लिभरपुल बन्यो लिग च्याम्पियन्स

  • साझा डबली
  • एजेन्सी ।  अन्ततः लिभरपुल युरोपियन च्याम्पियन बनेको छ । यो सिजन प्रिमियर लिग च्याम्पियन बन्नबाट एक अंकले पछि रहेको र गएको सिजन उपविजेतामा सीमित भएको जर्गेन क्लोप्पको टिम लिभरपुलले अर्को इंग्लिस क्लब टोटनह्यामलाई हराउँदै च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो ।

    स्पेनको राजधानी मड्रिडमा रहेको एथ्लेटिको मड्रिडको मैदानमा शनिबार राति भएको फाइनलमा लिभरपुलले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई २–० ले हराउँदै उपाधि जितेको हो ।

    लिभरपुलको जितमा मोहम्मद सालह र डिभोक ओरिजीले गोल गरे । खेलको दोस्रो मिनेटमा नै लिभरपुलले पेनाल्टी पायो । टोटनह्यामका मोएसा सिसोकोको ह्याण्ड बलका कारण लिभरपुलले पेनाल्टी पाएको हो । त्यसलाई सदुपयोग गर्दै सालहले गोल गरे र लिभरपुललाई सुरुवाति अग्रता दिलाए ।

    खेलमा टोटनह्यामले गोल गर्ने राम्रा मौका बनाएको थियो र त्यसका लागि प्रयास पनि । तर लिभरपुलका गोलरक्षक एलिसनले ती प्रयासहरु विफल पारे । टोटनह्यामका सन हेङ–मिन, लुकास मौरा र क्रिष्टियन एरिक्सनको प्रहारमा एलिसन बाधक बने ।

    सुरुमै पछि परेको टोटनह्यामले खेलको अन्तिम समयतिर अर्को गोल खायो । थप खेलाडीका रुपमा आएका ओरिजीले ८७ औँ मिनेटमा गोल गरे र टिमलाई २–० को जितसहित उपाधि दिलाउने पक्का गरे ।

    क्लोप्पले लिभरपुलको प्रशिक्षकको रुपमा पहिलो उपाधि जिते र त्यो पनि च्याम्पियन्स लिगको । ह्युगो लोरिसको पासमा ओरिजीले गोल गरेका हुन् ।

    टोटनह्यामका प्रशिक्षक पोकेटिनोले खेलमा गएको अप्रिलदेखि चोटका कारण मैदान बाहिर रहेका स्ट्राइकर ह्यारी केनलाई थप खेलाडीका रुपमा मैदान छिराए । सेमिफाइनलका हिरो लुकासलाई निकालेर ह्यारीलाई पठाए पनि त्यसको प्रभाव देखिएन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology