आज कोजाग्रत पूर्णिमा महालक्ष्मीको पूजा गरिदैँ, आकाशदीप दान शुरु

  • साझा डबली
  • आइतवार, अशोज २६, २०७६
  • काठमाडौं, असोज २६। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।

    आश्विन शुक्ल प्रतिपदाका दिन शुरु भएको दुर्गा पक्ष आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

    आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको हो ।

    माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

    यसैगरी सौभाग्य, सम्पत्ति, श्रेयप्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ ।

    आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology