काठमाडौं, चैत्र ७। सरकारले नेपाल सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि १८ गतेसम्मका लागि स्थगित गरेको छ । त्यस्तै, भारतसँगको सीमा नाकामा अनिवार्य स्वास्थ्यजाँच र देशैभर चैत १० गतेदेखि लागू हुनेगरी लामो दूरीका सवारी बन्द हुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । त्यस्तै, प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि सरकारी तथा सामुदायिक कार्यालयमा अत्यावश्यकबाहेकका सबै सुविधा बन्द हुने घोषणा गरेका छन् । यसअघि बुधबारै सरकारले शैक्षिक संस्था, सिनेमा हल, डान्स क्लबलगायत भीडभाड हुने स्थल बन्द गर्ने निर्णय गरिसकेको छ ।
सार्क कोषमा १० करोड
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा कोरोना भाइरस नियन्त्रणका लागि स्थापना भएको सार्क संयुक्त कोषमा नेपालले १० करोड रुपैयाँ जम्मा गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । यसअघि सार्कस्तरीय भिडियो कन्फ्रेन्समा मोदीले सार्क संयुक्त कोष स्थापनाका लागि गरेको प्रस्तावलाई प्रधानमन्त्री ओलीसहित अन्य देशका प्रतिनिधिले पनि स्विकार गरेका थिए । मोदीले यस कोषमा भारत सरकारले १ करोड अमेरिकी डलर जम्मा गर्ने घोषणा गर्दा ओलीले पनि नेपालले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
नेपाल पनि जोखिममा
विश्वभर कोरोनाको महामारी फैलिसक्दा पनि नेपालमा संक्रमण नफैलनु सुखद पक्ष रहेको ओलीले बताए । ‘तर हामी जोखिमबाट ढुक्क हुने अवस्था छैन । मैले सधैं नागरिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छु । त्यसैले स्पष्ट योजना बनाएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु,’ उनले भने । प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोकथामका लागि सरकारी संयन्त्र सक्रिय रहेको बताए । उनले यस अवधिमा आफ्नो नेतृत्वमा ५ वटा बैठक सम्पन्न भएको बताए । उपप्राधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समस्या समाधानका लागि नीतिगत निर्णय गर्न संयन्त्र गठन गरिएको पनि उनले बताए ।
‘यी संयन्त्रमार्फत सरकारले प्रदेश र स्थानीय तहमार्फत समन्वय गरी एकिकृत ढंगबाट रोकथाम र सतर्कताको अभियान बढाउँदै आएको छ,’ उनले भने, ‘महामारीसँग जुध्न सजिलो छैन । हामीले आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी छ ।’
सम्भावित संक्रमणलाई परास्त गर्न आनीबानी र दैनिकी परिवर्तन गर्नुको विकल्प नरहेको उनले बताए । ‘सरसफाईमा ध्यान दिनुस्, पटक–पटक हात धुनुस्, भीडभाडबाट टाढा रहनुस्, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नुहोस्, चिकित्सक विज्ञ र प्राविधिको सल्लाह पालना गर्नुस्, सावधान र धैर्यवान् रहनुस् तर आतंकित नहुनुहोस्,’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट आएका सबैले कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्ने नियम पालना गर्नुपर्ने बताए । उनले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सबैसँग आग्रह गरे ।
कालोबजारी गरे कारबाही
सरकारले देशभरका अस्पतालबाट सेवा प्रदान गर्न, औषधी व्यवस्थापन गर्न, कोरोनाविरुद्ध सक्रिय रुपमा संलग्न रहने चिकित्सक, सुरक्षाकर्मीलगायत जनशक्तीलाई सेवासुविधा र प्रोत्साहन उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने उनले बताए । निजी क्षेत्रको समन्वयमा खाद्यान्नलगायत अत्यावश्यक सामाग्री उपलब्ध गराउन सरकार सक्रिय रहेको ओलीको भनाइ छ । खाद्यवस्तुमा मिसावट गर्ने, कालोबजारी गर्ने लगायतलाई प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी प्रधानमन्त्रीले दिए ।
विश्वव्यापी रुपमा महामारी फैलिएकाले यसबाट अर्थतन्त्रमा पर्नसक्ने प्रभावबारे अर्थ मन्त्रालयले सुक्ष्म अनुसन्धान गरिरहेको प्रधानमन्त्रीले बताए । ‘अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै विशेष कार्यक्रम ल्याउने छ,’ उनले भने ।







नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड