आज लक्ष्मी जयन्ती, महाकवि देवकोटाको सम्झना

  • साझा डबली
  • आइतवार, कार्तिक १०, २०७६
  • काठमाडौं, कार्तिक १०। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्नि साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

    वि.सं. १९६६ कात्तिक कृष्ण औंसी, लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो । दश वर्षको उमेरबाट साहित्य रचना सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् । नेपाली साहित्यमा स्वच्छन्तावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् ।

    देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटाको प्रतिभाको उच्च मूल्याङ्कन गर्दै भारतका महाकवि सुमित्रानन्द पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको समष्टिरुपसँग तुलना गर्नुभएको थियो । नेपाली नाट्यसम्राट बालकृष्ण समले मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै देवकोटाको तीनपटक जन्म भएको अभिव्यक्ति दिनुभएको थियो ।

    नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँको महत्वपूर्ण योगदान रही आएको छ ।

    तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने देवकोटामा तुरुन्त कविता रचना गर्नसक्ने अद्भुत क्षमता थियो । उहाँको खण्डकाव्य मुनामदनले नेपालमा धेरै बिक्री भएका साहित्यिक कृतिहरूको सूचीमा अग्र स्थान बनाएको कीर्तिमान अहिले पनि कायमै छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology