एक खेपमै ३ करोड रुपैयाँ कमिसन पचाउने दाउमा मन्त्री

  • साझा डबली
  • धनगढी, वैशाख २७ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एक खेपमै ३ करोड रुपैयाँ कमिसन खाने जुक्ति निकालेको खबर छ । सेती अञ्चल अस्पताललाई उपलब्ध गराउने अक्सिजन प्लान्ट, सर्जिकल औजार र औषधि खरीदमा मन्त्री सुवेदी तीन करोड रुपैयाँसम्मको कमिसन खाने अन्तिम तयारीमा रहेको मन्त्रालयकै कर्मचारीले रहस्य खोलेका छन ।

    भ्रष्टाचार, घुस र यौन काण्ड जस्ता आधा दर्जन लफडामा परेर अन्तत : पार्टी सदस्यता र प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्तमा परेका दीर्घ सोडारीको स्थानमा केही महिना अघि सुवेदी मन्त्री बनाइएका थिए ।

    सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले करीब २ करोड रुपैयाँको अक्सिजन प्लान्ट, २ करोड ६६ लाख रुपैयाँको सर्जिकल औजारहरू र करीब २ करोड रुपैयाँको औषधि खरीद गर्न बोलपत्र आव्हान गरेको थियो ।

    काठमाण्डौको नयाँ बानेश्वरस्थित थापागाँउमा रहेको नेपालमा मेडिकल माफियाका नामले प्रख्यात विशाल पण्डितको लाइफलाइन ट्रेडले २ लाख ६६ हजार रुपैयाँ बराबरको सर्जिकल औजारहरू आपूर्ति गर्ने ठेक्का पाएको छ । सर्जिकल औजार आपूर्तिमा आव्हान गरिएको ठेक्कामा लाइफलाइनको प्रतिस्पर्धी काठमाण्डौको त्रिपुरेश्वरमा कार्यालय रहेको उद्धव भण्डारीको ओम सर्जिकल थियो । ओमले मन्त्रालयले आव्हान गरेको बोलपत्रमा उल्लेख भएको परिमाणका सर्जिकल औजारहरू १ करोड ४० लाख रुपैयाँमा उपलब्ध गराउने भनि प्रस्ताव हालेको थियो । तर, मन्त्रालयले उक्त प्रस्ताव स्वीकार नगरी २ करोड ६६ लाखको प्रस्ताव स्वीकार गरेको छ ।

    त्यसैगरी सेती अञ्चल अस्पतालमा राखिने अक्सिजन प्लान्ट खरीदमा काठमाण्डौको डाइग्नोकेमले १ करोड ३० लाख रुपैयाँ र जनमुक्ति इन्टरप्राइजेजले १ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गर्दा गर्दै सामाजिक विकास मन्त्रालयले धनगढीको डिबी मेडिसिनलाई १ करोड ८६ लाख रुपैयाँमा प्लान्ट आपूर्ति गर्नेगरी ठेक्का दिएको छ ।

    धनगढीको तिवारी मेडिसिनले मन्त्रालयको बोलपत्र अनुसारका विभिन्न ३५ प्रकारका औषधिहरू ६६ लाख रुपैयाँ आपूर्ति गर्ने प्रस्ताव गर्दागर्दै मन्त्रालयले धनगढीकै डिबी मेडिसिनलाई १ करोड ७० लाख रुपैयाँमा आपूर्ति अनुमति दिएको छ । बोलपत्रमा उल्लेखित परिमाणको औषधि ६६ लाख रुपैयाँमा उपलब्ध गराउने प्रस्तावलाई लत्याएर १ करोड ७० लाख रुपैयाँको प्रस्ताव हाल्ने दुष्यन्त बस्नेत प्रोपराइटर रहेको डिबीलाई आपूर्तिको ठेक्का दिनुको कारण माग गर्दै तिवारी मेडिसिनका प्रोपराइटर दीपेन्द्र तिवारीले मन्त्रालयमा निवेदन हालेको खबर छ ।

    यस्तो निबेदन परेपछि मन्त्रालयले अहिले उक्त ठेक्कामा पुनर्विचार गर्न सकिने प्रतिक्रिया दिएको तिवारीको भनाई छ । औषधि खरीद गर्दा १ करोड ४ लाखको अन्तर देखिने भएपछि स्थानीय सञ्चार माध्यमले विषय उठाउँदा यो प्रक्रियामा संलग्न मन्त्रालयका कर्मचारीहरू हच्किएको मन्त्रालय स्रोतले साँघुलाई बतायो ।

    सर्जिकल औजार खरीदमा १ करोड २६ लाख, अक्सिजन प्लान्टमा ५६ लाख र औषधि खरीदमा १ करोड ४ लाख रुपैयाँ गरी जम्मा २ करोड ८६ लाख रुपैयाँ राज्यलाई नोक्सान गराई आफ्नो खल्ती भर्ने योजनामा मन्त्री कृष्णराज सुवेदी, सचिव गोगन हमाल, प्रशासकीय अधिकृत हेम खड्का र वायोमेडिकल इन्जिनियर विजय विष्ट लागि परेको मन्त्रालय स्रोतको भनाई छ ।

    स्रोतले भन्यो २ करोड मन्त्रीले खाने ८६ लाख सचिव हमाल, अधिकृत खड्का र इन्जिनयिर विष्टले बाँड्ने भित्रि सल्लाह भएको मन्त्रालयका एकजना कर्मचारीले बताए । यो सबैको सेटिङ वायोमेडिकल इन्जिनियर विजय विष्टले मिलाएको बताउदै श्रोतले भन्यो मन्त्री सुवेदी र सचिवको सल्लाहले विष्टलाई कन्सल्ट्यान्टका रुपमा नियुक्त गरिएको हो । मन्त्री र सचिवलगायतलाई करीब ३ करोड रुपैयाँ कमिसन प्राप्त हुने गरी व्यवस्था मिलाउन विष्टलाई कन्सल्ट्यान्टका रुपमा नियुक्त गर्न सुझाउने व्यक्ति नेपालका मेडिकल माफियाकारुपमा प्रख्यात विशाल पण्डित नै हुन् ।

    विष्ट पनि मडिकल सामाग्री र औषधिका व्यवसायी हुन् । हिमशिखर वायोमेडिकल नामको सप्लायर कम्पनीका प्रोपराइटर विजय विष्टलाई कानूनतः मन्त्रालयले कन्सल्ट्यान्ट नियुक्ति गर्न नमिल्ने जानकारहरू बताउछन् । ठूलो कमिसनको लोभमा परेका मन्त्री सुवेदी, सचिव हमाल र अधिकृत खड्काको योजनालाई कन्सल्ट्यान्ट विष्टले सफल बनाइदिएका छन ।

    अधिक रकमको प्रस्ताव हाल्नेलाई सजिलो बनाउन स्पेसिफिकेसनको बाध्यकारी नियम लगाइएको प्रतिसपर्धामा सहभागी व्यवसायीहरले बताएका छन् । स्पेसिफिकेशनको नाममा अहिले ठेक्का टेण्डरहरूमा देशभरी अचाक्ली भ्रष्टाचार भइरहेको छ । सामाजिक मन्त्रालयले बोलपत्र आव्हान गरेका यी तीनवटै शीर्षकका सामाग्रीको आपूर्तिका मुखिया विशाल पण्डित नै हुन् । अरु व्यवसायीहरूको त मात्र फर्ममात्र प्रयोग भएको अन्य व्यवसायीहरूको भनाई छ ।

    न्यूनतम दररेट प्रस्ताव गरेका अन्य ठेकेदारहरूले ठेक्का आफूलाई नपर्नुको कारण जान्न चाहना मन्त्रालयका कसैले पनि जवाफ दिन नचाहेको बताएका छन । ती ठेकेदारहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्ने तयारी गरेको साँघुलाई बताए । सामाजिक मन्त्रालयका एकजना कर्मचारीले यी तीन विषयका ठेक्काबाट आएको अबैध रकमले सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एकैपटक काठमाण्डौंमा घर नै ठड्याउने बताए । सुदूरपश्चिमका जनप्रतिनिधिहरूले भ्रष्टाचारबाट प्राप्त रकम जिल्लामा लगानी नगरेर काठमाण्डौंमा लगानी गर्ने गरेको पाइएको ती कर्मचारीले दाबी गरे । (साँघु साप्ताहिक, बैशाख २३)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology