प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

  • साझा डबली
  • आइतवार, कार्तिक १०, २०७६
  • काठमाडौं, कार्तिक १०। प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औं शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कदै हुनुहुन्छ ।

    प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल अजरबैजानको राजधानी बाकुबाट कतार एयरको नियमित उडानमार्फत आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ ।
    असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम सरकार प्रमुखहरूको १८ औं शिखर सम्मेलनले शनिबार ३१ बुँदै घोषणा पत्र जारी गरेको छ ।

    घोषणापत्रमा दिगो शान्ति, एकता तथा समन्वय बलियो बनाउन मुलुकहरुबीच दुईपक्षीय राजनीतिक वार्ता, आपसी समझदारी तथा सहयोगका आधारमा शान्ति तथा विश्वास प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय समुदायको प्रयासलाई परिचालन गर्ने उपायका रुपमा सन् २०२१ लाई ‘अन्तर्राष्ट्रिय शान्ति तथा विश्वासको वर्ष’का रुपमा मनाई मुलुकहरुबीच शान्तिको संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।

    बाकु सम्मेलन केन्द्रमा आयोजित सम्मेलनमा १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक सङ्गठनका प्रतिनिधिको सहभागि थिए । घोषणापत्रमा अन्तर्राष्ट्रियरुपमा युद्धको विरोध गर्न र शान्तिलाई समर्थन गर्ने आन्दोलनको स्थिति तथा भूमिकालाई विस्तार गर्ने उद्देश्य राखिएको छ ।

    घोषणापत्रमा विकासशील मुलुकको अभिरुचिलाई अगाडि बढाउन, न्याय तथा सबै मुलुकको समान सहभागितामा आधारित उचित, समावेशी, पारदर्शी, तथा प्रभाकारी विश्व सञ्चालन प्रणाली निर्माण गर्न, विश्वव्यापी सुरक्षाका चुनौती, सशस्त्र द्वन्द्व, वातावरणीय समस्या, मौसम परिवर्तन, सङ्क्रमणकारी रोग, अति गरीबीका साथै वर्तमान समस्यालाई सम्बोधन गर्न सदस्य मुलुकहरुबीच थप समन्वय गर्ने उद्देश्य राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology