आत्महत्या न्युनिकरण सम्बन्धि छलफल

  • नारायण क्षेत्री
  • सोमवार, मंसिर ६, २०७८
  • पोखरा ६ मंसिर

    आत्महत्या न्युनिकरण सम्बन्धि छलफल सम्पन्न भएको छ । कोशिश राष्ट्रिय मानसिक स्वावलम्बन केन्द्र कास्कीको आयोजनामा सोमबार भएको छलफल कार्यक्रममा बोल्दै परियोजना संयोजक सुदिप घिमिरेले आत्महत्या व्यक्तिको दोष नभइ परिस्थितिका कारण मानिसले आत्महत्या गर्ने बताए । सबैको सहकार्यमा मात्र आत्महत्याको जोखिम घटाउन सकिने भएकाले मानसिक रोेगीप्रति समाजको दृष्टि सकरात्मक हुनुपर्नेमा उनको जोड थियो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक होतबहादुर रोकाले समाजलाइ सचेत र सजग गराउन सकेमात्र आत्महत्यालाइ न्युनिकरण गर्न सकिने बताए । यसका लागि पर्याप्त अभिमुखिकरण तालिम र छलफल हुनुपर्ने उनको भनाइ छ ।
    पश्चिमाञ्ल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत डा. लिपा वैद्यले तुलनात्मक रुपमा धेरै महिलाहरुले आत्महत्याको प्रयास गरेपनि आत्महत्याका कारण बढी पुरुषहरुको मुत्यु हुने गरेको बताइन् ।

    अन्य रोगीहरु समाजमा खुलेपनि मानसिक रोगीहरु भने खुल्न नचाहने उनको भनाइ छ । मानसिक रोगीप्रति समाजले घृणा र लान्छना भन्दापनि उनिहरुप्रति माया र सदभाव देखाउनुपर्ने बताइन् । नेपालमा प्रत्येक दिन २० जनाको आत्महत्याका कारण ज्यान जाने गरेको एक तथ्यांकले देखाएको छ । नेपाल सरकारले लिएको सन् २०१५ देखि २०३० को दिगो विकाश लक्ष्य अनुसार अत्महत्याको दर १६.५ प्रति एक लाखबाट घटाइ ४.७ मा झार्ने लक्ष्य रहेको छ ।

    यसैबीच, विभिन्न क्षेत्रलाई समेटेर महानगर स्तरीय आत्महत्या रोकथाम सहयोग समिति गठन गरिएको छ । समिति सदस्यमा नन्दप्रसाद अधिकारी, सरिता अधिकारी, मिरा गिरी, तारा बराल, इश्वरी नेपाली, गीता भण्डारी, सविन रेग्मी र मन्दिरा परियार रहेका छन् । समितिको सल्लाहकारमा डा लिपा वैद्य, प्रहरी नायव उपरीक्षक होतबहादुर रोका र शहरी स्वास्थ्य केन्द्रका प्रमुख आशिक सुवेदीलाई चयन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology