नयाँदिल्ली /करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्कनु भएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ ।
९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ स्थानीय नागा नागरिक परम्परागत पोशाकमा स्वागतका लागि उपस्थित थिए । पुरुषहरूले भाला र ढाल बोकेका थिए भने महिलाहरूले पङ्खले सजिएको हेडगियर र रङ्गीन पोशाकमा सांस्कृतिक नृत्य प्रस्तुत गरिरहेका थिए । विद्यालयका बालबालिकाहरूले इन्द्रेणी र सेतो ताराले सुसज्जित नीलो पृष्ठभूमिको नागा झण्डा फहराउँदै ‘स्वागत मुइवाह’ लेखिएका ब्यानरहरू बोकेका थिए ।
मुइवाह नागाल्यान्डको राष्ट्रिय समाजवादी परिषद्का संस्थापक नेतामध्ये एक हुनुहुन्छ । परिषद्ले सन् १९५० को दशकमा भारतविरुद्ध स्वतन्त्र नागा राज्यको माग गर्दै विद्रोह सुरु गरेको थियो । सन् १९९७ मा भारत सरकार र मुइवाहको समूहबीच युद्धविराम भएको भए पनि छुट्टै झण्डा र संविधानको माग अझै समाधान हुन सकेको छैन ।
विगत केही वर्षदेखि मुइवाहले भारत सरकारसँग शान्ति वार्ताको नेतृत्व गर्दै आउनुभएको छ । उहाँ सन् १९६४ मा आफ्नो गाउँ छोडी सशस्त्र आन्दोलनमा प्रवेश गर्नुभएको थियो र सन् १९७३ मा गृह प्रदेशको छोटो भ्रमण बाहेक आफ्नो गृहनगर फर्किनु भएको थिएन । सन् २०१० मा गर्न खोजिएको भ्रमण मणिपुर सरकारले प्रतिबन्ध लगाएपछि ठूलो हिंसात्मक प्रदर्शन भएको थियो, जसमा जनधनको क्षति भएको थियो ।
यसपटकको भ्रमणलाई स्थानीय नागरिकहरूले ऐतिहासिक क्षणका रूपमा लिएका छन् । धेरैले यसलाई दशकौँदेखि जारी वार्ता प्रक्रियालाई पुन: गति दिने सङ्केतका रूपमा पनि व्याख्या गरेका छन् । मुइवाहले संक्षिप्त सम्बोधन गर्दै भन्नुभयो, “मैले यो भूमिमा पुन: पाइला टेक्दा आफ्नो जनताको आत्मा र पहिचानलाई फेरि महसुस गरेको छु । हाम्रो सङ्घर्ष अझै समाप्त भएको छैन, तर हाम्रो लक्ष्य शान्तिपूर्ण भविष्य हो ।” (रासस)







पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ