काठमाडौं, भदौ १५। सुर्खेत जिल्लाको टकुवा वन क्षेत्रमा धेरै संख्यामा गाईगोरु मृत अवस्थामा भेटिएको हल्ला आगोसरी फैलियो । त्यो हल्लामात्र थिएन, सत्य थियो । समाचार आगोसरी फैलिनु स्वभाविक थियो किनकि हाम्रा लागि गाई केवल गाईमात्र होइन । गाईलाई हामी हिन्दू धर्मावलम्वीहरु गौमाता मान्छौं र पूजाअर्चना समेत गर्छौं । त्यतिमात्र होइन, गाई हाम्रो राष्ट्रिय जनावर पनि हो ।
राजनीतिको रोटी सेक्ने दुस्प्रयास
एकातिर धार्मिक आस्थाको हिसावले गौमाता र अर्कोतिर हाम्रो राष्ट्रिय जनावर । त्यसकारण हामी नेपालीहरु गाईसँग भावनात्मकरुपमै जोडिएका छौ र यो विषयमा उत्तिकै सम्वेदनशील पनि । यद्यपि हाम्रो यो साझा भावनामाथि खेलेर राजनीतिक स्वार्थको रोटी सेक्ने मण्डली पनि उत्तिकै सक्रिय छ
। उसले राजनीतिक स्वार्थको रोटी निरन्तर सकेको सेक्यै छ । सुर्खेतमा धेरै संख्यामा गाईगोरु मृत अवस्थामा भेटिएको खबरसँगै उसले फेरि राजनीतिक स्वार्थको रोटी सेक्ने दुस्प्रयास गर्यो । गाई चिन्ह लिएर गाईमाथि राजनीति गर्दै आएको राप्रपाले हत्त न पत्त विज्ञप्ति जारी गर्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयको तर्फबाट प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्ति यस्तो छ ः
‘‘नेपालगञ्जबाट दैलेखतिर लगिएको भनिएको १५० गाईहरुमध्ये सुर्खेतको कटकुवा भन्ने ठाउँको जंगलमा शुक्रवार बिहान २३ वटा गाई मृत अवस्थामा भेटिएको र केही गाईहरु घाइते अवस्थामा रहेको भन्ने समाचारप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ । हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकैपटक ठूलो संख्यामा मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय छ । यस घटनाको तत्काल छानविन गर्न तथा यदि नियतवश यो जघन्य अपराध भएको हो भने दोषी पत्ता लगाई कडा कारवाही गर्न राप्रपा सरकारसँग जोडदार माग गर्दछ ।’’
‘‘एक भोट दाइलाई, एक भोट गाईलाई’’ भन्ने भावनात्मक नारा लगाएर गणतान्त्रिक नेपालमा पनि राप्रपा एकपटक मुलुककै तेस्रो ठूलो राजनीतिक दल बन्न सफल भयो ।
निशाना आफैतिर
माथिको विज्ञप्ति जानमा आयो वा अञ्जानमा ? त्यो त आफै जानून् । यद्यपि राप्रपाले गाईको मामिलामा अत्यन्तै सम्वेदनशील हिन्दू धर्मावलम्बीहरुलाई भावनात्मकरुपमै भड्काउने दुस्प्रयास चाहिँ गरेकै हो । चुनाव चिन्ह नै ‘गाई’ बनाएर त्यसलाई राजनीतिकरुपमा पनि ‘दुहुनो गाई’ बनाउन सफल राप्रपालाई उक्त विज्ञप्ति त्यतिबेला घाँडो भयो, जतिबेला ‘गाई’लाई नै चुनाव चिन्ह बनाएर मेयर बन्न सफल भएका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा नै यसमा मुछिए ।
‘बगेको खोला फर्किँदैन’ भनेझैं त्यो विज्ञप्ति अब फर्किनेवाला छैन । यद्यपि यो मुद्दालाई उछाल्ने ‘सुनौलो अवसर’बाट भने मेयर राणाकै कारणले चुकेको छ । त्यतिमात्र होइन, गाईलाई नै भर्याङ बनाएर उक्लेका मेयर राणाकै लापरवाही देखिएपछि राप्रपाको नियतमाथि प्रश्नचिन्ह खडा भएको छ र निशाना आफैतिर फर्किएको छ ।
राष्ट्रिय जनावर किन पार्टीको चुनाव चिन्ह ?
सबैलाई थाहा भएकै कुरा हो कि राप्रपाले हिन्दू धर्मावलम्बीहरुको माताको रुपमा पुजिने गाईलाई चुनाव चिन्ह बनाएर भावनात्मक ब्ल्याकमेलिङ गर्दै आएको छ । धर्म र आस्था राप्रपाको ठेक्का होइन ।
अझ राष्ट्रिय जनावरको गौरव प्राप्त गरेको ‘गाई’लाई कुनै अमूक पार्टीको चुनाव चिन्ह बनाउनु नै गलत भएको छ । यद्यपि पछिल्लो निर्वाचनतामा भने ‘एक भोट दाइलाई, एक भोट गाईलाई’ भन्ने नारा त्यति फलिफाप भएन ।
जुनसुकै कुरालाई पनि उछालेर सत्ताको भर्याङ चढ्न माहिर राप्रपा नेतृत्वको असली चरित्र छर्लङ्गै भएपछि जनताले यो नारा पछिल्लो निर्वाचनमा त्यति रुचाएनन् । जेहोस्, यो नारा रुचाइए पनि नरुचाइए पनि राष्ट्रिय जनावर गाईलाई कुनै अमूक दलको चुनाव चिन्ह बनाइनु नै गलत भएको छ । निर्वाचन आयोगले यसलाई पुनर्विचार गर्नैपर्छ ।
कहाँ लगिँदै थियो गाई ?
सुर्खेतको कटकुवा वन क्षेत्रमा धेरै संख्यामा मृत अवस्थाका गाई भेटिएपछि धेरै प्रश्नहरु उठे । ती गाईहरु कसले कहाँ लैजाँदै थियो ? किन लैजाँदै थियो ? कहाँ लैजाँदै थियो ? त्यसमा को को संलग्न थिए ? गाईहरु बाटैमा किन र कसरी मरे ? मरेका गाई वनमा कसले फाल्यो ? इत्यादि ।
क्रमशः त्यसको रहस्य पनि खुल्दै गयो । यो टिप्पणी तयार पार्दासम्म गाईकै बुइँ चढेर नेपालगञ्ज उपमहानगरपालिकाका मेयर बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवलशमशेर राणा नै मुछिएका छन् । उपमहानगरपालिका र सरकारले समेत यसको छानविनका लागि समितिहरु गठन गरिसकेको सार्वजनिक भइसकेका छन् । सत्यतथ्य अवश्य सार्वजनिक होलान् ।
उपमहानगरले पनि आफ्ना भनाईहरु राखिरहेकै छ । मेयर राणाको निर्देशन र नगरप्रहरीको सक्रियतामा सयौंको संख्यामा काञ्जीहाउसका गाईहरु ट्रकमा लोड गरेर दैलेखतर्फ लगिएको भनिएको छ । तैपनि यहाँनेर प्रश्न उठ्छ, कतै ती गाईहरु हिमाली जिल्ला वा तिब्बततिर तस्करीका लागि त लगिएको थिएन ?