काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ डीपीआर तयार

  • साझा डबली
  • काठमाडौँ, माघ १०। काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’, काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ तयार भएको हो ।

    काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले प्रस्तावित चारवटै स्मार्ट सिटीको ‘डीपीआर’ भइसकेको जानकारी दिए । तिवारीले सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष मंगलबार ‘डीपीआर’बारे प्रस्तुतीकरण गरे । तिवारीका अनुसार प्रस्तुतिपछि मन्त्री बाँस्कोटाबाट स्मार्ट सिटी आयोजनालाई तीव्रता दिन निर्देशन भएको थियो ।

    ‘अब डीपीआरलाई सहरी विकासमन्त्रीको अध्यक्षतामा रहेको भौतिक विकास समितिमा पेस गरिनेछ, त्यहाँबाट अनुमोदन भइसकेपछि डीपीआर पुनः सहरी मन्त्रालयमा आउँछ र अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिनेछ’ मन्त्रिपरिषद्को स्वीकृतिपछि राजपत्रमा सूचना प्रकाशित गरी जग्गा अधिग्रहणको काम सुरु हुन्छ’, आयोजना तीव्र गतिमा अगाडि बढ्छ’, उनले भने ।

    भौतिक विकास समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका सचिव, बाग्मती प्रदेशका भौतिकमन्त्री र विभिन्न ११ वटा सङ्घीय मन्त्रालयका सचिव, काठमाडौँ, ललितपुर र भक्तपुर महानगरपालिकाका नगरप्रमुख तथा काठमाडौं उपत्यकाका अन्य नगरपालिका मध्येबाट सहरी मन्त्रालयले तोकेका तीनवटा नगरपालिकाका नगरप्रमुख हुनुहुन्छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख यस समितिका सदस्यसचिव छन् ।

    प्राधिकरण प्रमुख तिवारीले मन्त्रिपरिषद्को स्वीकृति भएमा चालू आर्थिक वर्ष भित्रमा नै यस आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चित गर्ने बताए । सरकारले जमानी बसेको अवस्थामा यो स्मार्ट सिटी निर्माण गर्न चिनियाँ, कोरियन र अमेरिकन कम्पनी लगानी गर्न तयार रहेको उनले जानकरी दिए । -गोरखापत्र दैनिक

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology