
एक महिनाको माइतीघर बसाइपछि
माइतीघर छोड्ने इच्छा नहुँदा नहुँदै
तुरुक्क आँसु खसाली
पोइलीघर जाँदैछौं,
कर्मघर जाँदैछौं
माडतीघर छाड्न
कसलाई पो रहर लाग्छ र
अप्ठ्यारोको साहारा हुन्छ माइतीघर
यही साहारा खोज्न
रुँदै कराउँदै
एक महिना अगाडि माइतीघरको
दैलो उघार्न आएका थियौँ,
कर्म घरमा रहँदा
खान पुगेन
लाउन पुगेन
पहिचान हरायो
मान-सम्मान पाइएन
न्याय पनि पाइएन भन्दै
माइतीको आँगनीमा उभियौं
माइतीहरु पूर्वपट्टीको ठूलो
आलिसान महलमा रमाइरहेका थिए ।
हामी त्यहाँ पुग्दानपुग्दै
झ्यालबाट हेरेर माइतीहरुले ढोका बन्द गरे
अनि देश विदेश भ्रमण गरे
हामी हेरेको हेरै भयौं
हामी आँगनीमा कति पर्खियौं कति ?
एक दिन, दुईदिन गर्दागर्दै महिना बितायौं
माइतीको अत्तोपत्तो भएन
सुतेका माइती पनि उठेनन्
हामीले घन्टी बजायौं
सिटी बजायौं
बाजा बजायौं
अग्ला ठाउँमा चढेर ठूलो स्वरले डाक्यौं
तर प्रतिक्रिया आएन,
माइती झन् निनेभेषमा घुर्न थाले
माइतीबाट ठूलै कोसेली लिएर फर्कने
अनि सारा गाउँले र आफन्तलाई बोलाएर बाँड्ने
आफ्नो माइतीको सान र मान देखाउने
हाम्रो कत्रो अभिलाषा थियो
माइतीले बुझदै बुझेनन्
पोका, पुन्तरा, गुन्टा – झोला
केही दिएनन्
तर हात पनि खाली राखेनन्
मौसम बिग्रेको छ रे
खडेरी परेर अनिकाल भो रे
मौसममा सुधार आएर
असार पन्ध्रसम्म खेत रोपियो भने
सक्दो दिने वाचा खाएका छन् ।
प्रिय माइतीघर
तिम्रो आँगनीमा रगत बगेको नभुल्नु है ।
आँखा फुटालेको न बिर्सनु है
तिम्रै आँगनीमा लडीबुडी खेल्दा
हातखुट्टा भाँचिएको पनि नबिर्सनु है
माइतीका मायाले हामी आफैं आउनसक्छौं
तर
हामीलाई माग्नेगरी फेरि पनि आउने नबनाउनु है ।
एउटा कुरा भन्नै बिर्सें
लामो समय हामी बस्दा
माइतीघर तिमी कतै बिग्रेको भए
कतै भत्केको भए
बालेनलाई भन्न नबिर्सनु ल ।