जनयुद्धको सबैभन्दा कान्छो सीसीएम थिए

  • साझा डबली
  • बुधबार, बैशाख १९, २०८१
  •  

    सर्वप्रथम कार्यक्रममा बोल्नका लागि अवसर प्रदान गर्ने आयोजक साथीहरूलाई धन्यवाद व्यक्त गर्दै तपाईहरु सबैलाई अभिबादन गर्न चाहान्छु।मलाई यो कार्यक्रममा सम्बोधन गर्नका लागि अलिकति असहज र अफ्ठ्यारो महसुस भैरहेको छ।किनका मैले बिल्ने बिषयबारे डा. महेश मास्के र बिन्दु शर्मालाई सोधेको थिए, उहाँहरुले तपाईको जीवनको संघर्षका कथा सुनाउनु पर्छ भन्नु भएको थियो।

     

    आफ्नै बारेमा बोल्ने कुरा मेरा लागि अलिकति भिन्न लाग्छ।मैले अहिलेसम्म सिकेको संस्कार, सोच र जनयुद्धको जुन पृष्ठभुमि,जहाँबाट म आए, जुन कम्युनिस्ट पार्टीमा म अहिले छु, त्यहाँ आफ्नो बारेमा आफैले भन्ने भन्दा पनि आफैले केही गरेर देखाउने र व्यबहारबाट भन्नुपर्छ भन्ने हाम्रो स्कुल हो।म त्यही स्कुलबाट आएको हु।त्यसकारण आफ्नै बारेमा कसरी भन्ने होला भन्ने लागिरहेको थियो।फेरिपनि आयोजकको अनुरोध र म यहाँ सहभागी भैसकेपछि मैले केही बोल्नैपर्छ।

     

    अहिलेको समाजमा हामी र हाम्रो भन्दा पनि म र मैले गरेको भनेर देखाउने खालको परिवेश छ। अहिले मुल्य मान्यता, आदर्श ,दर्शनलाई हेरेर धारणा बनाउने भन्दा पनि समाज ब्यक्ति केन्द्रित हुँदै गैरहेको छ।समाजमा सामुहिकता हराउदै गएको हो कि भन्ने महसुस पनि छ।म सामुहिक लक्ष्य प्राप्तिका लागि सामुहिक ढङ्गले जीउने संस्कारबाट आएको मान्छे हु, सामुहिक उत्पादन र जीवनप्रणालीमा जोड दिने हाम्रो परिपाटी हो।कुनै काम मैले गरे भन्दा पनि हामीले गर्‍यौं भन्ने हाम्रो चलन छ।

     

    म एउटा सामान्य गरिब किसान परिवारको छोरी हु।बर्गिय हिसाबले भन्दा मेरो घरपरिवारमा बर्षको दुई- तीन महिना मात्रै आफ्नो उत्पादनले खान पुग्ने खालको अवस्था थियो।जातीय हिसाबले पनि राज्यद्वारा उत्पीडनमा पारिएको अल्पसंख्यक समुदायबाट म आए।त्यस्तै लैङ्गक हिसाबले पनि मैले महिला समुदायको प्रतिनिधित्व गर्ने कुरा भैहाल्यो।यी सबै दृस्टीले हेर्दा म धेरै बिषयमा जानकार नभए पनि, समाज र राजनीतिका बृहत बिषयमा नबुझेको भए पनि समाजमा धनी र गरिबबीचको जुन भेद र अन्तर थियो, त्यो मैले स्वयम् आफ्नो परिवार भित्रबाट अनुभुती गरिरहेको थिए।

     

    मेरो परिवारमा असाध्यै कडा परिश्रम गरेर पनि खान नपुग्ने, अफ्ठ्यारो झेल्नुपर्ने , दुख कष्ट झेल्नुपर्ने परिस्थिति मैले देखिरहेको थिए।साहुबाट रिण लिएर चलाउनु पर्ने मेरो पारिवारिक अवस्था थियो।यसले मेरो बाल्यकालमा नै समाजमा हुने र नहुने दुबै खालका मानिसहरू हुँदारहेछ्न, यो के कारणले हुदोरहेछ भन्ने लागिरहन्थ्यो।महिला माथी पनि त्यस्ता थुप्रै बिभेदहरु थिए।समाजमा शोषणका अनेक रुपहरु थिए।महिला र पुरुषको भुमिका बराबर भएपनि समाजले त्यो हैसियत दिएको थिएन, त्यहा असमानता र बिभेदहरु थिए।

     

    यी कुराहरूले मलाई राजनीति आन्दोलनको यात्रातर्फ मोड्न प्रेरित गरेको थियो।तर मेरो परिवार बर्गिय, जातीय र आर्थिक हिसाबले उत्पीडनमा भएपनि राजनीति हिसाबले कम्युनिस्ट प्रभाव र सचेत परिवार थियो।म सानै उमेर देखि मेरा आमा, बुवा र दाइहरुको राजनीति आस्थाबाट प्रभावित हुन पुगे।यसले मेरो स्कुले जीवनदेखी नै संगठित हुन सहजता प्रदान गर्‍यो।समाजमा जुन खालेको स्थिति थियो, त्यसरी नै स्कुलमा पनि कम्युनिस्ट र काङ्ग्रेसमा बिभाजनको अवस्था देखिन्थ्यो ।एकप्रकारले भन्दा स्कुलमा पनि दमन र शोषणको अवस्था थियो।यसले समेत मलाई क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा लाग्न थप प्रेरित गर्‍यो। गोरखा क्याम्पस पढ्दै गर्दा नेपालमा माओवादी जनयुद्ध शुरु हुन पुग्यो र जनयुद्धको प्रारम्भबाटै मलाई सहभागी हुने अवसर प्राप्त भयो।जनयुद्धमा सहभागी हुनु अघि म स्ववियु सदस्यमा समेत निर्वाचित भैसकेकी थिए।यद्यपि मेरो उमेर पुगि नसकेकोले पार्टी सदस्यता पाएको थिएन।तर विद्यार्थी राजनीतिमा जिल्लाको नेतृत्व गर्ने स्तरमा म आइसकेको थिए ,त्यो बेला।

     

    जनयुद्ध शुरुआत भएकै बेलादेखि म पूर्णकालिन कार्यकर्ताको रूपमा पार्टी काममा लागे।जनयुद्धका थुप्रै अफ्ठ्याराहरु झेलेका अनुभव छन। समाजमा रहेको बर्गिय र लैङ्गिक उत्पीडन जुन छ ,त्यसको अन्त्य माओवादीले परिकल्पना गरेको जनवादी -समाजवादी व्यवस्थाबाट मात्रै संभव हुन्छ भन्ने बिश्वास थियो।माओवादीले ल्याउने राज्यसत्ताले मात्रै महिलालाई बराबरीको अधिकार दिन्छ र धनी र गरिब बीचको खाडल मेटिन्छ भन्ने लागेको थियो।त्यसमा म बिश्वस्त थिए।जनयुद्धमा को- कति बेला मारिने हो, को बेपत्ता हुने हो भन्ने थाहै हुन्थेन तर मलाई यसबारे कहिल्यै र कुनै चिन्ता भएन ।जनयुद्धमा लाग्नु अघि नै हामीले कि मुक्ति कि मृत्यु भनेर प्रतिबद्धता गरिसकेका थियौं ।यस्तो निकै डरलाग्दो बेलामा पनि जहिल्यै आफ्नो जिम्मेवारी र पार्टीको आदेशलाई कसरी पूरा गर्ने भन्ने मात्रै सोचिन्थ्यो।

     

    म आफ्नो जीवनको सानै उमेरदेखि जनमुक्ति सेनामा सहभागी भए।त्योबेला सरकारी सेनाप्रहरीमा महिलाहरुलाई लिइन्थेन।महिलाहरु पनि लड्न सक्छन् भन्ने कुराको चेतना र बिश्वास न समाजलाई थियो न राज्यलाई ।महिलालाई दोस्रो दर्जाको रूपमा हेर्ने परिपाटी थियो।जनमुक्ति सेनामा सदस्यबाट शुरुआत भएको मेरो यात्रामा ब्रिगेड कमिसारसम्मको जिम्मेवारीमा पुगे।त्यो जनमुक्ति सेनाको माथिल्लो दर्जा थियो।लडाइमा जादा किल्लाबन्दी के छ, कस्तो छ, भन्ने कैयौं कुराको थाहै हुन्थेन तर पनि बिचार, मनोबल र प्रतिबद्धताले हामी लडाइमा बिजय हुन्थ्यौ।त्यसक्रममा महिलाहरु मोर्चाको अग्रभागमा रहेर लडेका उदाहरण छ्न।यसले समाजका अफ्ठ्यारा भनिएका कामहरूमा पनि महिलाहरुले श्रेष्ठता कायम गर्न सक्छन् भन्नेकुरा प्रमाणित गरिदिएको थियो।

     

    यसक्रममा माओवादी जनयुद्ध तीव्रतामा किन अगाडि बढ्यो भन्ने बारे तत्कालीन राज्य लगायत विभिन्न क्षेत्रबाट अध्ययन भयो र उनीहरु यसको पछाडि महिला सहभागिता महत्त्वपूर्ण कारण हो भन्ने निष्कर्षमा पुगेका थिए।युद्दमा महिलाहरुले धैर्यता, दृढता, गोपनियता जस्ता मामलामा निकै राम्रो काम गरेका थिए।यसले महिलाबारे परम्परागत मान्यता र समाजिक अवधारणालाई समेत उल्ट्याइदियो।जनसेनामा महिलाहरुको तर्फबाट सबैभन्दा बढी समय रहेर काम गर्ने मध्ये म थिए।त्यसमा मलाई गर्व छ।दर्जनौं लडाइमा सहभागी भएको छु।आफ्नै अगाडि- पछाडिका साथीहरू मैदानमा लडेको बेला हामीले विवेक र सहासको बलमा जिम्मेवारी सम्हालेका थियौं ।अहिलेसम्म आउँदा पूर्वको केही भाग र सुदुरपश्चिमको केही भाग बाहेका देशका सबै क्षेत्रमा संगठनको जिम्मेवारी लिएर भूगोल र नेतृत्वमा रहेर काम गरेको अनुभव छ।त्यो अवसर हाम्रो पार्टी र पार्टीले लिएको बिचारले प्राप्त गरेको जस्तो लाग्छ।

     

    जतिबेला म गोरखामा जेल परे, त्यो बेला स्क्वायडको कमान्डरको जिम्मेवारीमा थिए।एउटा कामको सिलसिलामा जाँदै गर्दा म लगायतका साथीहरू गिरफ्तार भएका थियौं र करिब ४ महिनाको हिरासत बसाइपछि हामीलाई जेल चलान गरिएको थियो।हामीलाई राज्यले मार्न नै खोजेको थियो तर हाम्रो गिरफ्तारी भएको कुरा एक्सपोज भैसकेपछी राज्यले मार्न सकेन।हिरासतमा चरम यातना दिइयो,त्यतिबेला देखि नै कुनैपनि हालतमा बाहिर निस्किनु पर्छ भन्ने कुरा मनमा खेलिरहन्थ्यो।कैयौं पटक भाग्नका लागि प्रयास पनि गरे तर त्यो संभव भएन।

     

    जेलमा हामी ५ जना साथी जम्मा भैसकेपछि अब सुरुङ खनेर जानुपर्छ भन्ने योजना बनायौ।गोरखा जेला राज्यका लागि निकै सुरक्षित र हाम्रा लागि निकै प्रतिकुल ठाउँ थियो।तर जतिसुकै प्रतिकुल भए पनि कुनैपनि हालतमा निस्किनु पर्छ भन्ने सोच्यौ।सुरुङ खन्नका लागि हामीसङ्ग कुनै साधन पनि थिएन।मानिसहरूलाई जेलको भित्र भागबाट सुरुङ खनेको हो कि जस्तो लाग्छ तर त्यस्तो होइन हामीले दिउसो, त्यो पनि बाहिरबाट खनेर योजना सफल गरेका थियौं ।अन्तिम दिनमा मात्रै ट्वाइलेटको रड झिकेर हामी निस्किएका थियौ ।त्यो बेला धेरै अफ्ठ्याराहरु आए तर हामी निस्किएरै छोड्यौ।यो घटनाले मान्छेले चाहने हो भने सबै कुरा संभव छ भन्ने कुरालाई नै पुष्टि गर्छ।इच्छाशक्ति हुने हो भने दुनियाँमा सब सकिन्छ भन्ने लाग्छ ।अफ्ठ्यारो र जटिलता पार नगरेर त सफल नै हुन सकिन्न।सुरुङ खनेर निस्किने निर्णय लिदा कि त हामी बाहिरको खुला संसारमा जान्छौं कि त यतै बलिदान दिन्छौ भन्ने प्रतिबद्धता गरेका थियौं ।त्यो अठोटले नै हामी सफल भएका थियौं ।

     

    महिलाहरुको काम भात पकाउने र दास हुने मात्रै होइन आवश्यक पर्दा समाजका हरेक काममा श्रेष्ठता प्रदर्शन गर्ने पनि हो भन्ने बुझ्न जरुरी छ।अहिले पुँजीवादले महिलालाई बिज्ञापनको साधन र माध्यममा परिणत गरेको छ, यो भास्यलाई बदल्नु पर्छ।

     

    म माओवादी जनयुद्धमा २४ बर्षको उमेरमा केन्द्रिय समितिमा पुगेको सबै भन्दा कान्छो व्यक्ति थिए।मैले पार्टीले दिएको जिम्मेवारी जहिल्यै कम नहोस् भन्ने कुरामा ख्याल गर्दै आएको जस्तो लाग्छ ।माओवादी जनयुद्धमा महिला लगायत उत्पीडित जनताको ठुलो सहभागिता भएको थियो।नेपालको इतिहासमा जनयुद्ध बिशिस्ट कुरा थियो।यस्तो इतिहास बिगतमा पनि थिएन, अब हुन्छ, हुन्न त्यो पनि भन्न सकिन्न।जनयुद्धलाई मानिसहरूले सतही रूपमा बुझेको पनि देख्छु तर त्यो सही बुझाइ होइन।हो, अहिले जनयुद्धमा जे आदर्श थियो त्यो पूरा हुन सकेन।यसले गर्दा कैयौं योद्दाहरुमा ओ हो! बाँचेर ठिकै भएछ, मरेको भए त के हुन्थ्यो है भन्ने जस्तो भएको छ। यो आन्दोलन बिजयमा पुग्न नसक्दाको परिणाम र मनोबिज्ञान हो।

     

    जनयुद्ध निकै कठोर र महान थियो।केही मान्छेहरूले भने जस्तो के सजिलै गणतन्त्र आएको हो र ? के सजिलै राजतन्त्र ढलेको हो र ? हामीले सोच्नै पर्छ ।यी राजनीतिक उपलब्धिहरु त्यत्तिकै आएका होइनन् ।राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना हुनुमा जनयुद्ध मुख्य कुरा थियो।संविधानमा जे हुनुपर्थ्यो, जति हुनु पर्थ्यो त्यो भएको छैन तर जे अधिकार महिला, जनजाति लगायत जनताले पाएका छन ती जनयुद्धले गर्दा नै भएका हुन् ।हजारौं योद्धाहरु सहिद भएका छन् , सयौं बेपत्ता छन घाइते , अपाङ्ग र जेल हिरासत मोर्चाका तमाम गाथा र कथाहरू छ्न ,तीनको चर्चा हुन बाकी नै छ।

     

    १२ बुदे समझदारी पछि माओवादी पार्टी शान्ति प्रक्रियामा आयो।त्यो बेला अन्तरिम व्यवस्थापिका बनेको थियो र म त्यसको सदस्य पनि भए।पछि संविधानसभाको सदस्यको रूपमा पनि मैले काम गरे।संविधानसभाले जनताको अपेक्षा पूरा गर्ने गरि काम गर्न सकेन।हामी संविधानसभामा गैसकेपछी जनताले हामीलाई सत्तामा गएको अर्थमा बुझेका थिए तर हामी त्यस्तो अवस्थामा थिएनौं ।त्यो बेला माओवादीले अरुभन्दा राम्रो गर्न सक्थ्यो, गर्नुपनी पर्थ्यो,त्यो हुन सकेन।त्यसपछि माओवादी आन्दोलनमा बिभाजनको स्थिति पैदा भयो। त्यसपछि हामी एकीकृत क्रान्ति मार्फत नेपालको अधुरो क्रान्तिलाई पुर्णता दिने यात्रामा छौं ।हिजो जुन उदेश्य र आदर्शका लागि लडेका थियौं, त्यो पूरा भएको छैन र त्यसका लागि हामी निरन्तर लडिरहने छौँ ।

     

    (२०८१ बैशाख १५ गते रास्ट्रीय सभागृह, काठमाडौमा `महिला संघर्षका कथा´ शीर्षकमा आयोजित कार्यक्रममा उमा सी शिलुद्वारा व्यक्त मन्तव्यको सम्पादित अंश)

    जनपत्रीका डटकमबाट साभार

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology