काठमाडौं, साउन २२। सरकारले आज(बिहिबार) बाट जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ।
संक्रमण बढिरहेका बेला गृहमन्त्रालयले यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
बुधबार गृहमन्त्रालयमा बसेको बैठकले कोरोना महामारी नियन्त्रणका लागि जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ।
लामो लकडाउनपछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो।
२६ असारबाट निजी सवारी साधनको जोर विजोर सरकारले हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो ।
यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो।
सार्वजनिक यातायात खुलाउने निर्णय भएपछि जोर विजोर सार्वजनिक गाडीको हकमा लागू भएको थिएन।
अब आजबाट देशभर सार्वजनिक र निजी सबैमा जोर विजोर लागू हुने छ।
गृहले बुधबार विज्ञप्ति जारी गर्दै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि जनाएको छ।
त्यस्तै काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको मन्त्रालय प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
यस्तै २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिने छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने, मास्क नलगाउने वा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जविरवाना गर्ने र जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ।
नेपाल सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवातजावतलाई कडाइका साथ निषेध गर्ने, होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
यसैगरी कोभिड–१९ को सङ्क्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र-स्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड–१९ को थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ।
संक्रमण बढिरहेका बेला कोरोना महामारी नियन्त्रणका लागि सरकारले मंगलबार विज्ञहरुसँग छलफल गरेको थियो।
विज्ञहरुको छलफल पछि कोरोना नियन्त्रणका लागि सरकारको पछिल्लो निर्णय सार्वजनिक भएको हो।