सेटिङमा त्रिविको कपी परीक्षण हुने गरेको खुलासा,त्रिविका दुई विशेषज्ञ घुससहित पक्राउ

  • साझा डबली
  • सोमवार, पुस २३, २०७५
  • काठमाडौं ,पुस २३ । विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् । उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    विद्यार्थी खोज्ने र रकम बार्गेनिङको जिम्मा भाटले लिन्थे

    प्रहरीका अनुसार पक्राउ शाही र भाटले यसअघि पनि विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्दै आएका थिए । विद्यार्थी खोजी र रकमको बार्गेनिङ भाटले गर्थे । उत्तरपुस्तिकाको सिम्बल नम्बरसहित संकलन भएको रकम भाटले शाहीलाई बुझाउने गर्थे । कपी परीक्षण गर्दा केही नम्बर थप गरेरै विद्यार्थी उत्तीर्ण हुनेजस्तो देखिए सबै काम शाही आफैँ गर्थे । उत्तरपुस्तिका नै अर्को लेख्नुपर्ने स्थिति देखिए प्रश्नपत्र हेरेर लेख्ने काम भाटले गर्थे । यसका लागि विश्वविद्यालयको होलोग्राम, सम्बन्धित अधिकारीको हस्ताक्षरदेखि दुरुस्तै देखिने कपीको व्यवस्था शाहीले गरिदिन्थे ।

    प्रहरीका अनुसार शाहीले तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले ललितपुरको लिटिल एन्जल्स एकेडेमी, सीतापाइलाको भ्याली कलेज र एसियन कलेजमा प्राध्यापन गर्ने गर्छन् । भाटले भ्याली कलेजमै प्राध्यापन गर्दै आएका छन् । प्रहरीका अनुसार उनीहरूले विशेषगरी सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्दै आएका थिए । ‘हामीले विद्यार्थीको सक्कल उत्तरपुस्तिकाको हेन्डराइटिङ र पछि तयार गरिएको उत्तरपुस्तिकाको हेन्डराइटिङ हे-यौँ । परीक्षण पनि ग-यौँ । त्यो एक–अर्कासँग मेल खाएन,’ डिएसपी बोगटीले भने ।

    सेटिङमा कपी परीक्षण
    प्रहरीका अनुसार विशेषज्ञ शाहीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ‘ब्याचलर इन पब्लिक हेल्थ’ चौथो सेमेस्टरको कपी परीक्षण गर्दा विद्यार्थीबाट रकम असुलेका थिए । उनले प्रतिविद्यार्थी २५ हजार रुपैयाँ उठाएका थिए । एक महिनाअघि मात्रै उनले विश्वविद्यालयबाट कपी परीक्षण गर्न ल्याएका थिए । यस क्रममा उनले १० भन्दा बढी विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेर सम्बन्धित निकायलाई बुझाइसकेका थिए ।

    पक्राउ परेकामध्ये शाहीलाई प्रहरीले थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । उनीसँगै पक्राउ परेका भाटलाई भने काठमाडौं परिसरकै हिरासत कक्षमा राखिएको छ । ‘सेटिङमा कपी परीक्षण गरिएको पुष्टि भएको छ । यस क्रममा फरेन्सिक टेस्ट पनि गरिएको छ । थप अनुसन्धानका लागि शाहीलाई अख्तियारको जिम्मा लगाएका छौँ,’ परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने ।

    साभार- नयाँ पत्रिका

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology