काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको कार्यशैली र स्वभावलाई लिएर विभिन्न ढङ्गले चर्चा हुने गरेको छ।प्रचण्डसङ्ग नजिकबाट सहकार्य गरेका, सत्ता साझेदारी गरेका र उनलाई बुझेका एकथरी मानिसहरू उनको स्वभाव अस्थिर र चञ्चल प्रकृतिको भएकोले उनकै कारण मुलुकमा निरन्तर अस्थिरताको समस्या निम्तिएको बताउछन् ।माओवादी जनयुद्ध देखि पछिल्ला दिनहरुमा प्रचण्डले सरकार र शक्तिको बाँडफाड एवम् साझेदारीमा जहिल्यै अस्थिरता देखापरेको र यसले देशको आर्थिक बिकास र समृद्धिमा समेत गम्भीर नकारात्मक असर परेको उनीहरुको आरोप छ।
तर प्रचण्ड भने आफु समयअनुसार निर्णय लिनसक्ने गतिशील व्यक्तित्व भएको र यसलाई ठिक ढङ्गले बुझ्न नसक्नेहरुले नै अस्थिर र चञ्चल स्वभाव भनि बताउने गरेको दाबी गर्छन् ।प्रचण्डका अनुसार समयको गति अनुसार निर्णय लिन सक्ने भएकोले नै नेपालमा जनयुद्ध शुरुआत गर्नेदेखी शान्ति प्रक्रिया र संविधान निर्माणको काम संभव भएको हो।
प्रचण्ड साच्चै गतिशील र भविस्यद्रष्टा नै हुन वा उनका विपक्षीहरुले भने जस्तो अस्थिर र उपयोगीतावादी हुन ?त्यसको अन्तिम परिणाम प्रचण्डको सपनाको राज्यव्यवस्था निर्माणमा ऊनी कति सफल भए वा भएनन् भन्ने कुराले नै निर्धारण गर्नेछ।
प्रचण्डका नजिक मानिएका माओवादी केन्द्रका एक नेताका अनुसार “प्रचण्ड आफैमा चतुर र परिस्थिति अनुसार निर्णय लिन सक्ने नेपाली राजनीतिका महत्त्वपूर्ण पात्र हुन, उनको त्यसप्रकारको चातुर्यताका कारणले पनि बाबुराम भट्टराई र मोहन बैध जस्ता नेताहरूको पनि नेता बन्न सक्नु भो ,अन्यथा त्यो सबैले गर्न सक्ने काम थिएन।तर उनको एउटा कमजोरी के हो भने प्रचण्डले आफ्नो क्षमतालाई ईमान र सैद्धान्तिक आधारमा प्रयोग नगरी उनमा उपयोगितावादी दर्शनको प्रत्येक्ष प्रभाव देखियो,जसले गर्दा राजनीतिको बाह्य क्षेत्रमा मात्रै होइन, पार्टीभित्र र आफ्नै समकालीनबीच पनि एउटा विरुद्ध अर्को परिचालन गर्ने र आफु सत्ता र शक्तिको केन्द्रमा रहिरहने समस्या देखियो।”
पार्टीको आन्तरिक जीवन देखि अन्य राजनीति दलका नेताहरूमाझ प्रचण्डको उपयोगितावादी सोचकै कारण यतिबेला उनि सबैको अविश्वसनीय पात्रमा परिणत भएको र काङ्ग्रेस नेता कृष्ण सिटौलाले अनुसार प्रचण्डबाट धोका पाएकाहरुको सत्ता गठबन्धन बन्न लागेको समेत बताएका छन् ।
त्यस्तै प्रचण्डको अस्थिर स्वभावलाई उनले अबलम्बन गरेको आर्थिक राजनीतिक व्यवस्था , सामाजिक- राजनीतिक धरातल र नेकपा माओवादी पार्टीको शक्तिसन्तुलनमा आएको निरन्तरको क्षयीकरणसङ्ग जोडेर हेरिनुपर्ने राजनीति मामलाका जानकारहरुको विश्लेषण छ।प्रचण्ड जन्मे -हुर्केको समाज,हिन्दु ब्राह्मणमा आधारित सामाजिक तथा सास्कृतिक संरचना र त्यो परिस्थितिसङ्गको प्रचण्डको संसर्गले पनि प्रचण्डमा मार्क्सवादी दर्शन र जीवन पद्धति भन्दा पनि उपयोगितावाद हावी भएकोले उनले आफ्नो आवश्यकता अनुसार पार्टी भित्रका नेताकार्यकर्ताहरुको प्रयोग र परिचालन गर्ने गरेको कुरा बाबुराम पत्नी हिसिला यमीले आफ्नो किताब -” हिसाला क्रान्तिकारी देखि प्रथम महिला”मा उल्लेख गरेकी छ्न।
नेपालमा जनयुद्ध शुरु गर्दा देशमा वर्गीय , जातीय , क्षेत्रीय र लैङ्गिक उत्पीडनको प्रमुख कारण र श्रोत सामन्ती, दलाल पुँजीवादी एवम् नोकरशाही राज्य भएकोले यसलाई बदलेर माओले चीनमा क्रान्तिको वलमा स्तापित गरेको नौलो जनवादी राज्यसत्ता जस्तै व्यवस्था स्थापित गर्ने उदेश्य राखिएको थियो।सत्ता वर्गीय हुन्छ र यसले वर्गको स्वार्थ अनुसार काम गर्छ भन्ने माओवादी मान्यता र विश्वाससहित शुरुआत गरिएको जनयुद्धरपी क्रान्तिले उत्पादनका साधनमाथीको वर्गहरुको पुरानो स्वामित्वमा आधारित चरीत्र बदल्न सकेन।तर प्रचण्ड र उनका तमाम नेताकार्यकर्ता भने पछिल्ला दुई दशक देखि कुनै न कुनै रूपमा सत्ता, शक्ति र राज्यको साधनश्रोत परिचालन गर्ने ठाउँमा छन।
एकातिर उनीहरुले जनयुद्दमा जनतामाझ व्यक्त गरेका प्रतिबद्धता र राजनीतिक आर्थिक मुद्दाहरूलाई गलत पनि भन्न सकिरहेका छैनन् भने अर्कोतिर आफै शक्तिमा हुँदासमेत आफ्ना एजेन्डा अनुसार शासन सञ्चालन गर्न सक्ने अवस्था पनि छैन ।बरु माओवादीले संसदीय व्यवस्था भित्र पटकपटक गरेको चुनावी अभ्यासले पार्टीभित्र नयाँ वर्गको प्रभुत्व बढ्दै गएको कुरा उनीहरुकै अभिव्यक्तिबाट छर्लङ्ग हुँदै आएको छ।माओवादीमा त्याग, तपस्या गरेर युद्ध लडेका अधिकाङ्श लडाकुहरु खाडीमा पुगिसकेका छन् ।सहिद परिवार नेतृत्व सङ्ग आश्वस्त छ्रैनन् ।नेताहरूको योग्यताको प्रमुख आधार अब चुनाव लड्न सक्ने आर्थिक हैसियत हुँदै गएको र क्रान्तिकारीहरु थाक्ने, पाखा लाग्ने र पार्टीका भेला बैठकमा आउन सक्ने सामर्थ्य समेत गुमाउँदै गएको प्रस्टै छ।
मार्क्सवाद र यसको राजनीतिको सामान्य ज्ञान भएको जो- कोहिले पनि मान्दै र बुझ्दै आएको कुरा के हो भने राजनीति, बिकास र सत्ताको आ- आफ्नै वर्गआधार हुन्छ।त्यो निवर्गिय हुँदैन।तर माओवादीले देशमा गरेको राजनीतिको विद्यमान वर्ग धरातल के हो? उसले हाल सरकारको नेतृत्व गर्दा ल्याएका नीति तथा कार्यक्रमले मजदुर , किसान, बेरोजगार युवा,गरिब र भुमिहिनलाई के के गर्यो वा किन गरेन ? यो प्रश्न माओवादी पार्टीको आन्तरिक जीवनको सबैभन्दा पेचिलो प्रश्न हो।यसको उत्तर यतिबेला स्वयं प्रचण्डले समेत दिन सक्ने अवस्था छैन ।
समाजको श्रम गरिखाने मेहनतकस बर्ग, उसको अधिकार र सत्ताको सपनाको जगमा उदाएको माओवादी आन्दोलनको नेतृत्वले जुन संरचना विरुद्ध लडाइँको नेतृत्व गरेको थियो, त्यसैमा आफै बिराजमान हुन थालेपछि प्रचण्डका लागि अब न त सडक सुरक्षित छ, न त सत्ता नै।प्रचण्डको आह्वानमा जीवन दिन तयार हुने हजारौं कार्यकर्ता जन्माएको माओवादी अहिले रुजेको बिरालो जस्तो म्याउ गर्ने ठाँउमा त पुग्दैन ? भनेर उनकै शुभचिन्तकहरुको चिन्ता छ ।
२०४६ सलपछी निरन्तर सत्ताको दोहन गरेका भनिएका काङ्ग्रेस र एमाले भन्दा तात्विक रुपमा कुनै भिन्न नदेखिएपछी माओवादी र अरु दलको बीचको सिमारेखा करिब समाप्तप्राय भैसकेको छ।यसप्रकारको यात्राले माओवादी जनमत ओरालो लागि नै रहेको छ।यसरी पार्टी राजनीति र प्रचण्डको जीवनमा मडारिएको संकटबाट थोरै भएपनि राहत पाउन प्रचण्डले समाजवादी मोर्चालाई आफ्ना विपक्षीहरुलाई तर्साउने साधन बनाउन खोजेको , साच्चै नेपाली विशेषताको समाजवाद निर्माणको दिशामा कुनै ठोस र देखिने गरि पहल नगरेको भन्दै मोर्चासम्बद्ध दलहरू भित्र पनि प्रचण्डमाथी प्रश्न उठेको छ।
राजनीति जीवनमा जतिसुकै चुनौती र संकटहरु देखिएको भएपनि देशका मुद्दा, माओवादी आन्दोलनका मुल्य र नागरिकका पीडालाई सम्बोधन गर्नेगरी प्रचण्ड र उनको पार्टी सच्चिने हो भने र आफ्ना भुलहरुबाट सिकेर अगाडि बढ्ने हिम्मत गर्ने हो भने राजनीतिलाई सहि दिशा दिन सक्ने कुरामा प्रचण्डबाट अझै आशा गर्न सकिने संभावना रहेको कुरालाई अहिल्यै नजरअन्दाज भने गरिहाल्नु अलिकति हतारो नै हुनेछ।