अस्ट्रेलियामा ७ अर्ब ६१ करोड अवैध रकम पुर्याएको अभियोगमा नेपाली पक्राउ

  • साझा डबली
  • बुधबार, साउन १५, २०७६
  • काठमाडौं, साउन १५। अस्ट्रेलियामा अवैध रुपमा ठूलो रकम पुर्याएको आरोपमा एक नेपाली पनि पक्राउ परेका छन् । करिब ७ अर्ब ६१ करोड १३ लाख रुपैयाँ (१० करोड अष्ट्रेलियन डलर) अबैध कारोबार गरेको अभियोगमा एक नेपाली युवा पक्राउ परेका हुन् ।

    नेपाली ३० वर्षीय विपिन थापासहित अहिलेसम्म ५ जना पक्राउ परिसकेका छन् । विपिनबाहेक अन्य भारतीय छन् । उनीहरुको गिरोह नै भएको अस्ट्रेलिया व्रहरीको दावी छ । यो गिरोहले तीनदेखि चार वर्षको अवधिमा ८ देखि १० करोड अष्ट्रेलियन डलरको अवैध हुण्डी कारोवार गरेको भेटिएको हो।

    अस्ट्रेलिया क्रिमिनल ग्रुप्स स्क्वाडले थापासहित गगनदीप पवा, गोपाली दाह्ल, नितिनी कपिला र मनमिंदर सिंहलाई पक्राउ गरेको हो। यो ठूलो हुन्डी कारोबारका मुख्य अभियुक्त गगनदीप हुन्। दाह्ल उनकी घरेलु साझेदार भएको अनुसन्धान अधिकारीहरुले उल्लेख गरेका छन्।

    द सन्डे मर्निङ हेराल्डकाअनुसार उनीहरुले साउथ–वेस्ट सिड्नीलाई आधार बनाएर अवैध हुण्डी कारोबार गर्दै आएका थिए। गगनदीप सञ्चालक रहेको कम्पनीको नाउँमा एकै दिन स्रोत नखुलेको ४ लाख ४५ हजार डलर बैंक अफ न्यु साउथ वेल्समा जम्मा भएको थियो। अनुसन्धान अधिकारीहरुले त्यहीँदेखि उनीहरुमाथि निगरानी बढाएका थिए।

    पक्राउ गर्दाका बखत उनीहरुबाट प्रहरीले ४ लाख डलर, पैसा गन्ने मेसिन तथा ३ वटा सवारी साधनसमेत बरामद गरेको छ। देखाउनका लागि सेक्युरिटी व्यापारको कम्पनी खडा गरी भित्री रुपमा ठूलो रकमको अवैध कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउहरुका तर्फबाट मुद्दा हेरिरहेका वकिल इजाज खानकाअनुसार अष्ट्रेलियाको कानुनअनुसार अभियोजन गम्भीर प्रकृतिको हो। ‘प्रहरीले लगाएको आरोपबारे प्रमाण हेर्ने काम गरिरहेको छु। ती आरोपहरु निकै खराब र गम्भीर खालका छन्। मैले अभियोजन पक्षको मुद्दाबारेमा टिप्पणी गर्नु अगाडि प्रमाणहरु हेर्न आवश्यक हुन्छ’, उनले भनेका छन्।

    अदालतका कागजातअनुसार तीनैजनाले कम्तिमा पनि १० करोड अष्ट्रेलियन डलर बराबरको हुण्डी कारोबार गरेको देखिएको छ। गगनदीप सञ्चालक रहेको एजसियोर प्रोटेक्सन सर्भिसेसबाट यो अवैध कारोबार भएको हो। आपराधिक समूहबाट आएको रकम समेत उनीहरुको खातामा जम्मा हुने गरेको अनुसन्धानले देखाएको छ। सन् २०१६ देखि २०१८ सम्म गगनदीप यस कम्पनीको निर्देशक तथा सचिव थिए। त्यसयता भने दाह्ल यस कम्पनीका निर्देशक र सेयर धनी रहँदै आएकी छिन्। रकम परिचालन गर्ने कार्यमा थापाको संलग्नता देखिएको छ।

    मुद्दा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु यो प्रकरणमा थप व्यक्ति पक्राउ पर्न सक्ने बताउँछन्। घटना अनुसन्धानका लागि खटिएका जासुस इन्स्पेक्टर निक रिड भन्छन्, ‘अनुसन्धानले थप प्रमाण जुटाउनेछ। अरु केही व्यक्तिहरु पक्राउ पर्न सक्छन्।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology