राजधानीकै गिताञ्जली कलेजमा फेसबुकबाट चिट चोर्ने परीक्षार्थी नेपाली सेनाका जमदार पक्राउ (भिडियो सहित)

  • साझा डबली
  • बिहिबार, चैत्र १४, २०७५
  • काठमाडौ, चैत १४ । काठमाडौको नयाँबजार स्थित गिताञ्जली कलेजमा एसईईमा सहभागी परीक्षार्थी गणेश बहादुर खनालले परीक्षाहलमा नै मोबाइल प्रयोग गरी चिट चोरी गरेको भेटिएको छ । महानगरीय प्रहरी वृत सोह्रखुट्टेको सहकार्यमा हामीले गरेको स्टिङ अप्रेशनमा खनालले फेसबुक म्यासेन्जर मार्फत प्रश्न पत्र आउट गर्ने र बाहिरबाट आएको उत्तर कपिमा सार्ने गरेको भेटिएको हो । गणेश बहादुर खनाल नेपाली सेनाका जमदार हुन् ।

    सिद्धार्थ वैकल्पिक विद्यालयका सामाखुसीका तर्फबाट सहभागी खनालले एसईईको पहिले दिनदेखि नै परीक्षा हलमा मोवाइल लैजाने र म्यासेन्जर मार्फत प्रश्न पत्र बाहिर पठाउने र बाहिरका व्यक्तिले जवाफ पठाउने गरेको म्यासेञ्जर संवाद उनकै फोनमा छन् ।

    पहिलो दिन अंग्रेजी बिषयमा प्रश्न पत्र परीक्षा चलिरहेको समयमा धिरु कुँवर नाम गरेको साथीलाई पठाएका छन् । भने उनलाई सही उत्तर म्यासेजमा तत्कालै आएको छ । यस्तै अनिवार्य गणितको विहान ८ः ११ बजे धिरु कुँवरलाई नै प्रश्न पठाएका छन् भने तत्कालै उत्तर आएको छ ।

    यस्तै विहीबार सञ्चालित विज्ञान बिषयको प्रश्न पत्र विआर रोकाया नाम गरेको साथीलाई पठाएका छन् भने विआर रोकाले उत्तर पठाएका छन् । यसरी मर्यादित भनिएको परीक्षामा नै मोवाइलमा म्यासेन्जरको प्रयोग गरी खनालले चिट चोरेको भेटिएपछि महानगरीय प्रहरी वृतबाट प्रहरी नायव उपरीक्षक गौतम केसीको नेतृत्वमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।

    एसईई परीक्षा सञ्चालित गिताञ्जली केन्द्रमा परीक्षार्थी र प्रश्न पत्रको गोपनियता नभएको भेटिएको छ । केन्द्राध्य वेदप्रसाद पन्तले नै हामीलाई ५ मिनेट बाहिरै रोके र परीक्षा निरीक्षकलाई परीक्षार्थीलाई सजग बनाउन निर्देशन गरेका थिए । र खनाललाई प्रहरीले नियन्त्रणमा लिएपछि आर्मीको मान्छे भएकाले खतरा हुने नाटक गरिरहेका थिए ।

    उनका अनुसार गिताञ्जली केन्द्रमा परीक्षा दिइरहेको परीक्षार्थीहरुलाई मोवाइल प्रयोग गर्न रोक लगाइएको छैन । यही मौकाको फाइदा उठाउँदै परीक्षा केन्द्र बाहिरको चिया पसलमा चिट तयार गरेको म्यासेन्जरमा चोरी गराउनेहरुको विगबिगी थियो । चिया पसलमा टोली नै बसेर भित्रबाट म्यासेन्जरमा आउने प्रश्न पत्रको उत्तर तयार गर्न व्यस्त थिए ।

    अहिलेको एसईई चिट चोराउन निकै सजिलो भएको उनीहरुकै अनुभव थियो । उनीहरुले आफ्न्तले परीक्षा दिइरहेकाले सहयोग गरेको बताउँदै थिए । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता होबेन्द्र बोगटीका अनुसार पक्राउ परेका चिट चोर्न व्यक्ति र चोराउने सबैलाई १ लाखसम्म जरीवान वा ६ महिना कैद वा दुवै हुन सक्ने गरी कानुनी प्रकृया अघि बढेको छ ।

    गिताञ्जली परीक्षा केन्द्र एक उदाहरण मात्र हो । काठमाडौंमा यस्तो छ, भने दुर्गम ठाउँहरुमा एसईई परीक्षा कसरी हुदैछ, त्यो सजिलै अनुमान गर्न सकिन्छ । यो समाचार न्युज २४ ले सिधाकुराको लागी गरेको अपरेशन बाट साभार गरिएको हो !

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology