खेतान समुहको गोर्खा ब्रुअरीले दुई न्यायाधीशको जागिर खायो

  • साझा डबली
  • काठमाडौं, भदौ ९। गोर्खा ब्रुअरीको कर छलीसम्बन्धी विवादमा तानिएका उच्च अदालतका न्यायाधीशद्वय जीवनहरि अधिकारी र रामचन्द्र यादवको जागिर ब्रुअरीका कारण गएको छ। उनीहरुले ब्रुअरीको कर छलीसम्बन्धी विवादमा तानिएपछि एकपछि अर्को गर्दै राजीनामा दिएका हुन ।

    उक्त विवादमा मुछिएका न्यायाधीश अधिकारीले अघिल्लो साता राजीनामा दिएका थिए भने अर्का न्यायाधीश यादवले हालै राजीनामा दिएका हुन ।

    न्यायाधीश अधिकारीले निष्पक्ष न्याय निरुपण गर्दागर्दै आरोप खेप्नुपरेकाले राजीनामा दिएको धारणा राखेका थिए भने न्यायाधीश यादवले लामो समय न्याय क्षेत्रमा बिताए पनि अहिलेको परिस्थितिले नैराश्यता देखिएकाले राजीनामा दिएको बताए।

    गोर्खा ब्रुअरीसम्बन्धी मुद्दामा दिएको अल्पकालीन अन्तरिम आदेशमा आफू अहिले पनि अडिग रहेको यादवको दाबी छ। ब्रुअरीको कर छलीसम्बन्धी मुद्दामा कार्यक्षेत्र मिचेर आदेश दिएपछि न्यायपरिषद्ले उच्च अदालत पोखराका तीन जना न्यायाधीशमाथि छानबिन शुरू भएको थियो।

    गत साउन ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको अभियोग लागेका न्यायाधीशहरू अधिकारी, यादव र नरबहादुर शाहीमाथि छानबिन एवं कारबाहीको आदेश दिएको थियो।

    परिषद्ले यसअघि नै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिमा बयान दिइसकेपछि अधिकारी र यादवले राजीनामा दिएका हुन ।

    ब्रुअरीको आलटाल

    गोर्खा ब्रुअरी कम्पनीका नाममा आन्तरिक राजस्व कार्यालय, भरतपुरले निर्धारण गरेको अन्तःशुल्कको विषयमा कम्पनी क्षेत्राधिकारबाहिरको अदालतमा गएको र अदालतले क्षेत्राधिकार मिचेर आदेश दिएको भन्ने विषयमा उक्त परिषद्ले अहिले पनि छानबिन गरिरहेको छ।

    यता गोर्खा ब्रुअरी भने कर नतिर्नका लागि आलटाल गर्दै गइरहेको छ। खेतान ग्रुपबाट सञ्चालित यस कम्पनीले कर तिर्न समय लम्ब्याउँदै गएको हो।

    आन्तरिक राजस्व कार्यालय भरतपुरले अन्तःशुल्क, जरिवाना र विलम्ब शुल्कसहित झन्डै ८८ करोड रुपियाँ कर तिर्न ताकेता गरेको छ।

    तर, कम्पनी भने कर तिर्नुको सट्टा अनेक बहनाबाजी गर्दै पन्छिरहेको छ।  नेपाल समाचारपत्र

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology