विदेशमा रहेका नेपालीलाई नेपाल नआउन आग्रह

  • साझा डबली
  • शनिबार, चैत्र १, २०७६
  • काठमाडौं, चैत्र १। कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले विदेशमा रहेका नेपालीहरूलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआउन र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। शुक्रवार अपरान्ह अध्यागमन विभागले एउटा सूचना जारी गर्दै विदेशी नागरिकलाई ‘अन अराइभल’ प्रवेशाज्ञा रोक्नेदेखि नेपाली नागरिकलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआउन भनिएको जनाएको हो।

    उक्त निर्णय विदेशस्थित नेपाली नियोगहरूमा जानकारी गराइएको अध्यागमन विभागका महानिर्देशकले बताए। उनले भारतसँग रहेका सीमा नाकाहरूमध्ये अध्यागमन र भन्सार कार्यालय जस्ता पूर्वाधार भएका नाकाबाहेक अरूको सञ्चालनमा रोक लगाउन सक्ने पनि उल्लेख गरे।

    भ्रमणमा नजान आग्रह
    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले बिहीवार साँझ गरेको निर्णयलाई कार्यान्वयन गर्ने क्रममा अध्यागमन विभागको पछिल्लो घोषणा आएको हो।

    ११ बुँदे उक्त सूचनामा विदेशमा बसेका सबै नेपालीहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ।अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, “हामीले उहाँहरूलाई आफैँ चनाखो हुनुहोस् र अत्यावश्यक अवस्थामा बाहेक नेपाल वा अन्य कुनै पनि मुलुकमा यात्रा नगर्नुहोस् भनेका हौँ। अहिले विश्वले कोरोनाभाइरसविरूद्ध जुन रणनीति बनाइरहेको छ त्यसै अनुसार हामीले त्यस्तो कुरा गरेका हौँ।”उनले विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले कोरोनाभाइरसको सङ्क्रमणलाई महामारी भनेको उल्लेख गर्दै ‘विदेशमा पनि सुरक्षित उपाय अवलम्बन गर्न’ नेपालीहरूलाई अनुरोध गरिएको जानकारी दिए।

    विदेशमा कति नेपालीहरू छन् भन्ने यकिन तथ्याङ्क नरहे पनि वैदेशिक रोजगारीका लागि श्रम स्वकृति लिएर गएका नेपालीको सङ्ख्या ४० लाखको हाराहरीमा रहेको बताइन्छ।

    अनौपचरिक रूपमा वैदेशिक रोजगारीमा रहेकाहरूको सङ्ख्या जोड्दा त्यो लगभग ५० लाख पुग्ने बताइन्छ। अध्यागमन विभागले आफ्नो पछिल्लो सूचना शनिवारदेखि एप्रिल ३० तारिखसम्म लागु हुने जनाएको छ।

    गैरआवसीय नेपालीलाई पनि कडाइ
    सो अवधिमा नेपालमा आइसकेपछि विदेशी नागरिकलाई प्रवेशाज्ञा उपलब्ध गराउने पुरानो व्यवस्था स्थगित गरिएको सरकारले जनाएको छ।

    विगतमा नै नेपालको प्रवेशाज्ञा लिएका विदेशीहरूले अवतरण हुनुभन्दा बढीमा ७ दिनअघि गरिएको खकारको परीक्षणको प्रमाणपत्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यलयमा बुझाउनुपर्नेछ।गैरआवासीय नेपालीको हकमा पनि त्यस्तो प्रमाणपत्रलाई अनिवार्य बनाइएको छ र उनीहरूलाई पनि नेपाल आइसकेपछि ‘अन अराइभल भिसा’ उपलब्ध गराउने व्यवस्था स्थगित गरिएको जनाइएको छ।

    शनिवारबाट नेपालमा प्रवेश गर्ने विदेशी एवम् नेपाली नागरिक दुवैलाई यहाँ आएको मितिले १४ दिनसम्म क्वारन्टीनमा बस्न भनिएको छ। विदेशीलाई स्वयं र स्वदेशीलाई घरभित्र अलग्गै बस्न भनिएको छ। अहिले घोषणा गरिएको व्यवस्था लागु हुने अवधिमा तेस्रो देशका नागरिकलाई स्थलमार्गबाट प्रवेश नदिने भनिएको छ। -बीबीसी

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology