कांग्रेस महाधिवेशनःगण्डकी प्रदेश सभापतिमा जोशीको उम्मेदवारी

  • नारायण क्षेत्री
  • मङ्लबार, मंसिर १४, २०७८
  • नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि अर्जुनप्रसाद जोशीले गण्डकी प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । जोशीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

    कार्यकर्ताले गुटरहित नेता चाहेकाले पार्टीलाइ बालियो बनाउन आफू गुट भन्दा माथि उठेर काम गर्ने उनले बताए । उनले कांग्रेसको महाधिवेशनलाई नेपालले मात्र नभइ विश्वले नै नियालिरहेको समेत उल्लेख गरे ।

    आर्थिक, सामाजिक र राजनीतिक दृष्टिकोणले गण्डकी प्रदेश सम्भावना बोकेको प्रदेश भएको उनले बताए । कांग्रेसको पर्वत जिल्ला सभापति हुँदै केन्द्रीय सदस्य सम्मको लामो राजनीतिक अनुभव आफूसंग रहेकाले गण्डकी प्रदेशलाई केन्द्रीय नेतृत्वमा स्थापित गर्न र प्रदेशको अर्थतन्त्रको वृत्ति विकासका लागि प्रयत्नशिल रहने उनको भनाइ थियो ।

    कांग्रेसलाइ जनताको बिचमा लोकप्रिय बनाउन र नागरिकको मुद्दा उठाउन सभापति शेरबहादुर देउवाले थालेको अभियानमा सबै लाग्नुपर्नेमा उनले जोड दिए । उनले शान्ति र स्थिरताका लागि कांग्रेसको खाँचो रहेको समेत औंल्याए ।

    कार्यक्रममा बोल्दै पूर्व महामन्त्री तारानाथ रानाभाटले वर्तमान स्थितीलाई पार लगाउन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको बताए । पार्टीमा वडादेखि केन्द्रसम्म आपसी विश्वास र एकताको खाँचो रहेको उल्लेख गर्दै उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) का बारेमा कांग्रेसले जनता समक्ष आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

    यसैबीच, जोशी जिताऔंं अभियानले मंगलबार देखि नै पोखरा–९ नयाँबजारमा सम्पर्क कार्यालय स्थापना गरी आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिएको छ । मंसिर १८ गते हुने निर्वाचनका लागि गण्डकी प्रदेश सभापति पदमा जोशी सहित देवराज चालिसे, रघुनाथ पौडेल र शुक्रराज शर्माले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    उम्मेदवारी घोषणा कार्यक्रममा गण्डकी प्रदेशका कानुुन मन्त्री विन्दुकुमार थापा, भौतिक पूर्वाधार विकाश मन्त्री कुमार खड्का, कास्कीका नवचिर्वाचित सभापति किशोरदत्त बराल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology