जातीय भेदभाव र छुवाछूत उन्मुलनका लागि कार्यक्रम ल्याउन नेकपाको माग

  • साझा डबली
  • बुधबार, जेष्ठ ९, २०८१
  • काठमाडौ।नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश समितिले जातीय छुवाछूत र बिभेदको उन्मूलनका लागि विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेको छ।बुधबार अर्थमन्त्री बर्षमान पुनलाई दिइएको ज्ञापनपत्रमा जातीय छुवाछूत उन्मुलन गर्नका लागि आगामी बजेटमा कार्यक्रम ल्याउन माग गरिएको हो।

    केन्द्रिय राज्यसत्ताको कारण क्षेत्रीय उत्पीडन खेप्दै आएको सुदुरपश्चिम प्रदेश समग्र मानव बिकास सूचकांकका दृष्टिले समेत पछि पारिएको भन्दै दलित, महिला, थारु लगायत समुदायको समस्या सम्बोधन हुनुपर्ने गरि बजेट ल्याउनु पर्ने नेकपाद्वारा प्रस्तुत मागपत्रमा उल्लेख छ।

    नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी `रण्बीर´, पोलिट ब्युरो सदस्य विकल्प सी, केन्द्रिय सदस्य एवम् सभासद डबल बहादुर सी, केन्द्रिय सदस्यहरु समर सी, मिना सी, प्रकाश सी र दर्शन सी सहितको हस्ताक्षरित ज्ञापनपत्रमा आगामी आर्थिक बर्षमा सुदुरपश्चिमका बिकास निर्माणमा सरकारले बजेटको व्यवस्था गर्नुपर्ने माग समेत गरिएको छ।

    ९ बुदे ज्ञापनपत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०८० पारित हुनुपर्ने,सेती लोकमार्ग र महाकाली करिडोर निर्माणको काममा तीव्रता दिनुपर्ने,कैलालीको पहलमानपुरमा अवस्थित ३ हजार मेट्रीक टन क्षमताको सुदुरपश्चिम शीतगृह संरक्षण गरिनुपर्ने, खप्तड, बडिमालिका,रामारोशन र अपि साइपाल जस्ता पर्यटकीय क्षेत्रको पुर्बाधार निर्माण गरिनुपर्ने, पश्चिम सेती, बुढीगङ्गा हाइड्रो र बेतन कर्णालीको काममा गति प्रदान गरिनुपर्ने माग गरिएको छ।

    त्यस्तै,कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका भुमिहिन सुकुम्बासीको बैकल्पिक व्यवस्था नगरी विस्थापित गर्न रोक्नुपर्ने, दलितमाथिको भेदभाव र छुवाछूत उन्मुलन गर्न, महिला र थारु समुदायको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनुपर्ने र सरकारले योजनाहरुको छनौट र बजेट बिनियोजन गर्दा राजनीतिक शक्तिका आधारमा गरिने भागबण्डा रोक्नुपर्ने लगायतका माग गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology