फेसबुकमा कोरोना भाइरसबारे विज्ञापन निःशुल्क

  • साझा डबली
  • काठमाडौं, फाल्गुन २४। विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले दिने जनचेतनामूलक विज्ञापनहरुका लागि फेसबुकले कुनै शुल्क नलिने घोषणा गरेको छ।

    फेसबुक प्रयोगकर्ताहरुले कोरोना भाइरसका सम्बन्धमा सही सूचना पाऊन्, भाइरसका बारेमा दिग्भ्रमित नहोउन् र कसरी सुरक्षित हुने भन्ने विषयमा जानकारी हासिल गरुन् भन्नका लागि फेसबुकमा निशुल्क विज्ञापन प्रकाशित गरिदिने निर्णय गरिएको कम्पनीका सिइओ मार्क जुकरबर्गले जनाएका छन् ।

    जुकरबर्गले फेसबुक पोष्ट गर्दै भनेका छन्, ‘कोरोना भाइरस विरुद्धको लडाइँमा विश्व स्वास्थ्य संगठनलाई आवश्यक पर्ने जति सबै विज्ञापनहरु निशुल्क रुपमा प्रकाशित गरिदिने लगायतका सहयोग गर्नेछौं ।’

    अब फेसबुकमा कोरोना भाइरसका विषयका पोष्टहरु सर्च गर्दा एउटा पप अप देखा पर्नेछ, जस मार्फत विश्व स्वास्थ्य संगठन तथा स्थानीय स्वास्थ्य एजेन्सीहरुका वेबसाइटमा पुगिनेछ ।

    जुकरबर्गका अनुसार विश्वका अग्रणी मानव स्वास्थ्य सम्बन्धी एजेन्सीहरुले गलत तथ्य भनी औँल्याएका कोरोना भाइरस सम्बन्धी गलत सामाग्रीहरु, दाबी तथा षडयन्त्र सिद्धान्तहरु फेसबुकले हटाउनेछ । जसले कोरोना भाइरसको विषयका गलत सूचनाहरुसँग लड्न सहयोग गर्नेछ ।

    फेसबुकले विश्वका स्वास्थ्य वैज्ञानिकहरुसँग सहकार्य र सहयोग गर्नुका साथै संस्थाहरुलाई विज्ञापन कर्जाको रुपमा दशौं लाख डलर सहयोग गर्ने जुकरबर्गको भनाइ छ ।

    स्मरण रहोस् फेसबुकले कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचार गर्ने भनी गरिने विज्ञापनमा प्रतिबन्ध लगाइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology