राष्ट्रपति भण्डारी आज म्यान्मारको राजकीय भ्रमणमा निस्किँदै

  • साझा डबली
  • बुधबार, अशोज २९, २०७६
  • काठमाडौँ, असोज २९। राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आज म्यान्मार जाँदै छिन्।

    भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    राष्ट्रपति भण्डारीसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्ने छन्। राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्मारली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्ने छन्।

    म्यान्मारमा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ। यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्ने छिन्।

    राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयले जानकारी दिएको छ। उनी राजकीय भ्रमण सकेर कात्तिक ३ गते स्वदेश फर्किने कार्यसूची छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology