कोरोना अपडेट : नेपालमा संक्रमित २ हजार नाघे, सबैभन्दा बढी प्रदेश-२ मा, कुन प्रदेशमा कति ?

  • साझा डबली
  • बुधबार, जेष्ठ २१, २०७७
  • काठमाण्डौ,जेठ २१ । मंगलबार एकैदिन ३०१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय १२ पुगेको छ । कुल संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश-२ का छन् ।

    प्रदेश-२ मा ८ सय १६ जनामा संक्रमण पुष्टि भएको छ जसमा एकजनाको मृत्यु भएको छ । यस्तै १ सय ४ जना निको भएका छन् । मृत्यु भएका एकजना बाराका ७० वर्षीय वृद्ध हुन् ।

    त्यसपछि सबैभन्दा बढी संक्रमित प्रदेश-५ मा पुष्टि भएका छन् । त्यहाँ ७ सय १२ जनामा संक्रमण प्रमाणित भएको छ । यीमध्ये तीन जनाको मृत्यु भएको छ भने ७४ जना निको भएर घरमा फर्किएका छन्। मृत्यु हुने उनीहरू गुल्मी, अर्घाखाँची र बाँकेका हुन्।

    तेस्रो बढी संक्रमित संख्या कर्णाली प्रदेशबाट रहेका छन् । सबैभन्दा अन्तिममा संक्रमण देखिएको कर्णालीमा संक्रमित संख्या २ सय ५२ पुगेको छ। त्यहाँ एकजनाको मृत्यु भएको छ। बाँकी सबै संक्रमितको उपचार चलिरहेको छ।

    यस्तै प्रदेश-१ मा संक्रमित संख्या १ सय ६८ छ, जसमा ४८ जना निको भएका छन् । नेपालमा कोरोनाको पहिलो हटस्पट प्रदेश-१ को उदयपुरस्थित भुल्केमा बनेको थियो । भुल्केको एक मस्जिदमा रहेका जमाती समूहमध्ये एकैदिन १२ जनामा संक्रमण पुष्टि भएको थियो।

    यसैगरी सुदूरपश्चिमा ७३ र बाग्मती प्रदेशमा ५४ जना संक्रमित फेला परेका छन् । संक्रमणबाट यी सुदुरपश्चिममा एक र बाग्मतीमा दुई जनाको ज्यान गएको छ । बाग्मतीमा मृत्यु भएका दुई मध्ये एक जना सिन्धुपाल्चोककी महिला हुन् भने अर्का मृतक ललितपुरका एक पुरूष हुन् ।

    यस्तै सुदूरपश्चिममा बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाबाट ज्यान गएको हो । सुदूरपश्चिममा ७ र बाग्मतीमा ३० जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा भेटिएका छन् । त्यहाँ हालसम्म ३७ जना संक्रमित फेला परेका छन् । यीमध्ये ३ जना डिस्चार्ज भएर घरमा छन् । बाँकी संक्रमितको उपचार भइरहेको छ । संक्रमितमध्ये अधिकांश भारतबाट आएका हुन् ।

    पछिल्लो समय ठूलो संख्यामा भारतबाट मानिसहरू नेपाल आएका कारण संक्रमित संख्या अझ बढ्ने देखिन्छ । गत साता मात्र ७ सयको हारहारीमा रहेको संक्रमित संख्या एक साता नबित्दै १३ सयले बढेर कुल संख्या २ हजार नाघिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology