चट्याङ लागेर दुई जनाको मृत्यु

  • साझा डबली
  • म्याग्दी,चैत २ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घाइतेद्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ ।

    मृतक पुन र गर्बुजा छिमेकी हुन् । यसैबीच शनिबार रातिको वर्षासँगै यहाँ उच्च पहाडी बस्तीमा हिमपात भएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मलम्पार, रघुगङ्गाको कुइनेमङ्गले, मङ्गलाको टोड्के, अन्नपूर्णको राम्चे, नागी, घोडेपानी, शिख, नारच्याङलगायतका बस्तीमा हिमपात भएको हो ।

    दुई–तीन फिट बाक्लो हिउँ जमेको स्थानीयवासीले बताएका छन् । यो वर्षको मङ्सिरयता नौपटक भएको हिमपातले जनजीवनका साथै विकास निर्माणको कामलाई समेत प्रभावित बनाएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

    अन्नपूर्ण गाउपालिका–७ स्थित टिकोट माविका प्रअ प्रदीप पुनले धेरै वर्षपछि चैतमा हिमपात भएको बताउनुभयो । बेमौसमी हिमपातले बर्खे र हिउँदे बालीलाई असर पुगेको कृषकले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology