काठमाडौं, फागुन २८। विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलाको प्रतीक्षामा थिए । तर, विवाहका दिन बेहुला आएनन् । बेहुला नआएपछि विवाह नै भाँडियो । बेहुला नआउनुको कारण थियो, केटा पक्षले मागेको दाइजो दिन नसक्नु ।
धनुषाको नगराइन नगरपालिकास्थित जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विवाह धनुषाकै भुतही निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग २५ फागुनमा हुने तय भएकोे थियो । तर, आर्थिक अभावका कारण बेचनीले दाइजोमा मोटरसाइकल दिन नसकेपछि सुशील सदा विवाह गर्न नै आएनन् ।
ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेको बेचनी विवाह नै नभएपछि मारमा परेका छन् । साहुसँग चर्को ब्याजमा तीन लाख रुपैयाँ ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि बेचनी थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न पन्डाल पनि लगाइएको थियो । ‘हामी भन्दै थियौं, पैसाको व्यवस्था भएन । विवाहपछि मोटर साइकल पनि दिन्छु । तर, बेहुला पक्षले मानेनन्,’ बेचनीले भनिन् ।
विवाह नभएपछि पूजाको आँसु रोकिएको छैन । स्थानीय केही व्यक्ति मोटरसाइकल दिएर पनि बिहे गर्न सुझाव दिइरहेका छन् । बिहेको वातावरण निर्माणमा जुटेका छन् । तर, अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडानमा छिन् पूजा । उनले एउटा मोटरसाइकलका लागि विवाह नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन् दाइजोको लोभमा ज्यान पनि लिन सक्ने बताइन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले घटनाको सत्यतथ्यबारे आफूले बुझिरहेको बताए । उनले दाइजोका कारण विवाह रोकिएकाले पीडकलाई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘बेहुली पक्षले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामी बेहुला पक्षमाथि कारबाही गर्छौं ।’
प्रदेश २ मा बालविवाह र दाइजो प्रथाको बिगबिगी नै छ । सामाजिक प्रतिष्ठामाथि नै खुलेयाम खेलबाड भइरहे पनि सरकार रमिते बनेका छन् । दाइजोका कारण विवाह रोकिएको यो एउटा उदाहरण मात्र हो । दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपछि पनि हत्या गरिने जस्तो जघन्य अपराध निरन्तर हुँदै आएको छ ।
सरकारले बालविवाह र दाइजो प्रथालाई निर्मूल पार्ने भन्दै आए पनि यो व्यवहारमा लागू हुन सकेको छैन । दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढंगले लिइएको पाइन्छ । सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक रहेको कानुन व्यवसायी राजकुमार महासेठले बताए । महासेठले भने, ‘दाइजोलाई सामान्य उपहार जस्तो बुझिन्छ । उपहार त दिए पनि हुन्छ, नदिए पनि हुन्छ । तर, दाइजो त सदियौंदेखि समाजमा जरा गाडेर बसेको छ ।’
संस्कृतिविद् पुनम झाका अनुसार दाइजो प्रथाका नकारात्मक पाटाहरू धेरै छन्, यसको प्रभाव बेहुली पक्षमा पर्छ, जुन मगनीदेखि नै सुरु हुन्छ । उनले अधिकांश विवाहमा (विशेषतः तराई–मधेसमा) बेहुली पक्ष्।ले बेहुलापक्ष्।लाई के के दिनुपर्छ भनेर छिनोफानो गरिने जानकारी दिइन् । सर्त पूरा भए मात्र विवाह निश्चित हुन्छ ।
दाइजोका कारण तराईमा गर्भपतनको घटना बढ्दै गएको झाको मनाइ थियो । उनी दाइजोलाई मनोवैज्ञानिक आतंक भएको तर्क गर्छिन् । ‘दाइजोको तराजुमा सामग्रीसँगै तौलिएकी बेहुलीलाई म एक पुरुष समान छैन भन्ने सन्देश दिइरहेको छ,’ झाले भनिन् ।
यो दृश्य देखेर हरेक अविवाहित केटाले आफू ‘सुपेरियर’ भएको र हरेक अविवाहित केटीले आफू ‘इन्फेरियर’ भएको महसुस गर्ने संस्कृतिविद् मैथिलीले बताइन् । असमान ‘जेन्डर आइडेन्टिटी’ अर्थात् लैंगिक पहिचान निर्माण गर्न दाइजो प्रथाले भूमिका खेलेको कानुन व्यवसायी महासेठको भनाइ छ । राजधानी दैनिक







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने