संकटमा पर्दै पोख्ररेली व्यवसायीहरु ,व्यवसाय ठप्प, हजारौँको रोजगारी गुम्यो

  • सबिन रेग्मी
  • शनिबार, असार २०, २०७७
  • पोखरा,असार २० । पोखरमा ब्यबसाय गर्दै आएका पोख्ररेली ब्यबसायीहरु कोभिडको प्रभावले गर्दा संकटमा परेका छन् । पोखराले पर्यटक नपाएको पनि ४ महिना भयो । पोखराको मुख्य व्यवसाय भनेकै पर्यटन हो। तर, यतिबेला पोखरा सुनसान छ । व्यवसाय ठप्प हुँदा होटल तथा रेष्टुरेण्ट संचालकको अवस्था रुनु न हास्नुको छ । व्यवसाय ठप्प हुँदा हजारौँको रोजगारी गुमेको हो ।

    सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने घोषणा मात्रै गरेन, भव्य उद्घाटन नै ग¥यो । भ्रमण वर्षमा पर्यटक आइरेलान् भन्ने आशाले यो क्षेत्रमा लगानी पनि ठूलै भयो । तर, कोरोना र लकडाउनपछि भ्रमण वर्षको कार्यक्रम नै स्थगित भयो । पर्यटक नआएपछि अहिले पोखराका पर्यटन व्यवसायीले घरभाडा देखि आफु समेत बाँच्न नसक्ने स्थितिमा पुगे । अवस्था बिग्रदै गएपछि उनीहरुले धमाधम व्यवसाय छाड्न थालेका छन् । पोखरामा करिब ७ सय होटल सञ्चालन गर्दै आएका छन् । तीमध्ये ७५ प्रतिशत होटल फेवाताल आसपास रहेका छन् । पश्चिमाञ्चल होटल संघमा ४ सय होटल आवद्ध छन् तिनै व्यवसायी मध्ये करिब ४० प्रतिशत व्यवसायी यतिबेला होटल छाड्न बाध्य भएका छन् । ६८ होटल व्यवसायीले त पूर्णरुपमै व्यवसाय छाडी पलायन भइसकेका छन् । उक्त क्षेत्रमा ५० हजार देखि करिब ७ लाख सम्म मासिक भाडा तिर्ने व्यवसायी छन् ।

    पोखराका युवा व्यवसायी निश्चल खरेलले लेकसाइडमा होटल सञ्चालनमा ल्याएको बल्ल २ वर्ष पुग्न लाग्यो । करिब ३ करोड लगानी गरेका खरेलले होटलमा अझैपनि लगानी गर्दै आएका छन् तर व्यवसाय ठप्प हुदाँ यतिबेला मारमा परेका छन् । ‘बैंकबाट फोन गरेर हैरान गर्छन्, अवस्थाप्रति सबै जानकारनै छन् व्यवसाय घाटामा छ आम्दानी छैन् निकै समस्या परेको छ, लक डाउनले निकै समस्या बनायो पर्यटनको क्षेत्रमा ठुलो धक्का लाग्यो’, उनले भने,‘कोरोनाले व्यवसायमा नकरात्मक असर नै पारेको छ फागुन असार सिजन हो अब दशै सम्म अफसिजन हो यसले भयावह स्थिति देखाएको छ ।’

    अघिल्लो वर्ष करिब १८ लाख आम्दानी भएको बताउँदै खरेलले चार महिनामा करिब २५ लाख घाटा भएको सुनाए । धरै जसो होटल तथा रेष्टुरेण्ट घरभाडा तिर्न नसकेकाले नै छाड्नपर्ने स्थितिमा पुगेको उनले बताए । अहिले डिपोजिट गरेको रकम समेत सकिएको छ । ‘यस्तो अवस्थामा आफ्नो कमाइगर्ने आधार नै ठप्प हुदाँ कसरी बस्न सकिन्छ र र?’, उनले प्रश्न गर्दै भने,‘ कतिपय घरधनीले घरभाडामा छुट नगर्दा समस्या बढेको छ ।’

    पश्चिमाञ्चल होटल संघ (हान)ले भने सरकारले पर्यटन क्षेत्रमा विभेद गरेको भन्दै बाध्यताले अघि बढ्नपर्ने अवस्था आएको बताएको छ । संघका अध्यक्ष विकल तुलाचनले स्थिर लगानीको भरमा होटल चल्ने हुनाले विश्व माहामारीमा परेको स्थितिमा राज्यले वेवास्ता गर्नु निकै दुखद् भएको बताए । ‘हामीलाई वित्तीय क्षेत्रमा निकै समस्या आइलागेको छ । यो बेला आम्दानी शुन्य छ ,कर्मचारी पाल्न सकिएको छैन, बैंकले पनि ब्याज माग्दै समस्यामा पारेको छ’, उनले भने,‘ हामीले संघदेखि स्थानीय तहका सरकारसम्म छलफल ग¥यौ तर समस्या समाधान भएको छैन हामी व्यवसाय छाड्ने कि टिकाउने भन्ने दोसाधँमा रहेका छौँ ।’ पर्यटन क्षेत्र निजी लगानीमा सञ्चालन हुदैँ आएकाले पनि राज्यको ध्यान नपुगेको उनले बताए । उनले सरकारले होटल खोल्ने कार्यविधि जारी गर्नु सकारात्मक रहे पनि हवाई उडान नखुल्दा, पर्यटक नआउँदाको अवस्थमा व्यवसाय खोल्न नसकिने बताए ।

    उनका अनुसार कतिपयले बैंकको कर्जा तिर्न नसकेर, कतिपयले घरभाडा तिर्न नसकेर त कतिपयले अबका दिनमा सञ्चालन नै गर्न नसक्ने कारणले होटल छाडी अन्यत्र गएका छन् । ‘होटल छाड्नेको क्रम बढेको छ यो बेला संयमित भएर बस्न आवस्यक समेत छ’, उनले भने । राज्यले व्यवसाय सञ्चालनको लागि प्याकेजको व्यवस्था गर्दै कर्जाको लागि समय सिमा बढाउन सहयोग गर्नुपर्ने उनले बताए ।

    ‘हामीले तत्कालै कर्जा तिर्न सक्दैनौ, केही समय दिन पर्छ, सावाँ र व्याज पूँजिकृत गर्दै सहुलियत दिए पुग्छ’ उनले भने । कोरोनाको कारणले बाह्य पर्यटनमा ठुलो धक्का लागेकाले आन्तरिक पर्यटकलाई मध्यनजर राख्दै आफ्नो ठाउँ घुम्ने र चिनाउने अभियानसहित उचित नीति ल्याउनुपर्ने उनको धारणा रहेको छ । यता पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवि पोखरेलले घरधनीहरुको निर्मम व्यवहारका कारण व्यवसायीहरु पलायन हुन पुगेको बताए । भएको बेला सरासर भाडा तिरेका व्यवसायीहरुलाई नसकेको अवस्थामा छुट दिनुपर्नेमा उल्टो राखेको डिपोजिटबाट भाडा कटाउँदा बाध्य भएर व्यवसायीहरु पलायन भएको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology