सीको उच्चस्तरीय भेटवार्ता जारी, आजै नेपाल-चीनबीच विभिन्न सम्झौता हुँदै

  • साझा डबली
  • आइतवार, अशोज २६, २०७६
  • काठमाडौं, असोज २६। नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनपिकङले आज पनि उच्चस्तरीय भेटवार्ता जारी राखेका छन । उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेट्दै छन ।

    आजै विभिन्न सम्झौताहरु पनि हुँदैछन । नेपाल र चीनबीच हुने उच्चस्तरीय भेटवार्तामा मुख्यतः नौ वटा एजेन्डामा समझदारी वा सम्झौता हुनेछ । राष्ट्रपति सीको उपिस्थतिमा दुई देशबीच समझदारी वा सम्झौतामा हस्ताक्षर हुनेछ ।

    के हुन् त, मूख्य प्राथमिकतामा रहेका एजेण्डा ?

    मूख्य बुँदामा नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई पहिलो प्राथमिकतामा राखेको छ । काठमाडौं–केरुङ रेलमार्गबारे नयाँ घोषणा हुन सक्ने सरकारी स्रोतहरूले बताएका छन् । चिनियाँ लगानीमा रेलमार्गको सम्भाव्यता अध्ययनको घोषणा गर्ने तयारी छ । यसमा पहिलो चरणमा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर सकिएर काम शुरु भएपछि दोस्रो चरणमा काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको काम थाल्ने विषय समावेश रहेको जनाइएको छ ।
    अर्को एजेन्डा छ– मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना ।

    त्यसपछि तत्काल तातोपानी, रसुवागढी, कोरला, किमाथाङ्का र लोमान्थाङ लगायतका सीमा नाकामा सुरक्षाका लागि स्तरोन्नतीको काम गर्ने विषय छलफलको एजेन्डा छ ।
    चौथो एजेन्डामा चिनियाँ सहयोगमा तमोरखोला जलविद्युत आयोजना निर्माणको विषय छ ।

    नेपाल–चीन प्रतिनिधिमण्डलबीचको भेटवार्तामा पाचौँ एजेन्डा छ९ हिमालय सीमापार विद्युतीय प्रशारण लाइन निर्माणको विषय ।
    रसुवागढी–काठमाडौं २७ किलोमिटर सुरुङ मार्ग निर्माण र बाहिरि चक्रपथको साटो धुलिखेल खासा–कोदारी सडक विस्तार पनि सम्झौताको विषय छ ।

    रसुवागढी–छहरे–काठमाडौं सुरुङ मार्गको भने प्रारम्भिक अध्ययन भइसकेको छ । निर्माणका लागि चिनियाँ कम्पनीले इच्छा देखाएका छन् । यो सडक बनेमा काठमाडौंबाट चिनियाँ सीमा क्षेत्र केरुङ एक घन्टा आसपासको दुरीमा समेटिनेछ ।

    आठौं एजेण्डामा मुस्ताङ लगायत पहाडी जिल्लामा एकिकृत बस्ती निर्माण गर्ने विषय छ ।

    चिनियाँ सहयोगमा झापामा औद्योगिक पार्क निर्माणलाई उच्चस्तरीय दुई पक्षीय भेटवार्ताको नवौं एजेन्डा बनाइएको छ ।

    यीबाहेक नेपालको बुटवल उपमहानगरपालिका र राष्ट्रपति सी जिनपिङको जन्म नगर चीनको सियानबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्यसूची छ । यो विषय यसै हप्ता बसेको मन्त्रिपरिषद बैठकले पारित गरिसकेको छ ।

    यसबाहेक प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको १५ बुँदे समझदारी वा सम्झौतालाई कार्यान्वयनमा ल्याउने विषय पनि चिनियाँ राष्ट्रपतिको भ्रमणका एजेन्डा छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology