२ सय २४ जनाको वकिलको दरबन्दी थप गर्न सरकारसँग माग

  • साझा डबली
  • मङ्लबार, बैशाख ३१, २०७६
  • काठमाडौं,वैशाख ३१। महान्यायाधिवक्ताको कार्यालयले तत्काल १ सय २७ जना सरकारी वकिलसहित २ सय २४ जनाको दरबन्दी थप गर्न सरकारसँग माग गरेको छ । महान्यायाधिवक्ता अग्नि खरेलले संघीयताको कार्यान्वयनसँगै सरकारी वकिलहरुको कार्यबोझमा बृद्धि भएको उल्लेख गर्दै तत्काल १ सय २७ जना सरकारी वकिलसहित २४५ जना दरबन्दी थप गर्न सरकारसँग माग गरेका हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले विगत ५ वर्षयता सरकारी वकिल सामू ६५ प्रतिशत बढि मुद्दाको बोझ थपिएको पनि स्पष्ट पारे ।

    हाल महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयमा सरकारी वकिल ४ सय ४० सहित १५०४ जनाको दरबन्दी रहेको छ । त्यसमा अरु जनशक्ति नथप्ने हो भने सरकारी वकीलहरुले आफ्नो कार्य सम्पादन गर्न नसक्ने महान्यायाधिवक्ताको कार्यालयको निष्कर्ष छ ।

    महान्यायाधिवक्ताको कार्यालयले हिरासत र कारगारको क्षमता विस्तार र स्तरोन्नतिको काम गर्न पनि सरकारलाई सुझाव दिएको छ । महान्यायाधिवक्ता खरेलले चालू आर्थिक वर्षमा २४ जिल्लाको ३७ वटा हिरासत कक्ष र १९ वटा कारगार तथा १ बाल सुधार गृहको अनुगमन गरिएको उल्लेख गर्दै त्यसमा तत्काल सुधार गर्नुपर्ने आवश्यक्ता देखिएको स्पष्ट पारे । उनले कारगार र हिरासत तत्काल सुधारका लागि सरकारका सम्बन्धित निकायलाई जानकारी गराइएको पनि बताए ।

    यसैबीच, महान्यायाधिवक्ताको कार्यालयले कार्यालय परिसरभित्रै शिशु स्याहार केन्द्र पनि सञ्चालनमा ल्याएको छ । मंगलबार महान्यायाधिवक्ता अग्नि खरेलले कार्यालयका कर्मचारीका शिशुहरुको स्याहारका लागि संचालनमा ल्याइएको शिशु स्याहार केन्द्रको उद्घाटन गरेका हुन् । कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई आवश्यक वातावरण बनाउन पनि सो शिशु स्याहार केन्द्र स्थापना गर्नु परेको पनि महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

    महान्यायाधिवक्ता खरेलले कार्यालय अवधिभर सञ्चालनमा आउने सो शिशु स्याहार केन्द्रले कर्मचारीहरुलाई कार्यालयको कामलाई दक्षतापूर्वक सम्पादन गर्न सघाउ पुर्योउने अपेक्षा गरिएको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology