सिंहदरबारभित्रैबाट सरकारी नियमको धज्जी ! सर्वसाधारणले के सिक्ने ?

  • साझा डबली
  • काठमाडौं,चैत १० । सरकारले कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन गत बुधबारबाट २५ जना भन्दा धेरै एकै ठाउँ भेला हुन निषेध गरेको थियो । एक सातामै करोड भन्दा धेरैलाई संक्रमण गर्न सक्ने कोरोना भाइरसबाट जोगिन सजगता अपनाइरहेको बताइरहेका बेला सिंहदरबारभित्रै चरम लापरवाही देखिएको हो ।

    आज (सोमबार) सिंहदरबार नजिकै रहेको स्वास्थ्य मन्त्रालयले गरेको आकस्मिक पत्रकार सम्मेलनमै उपस्थित स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहितका अधिकारीको संख्या नै २५ आसपास रहेको थियो भने पत्रकार सम्मेलनमा बोलाइएका पत्रकारहरुको संख्या ५० जना भन्दा बढी रहेको थियो। स्वास्थ्यमन्त्रालयको हलमा बस्‍ने ठाउँ नभएर पत्रकारहरु उभिएर रिपोर्टिङ गरिरहेका थिए भने मन्त्रालयकै अधिकारी पनि बस्ने ठाउँ नभएर उभिएका देखिन्थे।

    उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल संयोजकत्को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले गरेको उक्त निर्णयको सरकारले नै निरन्तर उलंघन गरिरहेको छ।

    देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै २५ जना भन्दा धेरै भेला भएर संसदीय समितिका बैठक चलिनै रहेका छन्। एकजना संक्रमितले भीडभाडसहित पत्रकार सम्मेलन गरिएको गुनासो आएपछि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अबदेखि यसको विकल्प खोजिने बताए।

    अर्कातिर सोमबारै सिंहदरबारमा ‘कोभिड–१९’ सम्बन्धी बैठक पनि बस्यो। त्यस बैठकमा पनि सहभागीको संख्या ४० भन्दा बढी थियो। कोरोनाको संक्रमणको उच्च जोखिम बढिरहेका बेला भिडियो कन्फ्रेन्स या अन्य विकल्प अपनाउन सकिने अवस्थामा सिंहदरबारभित्र २५ भन्दा धेरैको जमघटमा बैठक बसिरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्‍ययानमन्त्री योगेशकुमार भट्टराईलगायतको सहभागितमा सोमबार सिंहदरबारस्थित मन्त्रालयमा ‘कोभिड–१९’ सम्बन्धी बैठक बसेको हो।

    सोमबारै संघीय संसद, संसदीय सुनुवाई समितिको बैठक सिंहदरबारमा बसेको छ। बैठकमा चीनका लागि प्रस्तावित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेकोबारेमा सुनुवाइ भएको हो। यो बैठकमा पनि सरकारले तोकेको २५ जना भन्दा धेरैको जमघट थियो। नेपालमा कोरोना भाइरसको संक्रमण देखिइसकेको अवस्थामा पहिलो सतर्कता सरकारले अपनाउनुपर्ने हो। तर संसदीय समिति र सरकारका अन्य बैठक जमघटसहित बसिरहेका छन्।

    दृश्यरु

     

     

     

     

     

      

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology