विद्यार्थीभन्दा प्राध्यापक बढी

  • साझा डबली
  • काठमाडौं, साउन ८। संस्कृत शिक्षाप्रति आकर्षण घट्दै गइरहेको छ । कुनै समयमा विद्यार्थीको संख्या थेग्न गाह्रो हुने नेपाल संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापीठ बेलझुण्डीमा अहिले विद्यार्थीको संख्याभन्दा प्राध्यापक संख्या बढी रहेको छ । विद्यापीठमा जम्मा विद्यार्थी संख्या १२ जना रहेको छ । विद्यापीठमा प्राध्यापकको संख्या भने २२ जना रहेको छ । विद्यापीठमा प्राध्यापकको दरबन्दी संख्या भने ३५ रहेको छ । हाल विद्यापीठमा साहित्य, ज्यौतिष, धर्मशास्त्र, इतिहास पुराण, वेदान्त विषय पढाइ हुने गरेको विद्यापीठका प्राचार्य वंशीधर आचार्यले जानकारी दिए । विद्यापीठमा हाल इतिहास पुराण र वेदान्त पढ्ने विद्यार्थी नै छैनन् । यद्यपि इतिहास पुराणमा तीन जना प्राध्यापक र वेदान्तमा एक जना प्राध्यापक रहेको प्राचार्य आचार्यले जानकारी दिए । विश्वविद्यालयले उत्तरमध्यमा तह फेज आउट गर्दा शास्त्रीबाटै विद्यार्थीको संख्या कम भएका कारण आचार्यमा भर्ना हुने विद्यार्थीको संख्या न्यून रहेको प्राचार्य आचार्यले जानकारी दिए ।

    विश्वविद्यालय सभाले २०७५ सालबाट उत्तरमध्यमा (प्रविणता प्रमाण पत्र) तह फेज आउट गर्ने निर्णय गरेको थियो । शास्त्री तहमा विद्यार्थी संख्या बढाउनका लागि प्राग शास्त्री पाठ्यक्रम तयार पारेर भाषा प्रशिक्षण सुरु गरिएको विश्वविद्यालयका कुलसचिव प्राध्यापक कात्तिकेय झाले जानकारी दिए ।
    जुनसुकै विषय लिएर ११, १२ उत्तीर्ण गरेका विद्यार्थीले शास्त्रीमा भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि पढ्न पाउने विश्वविद्यालयले व्यवस्था गरेको छ । यता विश्वविद्यालयमा ३६ वर्ष प्राध्यापन गरेका प्राध्यापक श्रीधर शर्मा मजगैयाले संस्कृत शिक्षालाई अन्य शिक्षाभन्दा विशेष शिक्षाकारुपमा कक्षा सञ्चालन गरेमात्र आकर्षण बढ्ने बताउछन् । प्राग् भाषा प्रशिक्षणबाट उत्तीर्ण भएकाहरुबाट दक्ष जनशक्ति उत्पादन नहुने उनको ठम्याइ छ ।

    नेपाल संस्कृत विश्वविद्यालयअन्र्तगत रहेका १२ वटा आंगिक क्याम्पस मध्ये स्नातकोत्तर तह (आचार्य) पढाई हुने विश्वविद्यालय विद्यापीठ बेलझुण्डी, वाल्मिकी विद्यापीठ काठमाडौं, पिण्डेश्वर विद्यापीठ धरान र याज्ञवल्यक लक्ष्मीनारायण विद्यापीठ मटियानी महोत्तरीमा विद्यार्थीको संख्या हाल २ सय ५९ जना रहेको उपकुलपति कार्यालयका अधिकृत विनयकुमार पोख्रेलले जानकारी दिए । संस्कृत विश्वविद्यालयमा संस्कृत विषयमात्र पढ्ने विद्यार्थीको संख्या २ हजार ७९ रहेको छ । विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी २६ वटा क्याम्पस, अनुसन्धान, योग पढ्ने विद्यार्थीको संख्या हाल ३७ सय ६५ रहेको छ । सबैभन्दा बढि विद्यार्थी संख्या वाल्मिकी विद्यापीठ काठमाडौमा ११ सय ७८ रहेको छ भने कम भानु संस्कृत विद्यापीठमा २५ जना रहेको छ ।

    शैक्षिक सत्र २०७१÷७२ विश्वविद्यालयमा कूल विद्यार्थी संख्या ३८ सय ६२ रहेको थियो । शैक्षिक सत्र २०७१÷७२ भन्दा विश्वविद्यालयमा विद्यार्थीको संख्या हाल ९७ जना कम रहेको छ ।
    विश्वविद्यालयमा ८ सय १८ प्राध्यापक र ३ सय ७३ कर्मचारी रहेको कुलसचिव प्राध्यापक कात्तिकेय झाले जानकारी दिए । कुल दरबन्दी १२ सय ९४ रहेकोमा हाल प्राध्यापक, कर्मचारीको संख्या ११ सय ९१ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology