्पादकत्वमा वृद्धि हजारौँ वर्षको मानवजातिको इतिहासको उपज रहेको छ ।

     

    सापेक्ष अतिरिक्त मूल्यको उत्पादनले कुन कुराको पूर्वानुमान गर्छ भने मजदुरको श्रम आवश्यक श्रम र अतिरिक्त श्रममा विभाजित हुन्छ । निरपेक्ष अतिरिक्त मूल्यको उत्पादनको सम्बन्ध कार्यदिनको लम्ब्याइसित र सापेक्ष अतिरिक्त मूल्यको सम्बन्ध प्राविधिक प्रगति र श्रम सङ्गठनसित रहेको दृष्टिबाट ती दुई भिन्न छन्

     

    मजदुरले आफ्नो श्रमशक्तिको मूल्यको रूपमा पाएको मूल्यबराबर पैदा गर्न श्रम गरिसकेपछि जुन अतिरिक्त श्रम गर्दछ, त्यो निरपेक्ष अतिरिक्त मूल्यको उत्पादन हो । मजदुरले कार्यदिनमा गर्ने श्रम आवश्यक श्रम र अतिरिक्त श्रममा विभाजित हुनु पुँजीवादी उत्पादनको सामान्य आधार हो । तर उक्त विभाजन नै सापेक्ष अतिरिक्त मूल्यको उत्पादनको प्रस्थान बिन्दु हो, किनभने सापेक्ष अतिरिक्त मूल्यको उत्पादन आवश्यक श्रम समयलाई छोट्याएर अतिरिक्त श्रम समय लम्ब्याउने कुरासित सम्बन्धित रहेको छ । त्यसैले सापेक्ष अतिरिक्त मूल्यको उत्पादनले कुन कुराको पूर्वानुमान गर्छ भने मजदुरको श्रम आवश्यक श्रम र अतिरिक्त श्रममा विभाजित हुन्छ । निरपेक्ष अतिरिक्त मूल्यको उत्पादनको सम्बन्ध कार्यदिनको लम्ब्याइसित र सापेक्ष अतिरिक्त मूल्यको सम्बन्ध प्राविधिक प्रगति र श्रम सङ्गठनसित रहेको दृष्टिबाट ती दुई भिन्न छन् तापनि तिनीहरूमाझ घनिष्ठ सम्बन्ध रहेको कुरा माथिको भनाइबाट स्पष्ट हुन्छ । ती दुईमाझको समानता र भिन्नतालाई मार्क्सले यसरी देखाउनुभएको छ- “एउटा दृष्टिकोणबाट निरपेक्ष र सापेक्ष अतिरिक्त मूल्यमाझको कुनै पनि भिन्नता भ्रमात्मक देखिन्छ । सापेक्ष अतिरिक्त मूल्य निरपेक्ष छ, किनभने त्यसले मजदुरको जीवनका लागि आवश्यक श्रम समयभन्दा पर कार्यदिनलाई निरपेक्ष रूपमा लम्ब्याउन बाध्य पार्छ ।

     

    निरपेक्ष अतिरिक्त मूल्य सापेक्ष छ, किनभने त्यसले आवश्यक श्रम समयलाई कार्यदिनको एउटा हिस्सामा सीमित हुन सक्ने गरी श्रमको उत्पादकत्वको विकास हुनुपर्ने कुरालाई आवश्यक बनाउँछ । तर, यदि हामीले अतिरिक्त मूल्यको चालढाललाई मनमा राख्यौँ भने समानताको यो रूप बिलाउँछ । पुँजीवादी उत्पादन प्रणाली स्थापित र सामान्य भइसकेपछि जब अतिरिक्त मूल्यको दर बढाउने सवाल आउँछ, निरपेक्ष र सापेक्ष अतिरिक्त मूल्यमाझको भिन्नता स्वतः स्पष्ट हुन्छ । श्रमशक्तिको पूरा मूल्य चुकाएको छ भन्ने कुराको अनुमान गर्दा हाम्रासामु यस्तो विकल्प रहन्छ- श्रमको उत्पादकत्व र त्यसको सामान्य तीव्रता यथावत् रहँदा अतिरिक्तं मूल्यको दरलाई कार्यदिनको वास्तविक लम्बाइद्वारा मात्र बढाउन सकिन्छ, अर्कोतिर कार्यदिनको लम्बाइ यथावत् रहँदा सो दरमा वृद्धि कार्यदिनका अङ्गहरू अर्थात् आवश्यक श्रम र अतिरिक्त श्रमको सापेक्षिक परिमाणहरूमा परिवर्तनद्वारा मात्र गर्न सकिन्छ- यो त्यस्तो परिवर्तन हो, जसले ज्याला श्रमशक्तिको मूल्यभन्दा कम नहुने हो भने श्रमको उत्पादकत्व वा त्यसको तीव्रतामा परिवर्तनको पूर्वानुमान गर्छ ।”

    ( कृष्णप्रकाश श्रेष्ठ, अतिरिक्त मूल्यको सिद्धान्त )

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology