काठमाडौं, साउन २९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा कोटेश्वरमा एक पैदल यात्रुको मृत्यु भएको छ। महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले ठक्कर दिँदा नाम परिचय नखुलेका एकजना पुरुषको बुधबार बिहान मृत्यु भएको हो।
महाशाखाबाट मंगलबार राति ड्युटीमा गएका ट्राफिक प्रहरी चढेको गाडीले ती व्यक्तिलाई कोटेश्वर चोकनजिक ठक्कर दिएको थियो।
प्रहरीले उनलाई उपचारका लागि ट्रमा सेन्टर ल्याएको थियो। चिकित्सकहरुले बुधबार बिहान ९ बजे उनलाई मृत घोषणा गरेका हुन्। प्रहरी वृत्त बानेश्वरले चालक र गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी होविन्द्र बोगटीले बताए।