
एजेन्सी। ब्राजिलले कोपा अमेरिकाको लागि २३ सदस्यीय टोली घोषणा गर्दा टोली कप्तानको नाम भने सार्वजनिक गरेको छैन ।
रुसमा सम्पन्न विश्वकपमा टोलीको कप्तानी नेयमारले पनि गरेका थिए । त्यसयता पनि प्रशिक्षक टिटेले लगातार खेलमा कप्तान परिवर्तन गर्दै आएका छन् ।
टोली घोषणा गर्ने क्रममा टिटेले नेयमारलाई कप्तानी दिने नदिने विषयमा प्रष्ट पार्न चाहेनन् । ‘नेयमारले गल्ति गरेका छन् । म उनीसंग यस विषयमा छलफल गर्नेछु । यस विषयमा उनको व्यक्तिगत राय बुझेर मात्र मेरो धारणा प्रस्तुत हुनेछ,’ टिटेले भने । विश्वकपका दौरान नेयमारको प्रदर्शनलाई लिएर टिटे खुसी देखिएका थिएनन् ।
नेयमारले भने आफू राष्ट्रिय टोलीको कत्पन बन्ने इच्छा जाहेर गरेका छन् । उनले घरेलु मैदानमा ब्राजिललाई कोपा अमेरिकाको उपाधि दिलाउन इच्छुक रहेको बताएका छन् ।
यद्दपी टिटेले कप्तानीको विषयमा अहिले नै निर्णय दिएका छैनन् । ब्राजिलका दिग्गज खेलाडी जे रोबर्टोले भने नेयमारलाई कप्तान बनाउन नहुने अभिव्यक्ति दिएका छन् ।
टिटेले खेलाडी छनोट गर्ने क्रममा युवा खेलाडीहरुलाई चेतावनी पनि दिएका छन् । उनले नेयमारसहितलाई लक्षित गर्दै प्रतियोगितामा खेल्दा ब्राजिलको टोलीबाट निकै अनुशासन र जिम्मेवारी रहने बताएका छन् ।