समाजवादी शिक्षाः श्रम र सामूहिकताको सवाल

  • साझा डबली
  • शनिबार, बैशाख २९, २०८१
  • मिखाइल कालिनिनको जन्म ७ नोभेम्बर १८७५ मा भएको थियो। सन् १८९३ मा उनी एक औद्योगिक कार्यकर्ता थिए। सन् १८९८ मा रूसी सामाजिक जनवादी मजदूर पार्टीमा सामेल भएका उनी लेनिनका एक समर्थक भए। उनले पार्टी र क्रान्तिमा सक्रिय भूमिका निभाए। आन्दोलनको क्रममा उनी सन् १८९९ र १९०३ मा गिरफ्तार भएका थिए। सन् १९०५ को सेन्टपिटर्सबर्ग क्रान्तिमा सक्रियतापूर्वक भाग लिएका कालिनिन सन् १९१२ मा बोल्शेभिकको केन्द्रीय समिति सदस्य र पार्टीको मुखपत्र प्राब्धाको सहसम्पादक भए । सन् १९१७ को क्रान्तिपछि कालिनिनले सेन्टपिटर्सर्बगको मेयरको रूपमा काम गरे। मार्च १९१९ मा उनी सोभियत संघको अखिल रूसी काँग्रेसको केन्द्रीय कार्यकारिणी समितिको अध्यक्ष भएका उनी सन् १९२५ मा पार्टीको पोलिटब्यूरोको पूर्ण सदस्य बनेका थिए। सन् १९३८ देखि १९४६ सम्म उनी आधिकारिक रूपमा सर्वोच्च सोभियतको प्रेसिडियम (कम्युनिष्ट देशको स्थायी कार्यकारी समिति) का अध्यक्ष थिए। प्रस्तुत सामाग्री मस्को नगरमा पार्टी कार्यकर्ताहरूको सभामा २,अक्टुबर १९४० उनले गरेकाे सम्बेधनकाे अंश हाे । यसकाे नेपाली भाषामा अनुवाद मार्क्सवादी अध्येता नारायण गिरीले गर्नुभएकाे हाे । शिक्षाबारे रूचि राख्नुहुने पाठकहरूका लागि पठनीय ठानी याे सामाग्री युगधारा डटकमबाट साभार गरि राखिएकाे छ -सम्पादक )

     

    साथीहरू,सन १९२० मा भी. आइ. लेनिनले रूसी युवक कम्युनिष्ट लीगको तेस्रो अखिल रूसी कांग्रेसमा कम्युनिष्ट शिक्षा सम्बन्धमा एउटा भाषण गर्नुभएको थियो। कोम्सोमोल (कम्युनिष्ट युवा लीग) लाई दिइएको त्यो भाषणमा भनिएको थियो – पूँजीवादी समाजमा हुर्किएको हाम्रो पुस्ताको लागि कम्युनिष्ट समाजको स्थापनाको काम पूरा गर्न धेरै कठिन हुनेछ। यो काम युवाहरूको जिम्मामा हुनेछ।

     

    आज तपाईंहरूले ताली बजाइरहँदा यी शब्दहरू स्वतः मेरो दिमागमा आए र म के सोच्न लागेँ भने मेरो सामु कोमसोमोल (कम्युनिष्ट युवा लीग) का तिनै भूतपूर्व सदस्यहरू छन्, जसको सामु लेनिनले भाषण गर्नुभएको थियो, तिनीहरू आज विकसित भएका छन् र जीवनमा अनुभवी भएका छन्। आज उनीहरू नै समाजवादी निर्माण-कार्यमा सक्रिय रूपले भाग लिइरहेका छन्। समाजवादका निर्माताहरू म तपाईंहरूको प्रशंसकमध्ये एक हुँ।

     

    हामी कम्युनिष्ट शिक्षाप्रति धेरै नै ध्यान दिन्छौं। हाम्रा प्रकाशन अकारण नै “शिक्षा” शब्दले भरिंदैनन्। तर पनि आम रूपमा शिक्षाको अर्थ के हो भन्ने कुरा बताउनु धेरै जटिल हुन्छ। प्रायः शिक्षा र लालनपालनलाई एकै मानिन्छ। दुवैको बीचमा निकट सम्बन्ध अवश्य छ तर दुवै पर्यायवाची भने होइनन्। शिक्षाशास्त्रीले शिक्षालाई धेरै महत्त्व दिन्छन्। यो शिक्षाको आफ्नै विशिष्टता हो।

     

    मेरो विचारमा शिक्षकद्वारा अपेक्षित गुणहरूलाई विद्यार्थीहरूमा भर्नको लागि उसको दिमागमा निश्चित, उद्देश्यपूर्ण र आयोजित ढंगले प्रभाव पार्नु नै शिक्षा हो। मलाई के लाग्दछ भने यस्ता परिभाषाले (जसलाई मान्नु कसैको लागि पनि पर्याप्त हुँदैन) शिक्षाका सबै पक्षहरूलाई प्रतिबिम्बित गर्दछन्। जस्तो कि, विश्वप्रति एक निश्चित दृष्टिकोणको निर्माण, नैतिकता र मानवीय व्यवहार-व्यापारको नियम, चरित्र र इच्छा शक्तिको निर्माण, बानी र असल रूचि तथा शारीरिक गुणहरूको विकास, आदि।

     

    शिक्षा-कार्य अत्यन्तै कठिन व्यवसायहरूमध्ये एक हो। राम्राभन्दा राम्रा शिक्षाशास्त्री यसलाई केवल विज्ञानका वस्तु मात्र मान्दैनन्, बरू कलाका वस्तु पनि मान्दछन्। उनीहरूको दिमागमा शिक्षाका कुरा हुन्छन्, जुन बिल्कुल सीमित दायराका वस्तु हुन्छन्। यसको साथै जिन्दगीको स्कूल पनि छ, जसमा जनताको शिक्षाको काम लगातार चलिरहन्छ र जसमा स्वयं जिन्दगी, पार्टी, राज्य, सबै शिक्षक हुन्छन् तथा जसमा लाखौं विद्यार्थीहरू हुन्छन्, यो कैयौं जटिल मामिला हो। आज म यही जनताको शिक्षाको विषयमा बोल्न चाहन्छु।

    एंगेल्सले आफ्नो पुस्तक ड्यूहरिंग मत-खण्डनमा लेख्नुभएको छ – “…मानिस, जानेर वा नजानीकन अन्ततः आफ्नो नैतिक विचार आफ्नो वर्ग-स्थितिमा आधारित व्यावहारिक सम्बन्धहरूबाट ग्रहण गर्दछ, उत्पादन र विनिमयद्वारा बन्ने आर्थिक सम्बन्धहरूको कारण …नैतिकता सदैव वर्ग-नैतिकता रहेको छ; नैतिकता या त शासक-वर्गको प्रभुत्व र हितहरूको पक्षमा रहेको छ या जसरी शोषित वर्ग-शक्तिशाली भएपछि त्यसले शोषितहरूको भावी हितहरूलाई प्रतिनिधित्व गर्न लागेको छ।”

     

    यसप्रकार वर्गीय समाजमा शिक्षा पनि कहिल्यै न वर्गीय हितभन्दा बाहिर र न त्यसभन्दा माथि नै रहेको छ। पूँजीवादी समाजमा शिक्षा माथिदेखि तलसम्म पाखण्डले भरिएको हुन्छ, त्यसले शासकीय वर्ग स्वार्थहरूलाई परिपोषण गर्दछ। पूँजीवादी समाजमा हुने अन्तर्द्वन्द्वको प्रतिबिम्ब त्यसको चरित्रको अन्तर्विरोध हो।

     

    पूँजीपतिहरूको आदर्श मजदूर–किसानहरूको शोषण र मूकदर्शक जस्तै भारवहन गर्ने आज्ञाकारी चाकरको रूपमा हेर्नु हो। त्यसकारण पूँजीपति कहिल्यै मजदूर र किसानहरूमा कुनै प्रकारको साहस र बहादुरीको बढावा मिलोस् भन्ने चाहँदैनन्। उनीहरू के चाहन्छन् भने तिनीहरूलाई कुनै पनि प्रकारको शिक्षा नमिलोस्, किनकि अशिक्षित र शोषित-पीडित मानिसहरूलाई वशमा राख्न धेरै सजिलो हुन्छ। तर यस्ता मानिस विजय-अभियानमा जान सक्दैनन्। प्रारम्भिक शिक्षाबिना उनीहरू मेशिन र औजार प्रयोगमा ल्याउन सक्दैनन्। एकातिर, प्राविधिक प्रगति, हतियारको दौड, आदिमा आपसी प्रतिस्पर्धा; अर्कोतिर, शिक्षा प्राप्त गर्नको लागि मजदूर-किसानहरूको संघर्षले पूँजीवादीहरू ती श्रमजीवी जनताहरूलाई पनि कम्तीमा ज्ञानको जूठो दिन विवस हुन्छन्। अन्य देशहरूमा लुटतन्त्र मच्चाउन पूँजीपतिहरू आफ्नो लागि श्रमजीवी जनतामा साहस, शौर्य, आदि गुणहरूको विकास हुन दिन विवस हुन्छन्।

     

    पूँजीवादी शिक्षाका कुनै पनि प्रणालीले आफूलाई यी अन्तर्विरोधहरूबाट मुक्त गर्न सक्दैनन्। ती अन्तर्विरोधहरूका कारण जुन पूँजीवाद समाजको अभिन्न अंग छन्, शासक वर्ग खुला दमनदेखि लिएर लुकिछिपी, धोकाबाजी र षड्यान्त्रमक तरीकाले जनतामाथि प्रभुत्व हासिल गर्नको लागि निर्मम संघर्ष गर्दछ।

     

    जन्मदेखि मृत्युसम्म श्रमजीवी जनता पूँजीवादी समाजका ती विचारधारा, भावना र रीति-रिवाजहरूबाट प्रभावित भइरहन्छन्, जुन शासक वर्गका फाइदामा हुन्छन्। यसका अनेकौं प्रकार छन्। चर्च, स्कूल, कला, सिनेमा, नाटक, पत्र-पत्रिकाहरू, विभिन्न प्रकारका संगठन – यी सबै जनतालाई पूँजीवादी दृष्टिकोण, नैतिकता, रीति-रिवाज, आदि भावनाबाट प्रेरित गर्ने साधन मात्र हुन्छन्। उदाहरणको लागि सिनेमालाई नै लिनुहोस्। एउटा पूँजीवादी फिल्म निर्देशकले अमेरिकी फिल्मको विषयमा यस्तो लेखेको छ – “आजभोलिका अनेकौं फिल्महरू केही बेहोस बनाउने औषधि जस्तै छन्, जुन यस्ता थकित मानिसहरूको लागि बनाइन्छन्, जो मुलायम कुर्सीमा बसिरहन र कसैले उनीहरूलाई बच्चा जसरी खेलाइरहून् भन्ने चाहन्छन्।”

     

    पूँजीवादी शिक्षाको यो सार हो। सर्वहारावर्गको अग्रदस्ता कम्यनिष्ट पार्टी, बुर्जुवा शिक्षाको यो अवस्थाको विरोध गर्दछ, जसको विकासमा शताब्दियौं लाग्यो र जसको उद्देश्य शासक, पूँजीवादीवर्गको स्थितिलाई बलियो बनाउनु र शोषितहरूबाट आफ्नो विवसतालाई कबूल गराउनु थियो। कम्युनिष्ट पार्टीको शिक्षा-सिद्धान्त पूँजीवादी प्रभुत्वको विरुद्धमा र सर्वहारावर्गको अधिनायकत्वको समर्थनमा छ।

    एउटा कुरा कुनै प्रमाणबिना नै बुझ्न सकिन्छ कि कम्युनिष्ट शिक्षा केवल उद्देश्यहरूमा आधारभूत रूपले बुर्जुवा शिक्षाभन्दा भिन्न मात्र छैन, बरू तरीकाहरूमा पनि भिन्न छ। कम्युनिष्ट शिक्षा आम रूपमा राजनीतिक चेतना र सांस्कृतिक विकासको अभिन्न अंग हो। त्यो सर्वसाधारणको मानसिक प्रगतिसँग सम्बन्धित छ। त्यसकारण यसको सफलताको लागि सबै कम्युनिष्ट पार्टीहरू प्रयत्नशील छन्।

     

    यद्यपि सम्पूर्ण कम्युनिष्ट पार्टीहरूको अन्तिम उद्देश्य एकै र समान छ, तर पनि सोभियत संघका मजदूर वर्ग र पूँजीवादी देशहरूका मजदूरहरूको स्थिति भिन्न छ। हामीले आफ्नो विशेष स्थितिअनुरूप नै शिक्षा दिनुपर्दछ। हाम्रो देशमा मजदूर वर्ग केवल भौतिक रूपमा मात्र प्रभुत्वशील छैनन्, बरू आत्मिक रूपमा पनि उनीहरू यही स्थितिमा छन्। मार्क्स-एंगेल्सले लेख्नुभएको छ – “जुन वर्ग भौतिक उत्पादन साधनका मालिक हुन्छन्, उनीहरू नै आत्मिक उत्पादन साधनका पनि मालिक हुन्…र यो कुराको अतिरिक्त, शासकवर्गमा शासकीय चेतना हुन्छ र यसैबाट उनीहरू सोच्दछन्। त्यसकारण जहाँसम्म उनीहरू एक वर्गको रूपमा शासन गर्दछन्, उनीहरू एक युगको स्थिति र सीमाहरूको पनि निर्धारणा गर्दछन्। उनीहरू सबै क्षेत्रमा यो शक्तिको प्रयोग गर्दछन् भन्ने कुरा स्वयंसिद्ध तथ्य हो। त्यसकारण उनीहरू विचार र आदर्शहरूलाई पनि प्रभावित गर्दछन्। यसको अर्थ के हो भने तिनीहरुका विचार सम्पूर्ण युगमा हावी हुन्छन्।”

     

    मार्क्स-एंगेल्सको के विचार थियो भने, “शासकवर्गका विचार नै शासक विचार हुन्छन्।” त्यसकारण सोभियत संघका मजदूर वर्गमाथि महान उत्तरदायित्व आउँदछ। हामी केवल पूँजीवादी व्यवस्थाका आलोचक मात्र बनेर सन्तोष गर्न सक्दैनौं। मुख्य कुरा राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रहरूमा वास्तविक सफलताको लागि संघर्ष गर्नु हो। यही नै कम्युनिष्ट शिक्षाको सार हो।

    के कुरा स्पष्ट रूपमा बताइदिनुपर्दछ भने हामी आफ्ना उत्पादनसम्बन्धी कैयौं कुराहरूबाट असन्तुष्ट छौं। अवस्था के छ भने हामीले खराब चीज प्राप्त गरेपछि त्यसलाई धेरै कडा शब्दमा खराब भन्दछौं। प्रत्येक व्यक्तिले उसलाई हरेक चीज राम्रोसँग प्रचुर मात्रामा प्राप्त होस् भन्ने चाहन्छ। अब म तपाईंहरूसँग सोध्छु, “यदि हामीमध्ये हरेकले आफ्नो कामलाई राम्रोभन्दा राम्रोसँग गर्दैनौं भने यी चीजहरू कहाँबाट आउनेछन् ?” हामीले सदैव “जस्तो रोप्नेछौं, त्यस्तै काट्नेछौं” भन्ने भनाइलाई स्मरण गर्नुपर्दछ।

    र, यस मामिलामा पनि, केवल उत्पादनको प्रकारमा मात्र हामी जोड दिंदैनौं। जस्तो कि तपाईंहरूलाई थाहा छ, १० जुलाई १९४० मा सोभियत समाजवादी संघको सर्वोच्च सोभियतको अध्यक्ष-मण्डलले घोषणा गरेको थियो – ” हिस्सा नै लोप हुने खराब प्रकारका चीजहरू बनाउने र निश्चित मापदण्ड नभएका चीजहरू बनाउने कामलाई राज्य विरुद्ध तोडफोड समान अपराध ठानिनेछ।” कारखानाका डाइरेक्टर, मुख्य इन्जिनियर र प्राविधिक निरीक्षण-विभागका अध्यक्षले खराब प्रकारका माललाई बाहिर आउन दिए वा हिस्सा नै लोप हुने माललाई बाहिर आउन दिए भने उनीहरूमाथि मुद्दा चलाउन सकिन्छ र उनीहरूलाई ५ देखि ८ वर्षसम्मको कैद सजाय दिन सकिन्छ।

    यो घोषणा एकप्रकारले केही मानिसहरूमाथि सख्त आक्रमण हो भन्ने कुराको कुनै आवश्यकता छैन। यसले उद्योग-धन्दाका व्यवस्थापकहरूलाई एक शक्तिशाली हतियार दिन्छ, जसबाट उनीहरू अस्वस्थ वातावरणको विरूद्धमा संघर्ष गर्न सक्दछन्। आम रूपमा उनीहरू कस्ता तर्क गर्दथे ?  – सार्वजनिक संगठन, साथीहरू, आदिसँग सम्बन्ध बिगार्नु, उनीहरूको बदनामी गर्नु के यो उचित हुन्छ ? उत्पादनको थुप्रोमा खराब चीज पनि निक्लिनेछ । र, यस्तो हुन्थ्यो।

    यसप्रकारको मनोवृत्तिलाई निर्मूल गर्नु आवश्यक हुन्छ। हामीमध्ये प्रत्येकको व्यक्तिगत र समाजवादी समाजको हितमा यो आवश्यक हुन्छ। दुईमध्ये एउटा कुरा त हुनसक्दछ : या त हामी साम्यवादलाई सच्चा हृदयले स्वीकार गर्दछौं, वा हामी केवल यसको बारेमा कुरा गरिरहन्छौं। अथवा, साम्यवादतिर विस्तारै-विस्तारै अगाडि बढ्दछौं। तर हाम्रो दिमागमा के कुरा स्पष्ट हुनुपर्दछ भने साम्यवादतिर यसरी बढ्नु धेरै खतर्नाक हुन्छ। यसरी समाजको परिवर्तन हुन धेरै लामो समय लाग्नेछ।

    मलाई एउटा घटना स्मरण हुन्छ, शायद उनन्चालीस वा अड्तीस – जस्तो कि तपाईंहरू देखिरहनुभएको छ म मौकामा चालीस वर्ष पछाडिसम्म जान सक्छु – हामी भूमिगत कार्यकताहरूमा एउटा बहस उठ्यो : एउटा क्रान्तिकारी मजदूरले आफ्नो काम राम्रोसँग गर्नु पर्छ वा पर्दैन, अर्थात् उसले आफ्नो उत्पादनको प्रकारको ख्याल गर्नुपर्दछ वा पर्दैन?  केहीले भने – हामी यसो गर्नै सक्दैनौं, हाम्रो प्रकृति नै खराब काम गर्न नसक्ने खालको हुन्छ, हामीलाई घृणा हुन्छ र यो हाम्रो आत्मसम्मानको विरुद्धमा छ। यसको विरूद्ध केहीले भने – उत्पादनको श्रेष्ठतासँग हामीलाई केही मतलब छैन, यो त पूँजीपतिहरूको काम हो, आखिर हामी उनीहरूकै त काम गरिरहेका छौं। जेसुकै होस्, उनीहरू त हामीलाई राम्रो काम गराउनको लागि विवस नै गर्नेछन् र जहाँसम्म हामीलाई पूँजीपतिले विवस गर्नेछन्, हामी राम्रो काम गर्नेछौं। तर हामीले कुनै पहल गर्नुहुँदैन, कुनै उत्साह देखाउनु हुँदैन।

    साथीहरू, अब तपाईंहरूले क्रान्तिभन्दा पहिले पनि देशमा पूँजीवादी व्यवस्था थियो भन्ने बुझ्नुभयो होला, पूँजीपतिहरूसँग लड्ने केही मजदूरहरूको दृष्टिकोण पनि हामीले राम्रो काम गर्नुपर्दछ भन्ने थियो। खराब कामलाई उनीहरू घृणा गर्दथे, अथवा यसो भनौं उनीहरू आत्माको आवाज सुन्थे। तर अब समाजवादी समाजमा, जहाँ हामी पूँजीपतिहरूको लागि होइन, बरू आफ्नो लागि काम गर्दछौं, के खराब उत्पादनप्रति हाम्रो आत्माले विद्रोह गर्दछ, के त्यसले हामीलाई घोच्दछ ? दुर्भाग्यले यसो भन्न सकिंदैन। तर मानिसले आत्माको पुकार सुने र खराब उत्पादनमाथि उनीहरूको आत्माले विद्रोह गर्नलाग्यो भने यो राम्रो हुनेछ।

    हामी कम्युनिष्टले शिक्षाको कुरा गरिरहँदा यसको अर्थ के हुन्छ भने हामीले हरेक मजदूरलाई आफ्नो कामप्रति उनीहरूको दृष्टिकोण शुद्ध होस् भन्ने भाव भर्नुपर्दछ। हामीले उनीहरूमाथि यदि उनीहरूले आफूलाई बोल्शेभिक ठान्दछन् वा केवल इमान्दार सोभियत नागरिक ठान्दछन् भने उनीहरूले आफ्नो अन्तस्करणलाई यति शुद्ध राखून् कि त्यसको उत्पादन श्रेष्ठ होस् भन्ने कुराको प्रभाव पार्नुपर्दछ। त्यसकारण साम्यवादको संघर्ष श्रमको उच्चतम् उत्पादन-शक्तिको लागि, संख्यात्मक र गुणात्मक दुवैको लागि संघर्ष हो। कम्युनिष्ट शिक्षाको यो पहिलो आधारभूत मान्यता हो।

    साथीहरू, सोभियत संविधानको धारा १३१ मा लेखिएको छ – “सोभियत समाजवादी जनतन्त्र संघका हरेक नागरिकको कर्तव्य के हो भने उनीहरूले सार्वजनिक समाजवादी सम्पत्तिलाई सोभियत व्यवस्थाको पवित्र र अनुल्लघनीय आधार मानेर त्यसलाई देशको धन र शक्तिको एवम् सम्पूर्ण श्रमजीवी जनताको समृद्धि तथा संस्कृतिको स्रोत मानेर त्यसको रक्षा र अभिवृद्धि गर्नुपर्दछ। सार्वजनिक समाजवादी सम्पत्तिलाई हानि पुर्‍याउने व्यक्ति जनताका शत्रु हुन्।”

     

    सार्वजनिक सम्पत्तिको रक्षा र त्यसको अभिवृद्धिको प्रश्नको स्वाभाविक महत्त्व सरसर्ती दृष्टिबाट थाहा भएको भन्दा कैयौं बढी हुन्छ। सार्वजनिक सम्पत्तितर्फ मितव्ययीताको दृष्टि एक कम्युनिष्टको विशेषता हो। मलाई लाग्छ, मानव इतिहासमा कहिल्यै पनि कम्युनिष्ट समाजबाट कम-खर्च कुनै समाजमा भएन। र, यो बिल्कुल स्वाभाविक हो, किनकि केवल कम्युनिष्ट समाजमा मात्र साधनहरूको उपयोग र तिनीहरूको व्यवस्था उत्पादकहरूको हातमा हुन्छ।

     

    इतिहासले मानिसहरूलाई सार्वजनिक सम्पत्तिको रक्षा गर्ने शिक्षा दिएन। र, सदैव धेरै संख्यामा सार्वजनिक सम्पत्ति लुट्ने कुराको शौखिन मानिस रहेका हुन्छन्। पुरानो शासनव्यवस्थामा राज्यको धनको हिनामिना एक सामान्य कुरा थियो र राज्यका अधिकारीहरूका लागि सार्वजनिक कोष त धेरै लाभकारी नै थियो। स्वभावतः यो स्थितिको कारण माथिबाट तलसम्म सार्वजनिक सम्पत्तिप्रति लापरवाहीको कारणले गर्दा व्यक्तिगत सम्पत्तिको सम्बन्धमा पनि लापरवाही र अनावश्यक खर्च आउँदछ।

     

    तर विगत युगमा भएको राष्ट्रिय धनको लुट, मानवीय श्रमको लुट, आजको नवीन पूँजीवादी व्यवस्थामा हुने मानवीय श्रमको लुटको अगाडि बच्चाको खेलजस्तै लाग्नेछ। हरेक दिन लाखौं कामका दिन धुलोमा मिलिरहेका छन् भन्ने कुरा निर्विरोध भन्न सकिन्छ। मानवताको विरुद्ध एक्लै यही अपराधको लागि पूँजीवादको जतिसक्दो छिटो नाश हुन जरूरी छ। हाम्रो देशको समुच्च उत्पादनलाई हेर्दा नाफा पनि एक प्रकारले सम्पत्ति नै हो। र, यो सम्पत्ति बर्षेनि हाम्रो संस्कृतिको विकाससँगै विकसित हुनुपर्दछ।

     

    साथीहरू, हाम्रो संविधानको १३१औं धारामा कम्युनिष्ट शिक्षाको लागि धेरै ठूलो सामग्री छ। यो त्यो पूँजीवादी धारणाको विरोधमा छ। यसका अनुसार – “यो घर मेरो हो र यो सबै कुरा हो, र म कसैलाई पनि यो सुरक्षा क्षेत्रमा पस्न दिन्नँ।” यो धाराले सार्वजनिक हितलाई व्यक्तिगत हितबाट माथि राख्नलाई बाध्य बनाउँदछ; किनभने हरेकको व्यक्तिगत स्थितिको सुरक्षा समाजवादी समाज-व्यवस्थामा मात्र हुन सक्दछ।

     

    सोभियत सरकारको स्थापनाको पहिलो वर्षमा नै लेनिनले भन्नुभएको थियो – “बिल्कुल सही र स्पष्ट हिसाब-किताब गर्नुपर्दछ। कम खर्चमा काम चलाउनुपर्दछ। आलसी बन्नु हुँदैन। चोरी गर्नु हुँदैन। कामको क्रममा कठिनभन्दा कठिन अनुशासनको पालना गर्नुपर्दछ। यी स्वयंसिद्ध कुराहरू हुन्, तर पनि यिनीहरूलाई क्रान्तिकारी सर्वहारावर्ग घृणा गर्दथे, जब पूँजीवादीहरू शोषकको राज्यलाई यी उपदेशहरूको पर्दामा लुकाउँथे। अब पूँजीवादको नाशपछि तुरुन्तै यी नाराहरू सामयिक र मुख्य बन्दै गइरहेका छन्।”

     

    जहाँसम्म “पूँजीवादी परम्पराहरूका रक्षक”, सार्वजनिक सम्पत्तिका चोरहरू र हिनामिना गर्नेहरू, कायर र यस्तै प्रकारका मानिसहरूको सम्बन्ध छ, तिनीहरूको विरुद्धमा कदम उठाउनै पर्दछ। यो उद्देश्य विशेषगरी केन्द्रीय कार्यकारिणी समिति र देशको मन्त्रीमण्डलको ७ अगस्ट १९३२ को “राजकीय कारखानाहरू, सामूहिक कृषि र सहकारी समितिहरूको सम्पत्तिको रक्षा र सार्वजनिक (समाजवादी) सम्पत्तिको एकीकरणको सम्बन्धमा” भन्ने फैसलाबाट पूरा हुन सक्दछ।”उद्योगमा साना चोरी र होहल्लाको अभियोग जिम्मेवारी सम्बन्धमा” १० अगस्ट १९४० मा देशको सर्वोच्च सोभियतको अध्यक्षमण्डलको घोषणा पनि यही उद्देश्य पूर्तिमा सहायक हुनेछ।

     

    त्यसकारण साथीहरू, हामीले आफ्नो योग्यताअनुसार काम गर्न र सार्वजनिक सम्पत्तिको रक्षा गर्न सिक्नुपर्दछ। जब हामी धेरै उत्पादन गर्न लाग्नेछौं र आफ्नो श्रमको उत्पादन गर्न सिक्नेछौं, तब फेरि हामी आवश्यकताअनुसार यसको बाँडफाँड पनि गर्नेछौं। कम्युनिष्ट शिक्षाको यो दोस्रो अभिन्नअंग हो

                  

    कम्युनिष्ट शिक्षाको एउटा अर्को आवश्यक तत्व छ – आफ्नो समाजवादी देशको लागि प्रेम जागृत गर्नु, सोभियत देशभक्तिलाई जागृत गर्नु। “देशभक्त” शब्द पहिलो पटक १७८९-१७९३ को फ्रान्सेली क्रान्तिको समयमा प्रयोगमा आयो। जो जनताको हितको लागि, गणतन्त्रको रक्षाको लागि, आफ्नो देशमा गद्दारी गर्ने राजशाही खेमाका गद्दारहरूको विरुद्धमा आए, उनीहरूले आफूलाई देशभक्त भने। पछि यो शब्दको प्रयोग प्रतिक्रियावादीहरू र शासकवर्गले आफ्ना स्वार्थी हितहरूको लागि गरे। यही कारणले देशभक्त शब्दले यूरोप र जारशाही रूस, दुवैमा त्यस्ता सम्पूर्ण इमान्दार मानिसहरूका लागि, सदैव सन्देह पैदा गर्दथ्यो । किनकि उनीहरूमा अन्धराष्ट्रियतावाद र शासकवर्गहरूको अहंकार देखिन्थ्यो। अन्ततः यही झण्डामुनि जारशाही लुटेरा रूससँग मिलेका अन्य देशका जनतालाई लुट्दथे।

     

    “देशभक्ति” का ठेकेदारी “ब्ल्याक हण्ड्रेडहरू” को हातमा थियो। उनीहरू आफ्ना “देशभक्तिपूर्ण भावनाहरू” को प्रदर्शन सडकमा मजदूर, बुद्धिजीवी र युहुदीहरूलाई पिटेर गर्दथे तथा उनीहरूको विरुद्धमा दंगा गर्दथे। र, त्यसबेला आम रूपमा समाजमा निम्नस्तरका व्यक्तिहरूमध्येबाट विवेकहीन र संदेहशील मानिसहरू यही “देशभक्ति” को जामा पहिरिन्थे। जनताको दृष्टिमा “देशभक्ति” शब्द गिरिसकेको थियो। कुनै इमान्दार व्यक्तिले आफूलाई “देशभक्त” भन्न सक्दैनथ्यो।

     

    रूसमा मिलाइएका राष्ट्र हरेक कदममा रूसी अफिसरहरूले लुट्ने, चुस्ने र चिथोर्ने गर्दथे, त्यसकारण स्वाभाविक रूपमा उनीहरू रूसीहरूसँग घृणा गर्दथे। यसको विरुद्धमा सजाय दिने र कोर्राका सरदारहरूको “देशभक्ति” को विरुद्धमा, निरंकुश तानाशाहीको विरूद्धमा, प्रगतिशील आन्दोलन बढिरहेको थियो। शुरूमा प्रगतिशील शक्तिहरूको प्रतिक्रियावादको विरूद्धमा संघर्ष साहित्य, कला तथा गायनविद्याको क्षेत्रमा सामुन्ने आयो, जसमा सांकेतिक रूपले नै भए पनि विरोध प्रकट गर्न सकिन्थ्यो। समयको साथसाथै जनताको जनवादी दल पनि विस्तारैविस्तारै यो संघर्षमा आउन लागे, परिणामस्वरूप त्यसले आधिकारिक उग्र रूप धारण गर्दै गयो। यो प्रक्रिया बढ्दै गयो र यसमा निरंकुशताका अनेक विरोधी, तथाकथित सरकारी रूसका विरोधी एक हुँदै गए। साथै यो आन्दोलन जनताका असलभन्दा असल प्रतिनिधिहरूको रूपमा एक महान राष्ट्रिय सुरक्षापंक्ति पनि बन्दै गइरहेको थियो। लेखकहरू, आलोचकहरू र प्रकाशकहरूको रूपमा बुद्धिचातुर्यले पूर्ण अनेकौं व्यक्तिहरूले विभिन्न संगठनलाई लिएर अवतरित भए, जसले हाम्रो साहित्यलाई उच्चस्तरमा उठाए र त्यसको लागि विजय तथा विश्वप्रसिद्धि हासिल गरे। केवल साहित्य मात्र होइन, रूसी गायन-विद्या, कला र विज्ञान सबैले आफ्ना उदीयमान नक्षत्रहरूलाई अगाडि बढाए, जो वास्तविक अर्थमा राष्ट्रिय संस्कृतिका सच्चा देशभक्त योद्धा थिए।

     

    यी मानिसहरूले दृढतापूर्वक सरकारी “देशभक्ति” लाई अस्वीकार गरे र आफ्नो सम्मान, गौरव तथा सार्वजनिक प्रतिष्ठाको रक्षा गरे। उनीहरूको लागि आफ्ना जनताको सेवा र तिनीहरूमा सच्चा देशभक्ति जगाउनु नै सबभन्दा प्रमुख कुरा थियो। यो महान उद्देश्यको लागि उनीहरूले आफ्ना सम्पूर्ण शक्ति र योग्यता लगाइदिए। उनीहरूका युगका अन्य मानिसहरूले, उनीहरूका पुस्तापछाडिका मानिसहरूले यिनीहरूबाट नै सिके। उनीहरू तिनीहरूका आदर्शमा चले र गहिरो राष्ट्रप्रेमबाट ओतप्रोत भए। यी मानिसहरूको राष्ट्रप्रेमको कार्वाहीबाट रूसका जनताको रोमान्चकारी इतिहासका पाना भरिएका छन्। यद्यपि सरकारी रूसले उनीहरूप्रति सहानुभूति देखाएनन्, तर पनि जनताले उनीहरूलाई अत्याधिक सम्मानित गरे, उनीहरूको सदैव पूजा गरे र अगाडि पनि गरिरहनेछन्।

     

    सोभियत देशभक्तिलाई इतिहासबाट अलग गर्न सकिंदैन, किनकि सोभियत देशभक्ति हाम्रा पूर्वजहरूका रचनात्मक सफलताहरूकै सीधा परिणाम हो, जसको कारण हाम्रे विकास अगाडि बढ्यो।

     

    सोभियत जीवनले यो सत्यको जिउँदो उदाहरण पेश गर्दछ। एउटा तथ्य बनाउनु नै पर्याप्त् हुन्छ – आजका मुक्त जनता आफ्ना पौराणिक र ऐतिहासिक वीरहरूलाई उत्साहपुवर्क स्मरण गर्दछन् ! उनीहरू आफ्नो कलाद्वारा यिनीहरूको प्रदर्शन गर्दछन्। सोभियत जनतन्त्रको प्राण मस्कोमा उनीहरू आफ्नो कलात्मक प्रदर्शनी गर्दछन्, मानौं उनीहरू सोभियत समाजवादी देशका जनतालाई भन्दछन् – हेर, हामी राष्ट्रहरूको यो महान इकाईका सदस्य कसैको दयाको कारण बनेका होइनौं। हामी सन्तान वा नातेदारविहीन छैनौं। यो हेर, हाम्रो परिवार-वृक्ष छ। हामीलाई यसमा गर्व छ। र, हामी के चाहन्छौं भने मानवताका सर्वोच्च आदर्शको सुरक्षामा व्यस्त हाम्रा भाइहरू पनि हामीसँगै यो परिवार-वृक्षद्वारा आफ्ना आँखालाई कृतार्थ गर्दछन्।

     

    जस्तो कि मैले भनें, सोभियत देशभक्तिको जरो हाम्रो विगत इतिहासमा धेरै गहिरो छ। सोभियत देशभक्तिले पुरानो युगका सम्पूर्ण सफलताहरूको सुरक्षा गर्नु आफ्नो सर्वोच्च कर्तव्य ठान्दछ। हाम्रो महान मजदूर क्रान्तिले केवल भयंकर विनाश मात्र गरेन, बरू अद्वितीय रचनात्मक निर्माणको पनि जग बनायो। साथसाथै त्यो एक जबर्जस्त तूफान जसरी लाखौं मानिसहरूको दिमागमा छायो र उनीहरूलाई आत्मविश्वास र नयाँ शक्ति दियो। उनीहरू अब आफूलाई यति प्रबल ठान्दछन् कि श्रमजीवी जनताको विरुद्धमा सम्पूर्ण दुनियाँलाई हराउने सामर्थ्य उनीहरूमा छ।

     

    र, एउटा यस्तो सोभियत महाकाव्यको जन्म भयो, जसले जनताको विगत युगको कलासँग सम्बन्ध जोड्यो र साथै हाम्रो आफ्नो युगको कलासँग पनि सम्बन्ध कायम गर्‍यो। हाम्रा योग्य साहित्यकारहरू र कलाकारहरूले जनताको पछाडि रहनु हुँदैन, किनभने कहिल्यै पनि यति धेरै महान विषय उनीहरूलाई प्राप्त भएको थिएन। अहिले मात्र जनताको सेवा गर्न र जनतालाई आजका पुस्ताहरूका महान कार्यहरूको आधारमा देशभक्तिले ओतप्रोत गर्नको लागि उनीहरूसँग असीमित अवसर छ।

     

    मलाई के लाग्दछ भने सोभियत जनताको सेवाको शानदार उदाहरण मायाकोभ्स्कीमा प्राप्त हुनेछ, जसले आफूलाई क्रान्तिको सिपाही ठान्थे र जसका मौलिक रचनाहरूले उनलाई एक सच्चा सिपाही सावित गर्दछ। उनले केवल विषयतत्वलाई मात्र होइन, बरू त्यसको स्वरूपलाई पनि क्रान्तिकारी जनतासँग घुलमिल गराउने प्रयास गरे। भविष्यमा इतिहासकारले यो अवश्य भन्नेछन् कि उनका रचनाहरू त्यो महान युगका हुन्, जब मानवीय सम्बन्ध छिन्नभिन्न भइसकेका थिए। त्यसकारण मेरो के विचार छ भने भावी पुस्ताहरूलाई चुनौतीको बेलामा मायाकोभ्स्की सही थिए :

    “म आउनेछु तिमीसँग

    त्यो सुदूर कम्युनिष्ट भविष्यमा

    तर येसेनिनको काल्पनिक संसारको

    चमत्कारले भरिएका सरदारहरूको जसरी होइन।

    मेरा कविता

    युगौं-युगका शिखरमाथि पुग्नेछन्,

    कवि र सरकारहरूको छायाँभन्दा पर –

    मेरा कविता आउनेछन्,

    तर बनावटी श्रृंगारले लादिएर होइन,

    कामदेवका वाणको लयपूर्ण प्रेम-उडानको

    जसरी होइन-

    न थकित सिक्का जसरी नै

    जुन टक्सारमा आउँदछन्।

    र, ती ताराहरूको प्रकाश जसरी पनि होइन

    जो धेरै दिनदेखि निभिसकेका छन्।

    मेरा कविता,

    श्रमसँगै

    पुरानो युगको छाति चिर्दै,

    निक्लिनेछन्

    विचारपूर्ण

    चट्टान जसरी

    अनुभवलाई गम्भीरतापूर्वक लादेर

    त्यसरी नै, जसरी आज

    निक्लिन्छ पुराना नालीहरू

    जसलाई कुनै बेला रोमका चिन्हयुक्त दासहरूले

    दृढतापूर्वक बिच्छाएका थिए।”

     

    यो गर्विलो बयानमा हामी आफ्नो युग, आफ्नो पुस्ताको शानदार ध्वनि सुन्न सक्छौं, जसले एक नयाँ पद्धतिले संसारलाई बदलिरहेको छ। साथीहरू, इतिहासले हामीलाई – साम्यवादलाई पूर्ण रूपमा विजय प्राप्त गर्ने महान दायित्व सुम्पेको छ। तर यो उद्देश्यको प्राप्तिको हामीले आफ्ना सोभियत देशका सम्पूर्ण श्रमजीवीहरूलाई देशभक्तिको शिक्षा दिनुपर्दछ, ता कि उनीहरूमा स्वेदेशप्रति असीमित स्नेहको भावना संचार होस्। म हवाइप्रेमको कुरा गर्दिनँ, म प्लेटोको आदर्शवादी प्रेमको कुरा पनि गर्दिनँ । म त समर्थ, सक्रिय, वेगवान, अजेय प्रेमको कुरा गर्दछु, जसले दुश्मनप्रति दया गर्दैन र जसले देशको लागि कुनै पनि बलिदान गर्न सक्दछ। सोभियत समाजवादी देशका श्रमजीवी जनताको कम्युनिष्ट शिक्षासँग सम्बन्धित यो तेस्रो आधारभूत काम हो।

    यसको साथै म सामूहिकताको प्रश्नमाथि पनि केही भन्नु आवश्यक ठान्छु। कम्युनिष्ट शिक्षामा सामूहिकताको भावनालाई महत्त्वपूर्ण स्थान दिइनुपर्दछ भन्ने कुरा सावित गर्नु कुनै आवश्यकता छैन। म सामूहिकतालाई सिद्धान्तको रूपमा लिइरहेको छुइनँ। तर म के चाहन्छु भने उत्पादनको क्षेत्रमा, दैनिक जीवनमा, सामाजिक दुनियाँमा सामूहिकता ल्याइनुपर्दछ। म के चाहन्छु भने सामूहिकता हाम्रा आदत, हाम्रा व्यवहारका अंग बन्नुपर्दछ । त्यो केवल सोच्ने र बुझ्ने कुरा मात्र नभएर व्यवहारमा परिणत गर्न सहज स्वभावको रूपमा हाम्रो चेतनाको अभिन्न तत्व बन्नुपर्दछ। म केही उदाहरणहरू प्रस्तुत गर्दछु।

     

    तपाईंहरूमध्ये जसले पेत्रोभको “एक अमेरीकी कथा” पुस्तक पढ्नु भएको छ भने मोटरमा घुमेको बेलाका उनले भनेका केही रोचक घटना याद गर्नुहोस् त। यदि कुनै यात्रीलाई दुर्भाग्यले ठक्कर लाग्यो भने नजिकैबाट गइरहेको मोटरमा भएको व्यक्तिले अवश्य नै सहायता गर्नेछ भन्ने कुरा निश्चित छ। यस्तो स्थितिमा त्यो अमेरिकी समयको चिन्ता गर्दैन, जसको लक्ष्य नै हो कि “समय पैसा हो”। अर्थात् आवश्यक सहायता दिनुलाई सामाजिक उत्तरदायित्वको रूपमा बुझिन्छ।

     

    अर्को उदाहरण हो पुरानो रूसी गाउँको, जहाँ बाली उठाउने समयमा एउटा परिवारले अर्को परिवारसँग बाजी मार्ने कोशिस गर्दथ्यो। तर पनि बाली काट्ने समूह यदि कुनै पिछडिएकी बाली काट्ने स्त्री निकटबाट जान्थ्यो, जसको परिवार ठूलो हुन्थ्यो, र जो खेतमा सधैं जस्तै एक्लै काम गर्दथी भने उसलाई सहायता दिनु एक स्वाभाविक काम ठानिन्थ्यो।

     

    साथीहरू, एउटा सामान्य आदतको रूपमा सामूहिकताको भावनाको प्रसारको कुरा म यही अर्थमा भन्छु। पुरानो युगमा यी आदत स्वयं विकसित हुन्थे। म त मानिसहरूमा स्वेच्छाले यस्तै आदताहरूलाई विकसित गर्ने कुरा गर्दछु। सामूहिकता र देखासिखीको बीचमा पनि फरक जान्नुपर्दछ। उदाहरणको लागि पुरानो जमानामा सम्पूर्ण किसान मिलेर यदि कुनै घोडाचोरलाई पिट्थे वा बैंक टाट पल्टिदा त्यसमा पैसा राख्ने सम्पूर्ण मानिस क्रोधमा झ्याल, आदि तोड्न लाग्थे भने यस्ता काम सामूहिकता होइनन्, देखासिखीका प्रतीक हुन्। सामूहिकताको औचित्यमा पहिले विचार हुन्छ। सामूहिक भावनाले हाम्रो समाजको वास्तविक जिन्दगीमा महत्त्वपूर्ण भूमिका खेल्दछ, किनभने वास्तवमा समाज सामूहिकतामाथि नै आधारित हुन्छ। पूँजीवादी समाजको विरोध हामी सामूहिकता-साम्यवादबाट गर्दछौं, किनभने हामीलाई यो धेरै राम्रो हुने कुरामा विश्वास छ। जुन हदसम्म हामी उत्पादनमा, सार्वजनिक र व्यक्तिगत जीवनमा सामूहिक भावना समावेश गर्नमा सफल हुनेछौं, त्यही हदसम्म साम्यवादको निर्माणको गति पनि निर्धारित हुनेछ।

     

    सामूहिक श्रम नै उत्पादनको आधार हो। समाजवादी उद्योगधन्दाहरूमा यसको लागि कुनै विशेष प्रमाणको आवश्यकता पर्दैन। यो तथ्य सर्वविदित छ। जहाँ पूँजीवादी समाजमा एउटा मजदूरको श्रम उत्पादन-वस्तुमा सम्मिलित हुँदा केवल मजदूरमात्र होइन, बरू त्यो कारखाना मालिकको आँखाबाट पनि ओझेल हुन्छ, जसको एकमात्र उद्देश्य मुनाफा हुन्छ; त्यहाँ यसको विपरीत हाम्रो समाजमा हरेक मजदूरको उत्पादनमा उसको श्रम देखा पर्दछ। त्यो केवल उत्पादनको स्थानमा मात्र होइन, बरू खर्चमा र प्रयोगमा पनि देखा पर्दछ। अर्को शब्दमा, उत्पादकले आफ्नै आँखाले आफ्नो कामको फल देख्न सक्छ। तर पनि, हामी शिक्षाद्वारा उसको बुझाइलाई अझ गहिरो बनाउनुपर्दछ ताकि उसले सामूहिक श्रममा आफ्नो हिस्सा स्पष्ट रूपमा देख्न सकोस्।

     

    गाउँमा, सामूहिक खेती गरिएका गाउँमा, जहाँ अझै सामूहिक काम गर्ने करिब-करिब कुनै आदत छैन, सामूहिक भावना भर्ने कुरामा जोड दिनु विशेष रूपले आवश्यक हुन्छ। यद्यपि पहिले पनि “जनता”, “सार्वजनिक हित” जस्ता शब्द कहिलेकाहीँ गाउँका सभा, आदिमा प्रयुक्त हुन्थे, तर वास्तविक रूपमा सामूहिक भावना त्यहाँ कम हुन्थ्यो। “सार्वजनिक हित” ,”जनता”, आदि शब्द मात्र थिए, जसको पछाडि कुलाकहरू आफ्नो व्यक्तिगत व्यापारलाई अगाडि बढाउँथे।

     

    सामूहीकरणको प्रयोगपछि किसानहरूलाई धेरै समस्या भयो। उनीहरूले आफ्ना सम्पूर्ण पुराना संस्कारहरूलाई भुलेर आफ्नो मानसिक चेतनालाई विरोधी दिशामा मोड्नुपर्‍यो; आफ्नो लागि काम गर्नुको बदला अब सबैको लागि काम गर्नुपर्‍यो । यो सजिलो काम होइन। यो भावना तब पूर्णतया विकसित हुनसक्यो, जब राज्यको तर्फबाट धेरै दबाव पर्‍यो र सहायता मिल्यो।

     

    वैयक्तिक, साधारण श्रमलाई सामूहिक, उच्च सतहको र कठिन श्रमको रूपमा परिवर्तित गर्नको लागि जनतामा कैयौं धेरै महान संगठनात्मक योग्यता ल्याउनु आवश्यक हुन्छ। हो, सामूहिक खेती गर्ने किसानहरूमा वैयक्तिक सम्पत्तिका प्रवृत्तिहरूमाथि विजय गरेपछि सामूहिक आदतहरूको विकास, सामूहिक कामका तरीकाहरूलाई लागू गर्ने क्रममा एकीकृत गरिएका संगठनात्मक अनुभवहरूको एकीकरणको प्रक्रियाको समानान्तर हुन्छ।

     

    गाउँमा कम्युनिष्ट शिक्षाले यिनै अवस्थाहरूमा प्रगति गरिरहेको छ। अब केवल सामूहिकताको रटान दिनु र त्यसको लागि सामान्य प्रचार गर्नु मात्र पर्याप्त हुँदैन भन्ने कुरा स्पष्ट छ। प्रचारक अथवा शिक्षकलाई सामूहिक खेतीको व्यावहारिक लाभ प्रत्यक्ष बुझाउनुपर्दछ। यसरी सामूहिक भावना भर्नु जस्तो जटिल समस्यालाई पनि, यदि त्यसलाई प्रभावशाली बनाउने हो भने, व्यावहारिक काममा बदल्नुपर्दछ। अर्को शब्दमा, मानिसहरूमा सामूहिकताको भावना भर्नको लागि ठोस काम गर्नुपर्दछ। जब शिक्षक कुनै व्यावहारिक प्रकियालाई बुझ्छ, तब आफ्नो विचारधारात्मक विकासको लागि स्वयं नै व्यावहारिक ज्ञानले पूर्ण हुन्छ। हाम्रा प्रचारकहरूले विचार र व्यवहारको एकताको यो स्पष्ट जीवित उदाहरण बन्नुपर्दछ। कम्युनिष्ट शिक्षाको यो चौथो कुरा हो।

                                              ७ 

    कुनै पनि सकारात्मक प्रयत्नको सफलतामा संस्कृति एक निर्णायक तत्व हुन्छ। जतिसुकै धेरै कठिन र कुशल काम हुन्छ, त्यसको समाधान गर्नको लागि त्यति नै धेरै संस्कृतिको आवश्कयता पर्दछ। हाम्रो लागि संस्कृति सास लिनको लागि हावा जस्तै आवश्यक छ – संस्कृति आफ्नो व्यापक अर्थमा, अर्थात् प्रारम्भिक संस्कृति (जसको आवश्यकता सबैलाई हुन्छ) देखि तथाकथित उच्च संस्कृतिसम्म। मानिस भन्दछन् : एक धेरै सुसंस्कृत व्यक्ति।

     

    संस्कृति एउटा व्यक्तिको विकासको सतहको निश्चित निर्देशक हो। र, एउटा विकसित व्यक्तिमा आकर्षण धेरै हुन्छ, त्यसकारण केही मानिसहरू संस्कृतिको बाह्य तत्वहरूको नक्कल गर्दछन्। सामान्ततयाः यस्ता मानिसहरूको बारेमा भनिन्छ : कागले मयूरको प्वाँखले आफूलाई सजाएको छ। मेरो विचारमा यसप्रकारको वक्तव्य गलत छ। उनीहरू हाम्रो संस्कृतिको विकासको लागि हानिकारक छन्। जनसाधारण पहिले बाह्य तत्वहरूलाई नै ग्रहण गर्न शुरु गर्दछन् भन्नु आवश्यक छैन। तर यसको असर आन्तरिक संस्कृतिमाथि पनि पर्दछ।

     

    संस्कृतिको आम सतहलाई माथि उठाउने आवश्यकता अहिले नै किन विशेषगरी अनुभव गरिएको छ ? सोभियत व्यवस्थाको विगत तेइस वर्षमा हाम्रो अर्थव्यवस्था धेरै अगाडि बढेको छ। उत्पादनको प्राविधिक सतह पनि उच्च भएको छ। मेशिनहरू, मेशिनका पुर्जा पनि जटिल हुँदै गएका छन्। तिनीहरूलाई बढी ध्यानपूर्वक प्रयोग गर्नु आवश्यक छ। आज प्रत्येक उद्योगमा पहिलेभन्दा धेरै सुसंस्कृत व्यक्तिहरूको माग पाइन्छ। राजकीय संस्थाहरूको लागि पनि धेरै सुसंस्कृत व्यक्तिहरूको माग बढिरहेको छ भन्ने कुरा पनि बुझ्ने कुरा हो।

     

    आफ्नो ठाउँमा, सामूहिक खेती गरेका गाउँ पनि धेरैभन्दा धेरै सुसंस्कृत मानिसहरूको माग गर्न लागेका छन्। ट्र्याक्टर ड्राइभर, कम्बाइन्ड हार्बेस्टर चालक, मेकानिक, कृषि विशेषज्ञ तथा एनिमल हस्बेण्डरीको विशेषज्ञलाई पनि आफ्नो विशेष कामको जानकारी सँगसँगै न्यूनाधिक संस्कृतिको आवश्यकता छ। कुनै अन्य पेशा, उदाहरणको लागि घोडशालाको रक्षकलाई नै लिनुहोस्। जब एक-दुई घोडाको हेरविचारको लागि हुन्छ भने एउटा किसानको लागि तिनीहरूको हेरविचार धेरै सजिलो हुन्छ। तर जब तबेलामा २० देखि ४० सम्म घोडा हुन्छन् भने संगठनात्मक अनुभव र संस्कृतिको आवश्यकता हुन्छ। सामूहिक खेतीका सबै शाखाहरूको बारेमा पनि यही कुरा सही हुन्छ। अगाडि बढ्नको लागि हामीलाई संस्कृतिको आवश्यकता हुन्छ।

     

    यहाँ देशको सुरक्षाको आवश्यकताहरूलाई याद गर्नु पनि उचित हुन्छ। यस क्षेत्रमा संस्कृतिको आवश्यकता दिन दुइगुना रात चौगुना बढिरहेको छ। संस्कृतिको एउटा अर्थ सामूहिक र वैयक्तिक जीवनको पवित्रता पनि हो।

     

    साथीहरू, एउटा राम्रो इन्जनियरको कल्पना गर्नुहोस्, जसले आफूलाई योग्य बनाउनको लागि कठोर परिश्रम गरेको छ, जो अब एउटा कारखानामा इन्चार्ज छ र एउटा मूल्यवान कार्यकर्ता ठानिन्छ। तर जब तपाईं कारखाना पसिरहेको हुनुहुनेछ, तब उसको शैतानी गर्दन कसरी बटारिन्छ। के यही संस्कृति हो ? यदि यो इन्जिनियरले यस्तै प्रकारका कुरामा ध्यान दिन्छ भने यसको मतलब हुन्छ, ऊ प्रारम्भिक संस्कृतिभन्दा पनि हीन छ र वास्तवमा उसको ध्यान आफ्नो कारखाना, आफ्नो काममा छैन।

     

    म संस्कृतिलाई त्यसको विशद अर्थमा लिन्छु। पम्पको पानी बगिरहोस्, मस्कोका घरहरूमा उडुस नहोस्, आदि यी पनि संस्कृतिका अंग हुन्। उडुस यस्ता चीज हुन्, जसलाई सहन गर्न सकिंदैन। तिनीहरू हाम्रा लागि अपमानका चीज हुन्। यसमाथि पनि कैयौं मानिसहरू उडुसले भरिएर आफैलाई सोध्छन् – साम्यवादमा मानिस कस्तो हुनुपर्दछ, साम्यवादमा उसका विशेषताहरू कस्ता हुनुपर्दछ। यस्ता मानिसहरू छन्, जो बच्चाहरूको पालनपोषणको सम्बन्धमा लामो व्याख्या गर्दछन्, तर आफ्ना घरमा उडुसहरूलाई भरिरहन दिन्छन्। अब तपाईंहरू यसलाई के भन्नुहुन्छ ? यस्ता मानिसहरूलाई के सुसंस्कृत भन्नुपर्दछ ? यी पुराना रूसी समाजका बचेखुचेका मानिसहरू हुन्।

     

    साथीहरू, कम्युनिष्ट शिक्षासँग सम्बन्धित अनेकौं प्रश्नहरूमाथि विचार गर्न सकिन्छ; जस्तो पार्टी, ट्रेड-यूनियन, कोम्सोमोल, स्पोर्ट संगठन, विश्वविद्यालय, स्कूल, साहित्य, कला, सिनेमा, थियेटर, परिवार, आदिको भूमिकाको विषयमा। तर यी सबै प्रश्नले हामीलाई धेरै टाढा लैजान्छन् र मलाई हाम्रा विद्यमान उद्देश्यमा अत्यावश्यक ती सबै महत्त्वपूर्ण चीजहरूलाई नजरअन्दाज गर्दछौं भन्ने डर छ।

     

    साथीहरू, मलाई लाग्छ – यिनै मुख्य कुरा हुन्, जसलाई साम्यवादी शिक्षाको बारेमा विचार गर्दा हामीले विशेष ध्यान दिनुपर्दछ। यदि हाम्रो शिक्षाप्रणाली बाह्य रूपले निर्दोष भएर पनि हवाई रह्यो, अर्थात् यदि त्यो ठोस रूपले समाजवादी राज्यको विकासमा सहायक हुन सकेन भने, यस्तो शिक्षा धेरै राम्रो मजाक हुन्छ।

     

    आजको जटिल अन्तर्राष्ट्रिय स्थितिमा हाम्रा जनताले विशेषगरी सावधान, आत्मनिर्भर र धेरै सचेत रहनुपर्दछ, जसबाट हाम्रो समाजवादी राज्य कुनै पनि खतरा र आवश्यकतामा संघर्षको लागि सदैव तयार होस्। हाम्रा सम्पूर्ण जनसंगठनहरू, हाम्रा साहित्य, कला, सिनेमा, थियटर, आदिले यही कुरामा पटक-पटक जोड दिनुपर्दछ।

     

      (“कम्युनिष्ट शिक्षाको बारेमा”,सोभियत संघको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक साहित्यिक प्रकाशन गृह। )

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology