आज नेपालीहरूको महान चाड विजयादशमी, १०ः३५ बजे टीकाको शुभ साइत

  • साझा डबली
  • मङ्लबार, अशोज २१, २०७६
  • काठमाडौं, असोज २१। दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

    आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ । टीका, प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः३५ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

    विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए । मङ्गलबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनु पर्छ । टीका लगाई दिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए ।

    आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ । घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

    त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

    आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंंड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ । आश्विन शुक्ल प्रतिपदामा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा सहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ ।

    सोह्र सामग्रीले भगवती दुर्गा अरू देवीहरू तथा देवताको पूजा गरी नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनेर यसलाई पुरा गर्न तामाको थालिमा चन्दनले अष्टदल लेखी त्यसका बिचमा माटाका देवीका तिन प्रतिमा वा राता अक्षतामा तीन थुप्रा राखी बिचमा अपराजिता देवी दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामग्रीले पूजा गरी हवन गरिन्छ । साथै जमरालाई पूजा गरी भगवती दुर्गा, अन्य देवीदेवताहरूलाई चढाई आरती र पुष्पाञ्जली समेत गरिन्छ ।

    यति गर्नाले कसैले पनि आफू माथि दमन गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसमाथि चन्दन, अक्षता, फूल छर्कदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवीहरूलाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछ । मन्त्र –

    आह्वानम् नजानामि, नजानामि विसर्जनम् ।’
    पूजा चैव नजानामि क्षम्यता परमेश्वरी ।

    यसपछि देवीका मुर्तिहरूलाई बाजागाजा या वैदिक मन्त्र पढी जलाशयमा लगेर सेलाई त्यसपछि घडाको जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रुपमा घाँटीमा लगाइन्छ । अनि घरका मुलमान्छेले भगवतीको प्रसाद स्वरुप अबिर र दहीमा मुछेका चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद लिने वा दिने गरिन्छ ।

    दसैँमा नवीन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ । यस दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म परिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंका लागि तयार पारी राखिएको नयाँ लुगा लगाई टीका लगाउन जाने परम्परा रहेको छ । यस समयमा पुरूषलाई टीका लगाउँदा यसरी आशिष दिइन्छः

    आयुद्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राधवे ।
    ऐश्वर्य नहुषे गतिश्च पवने मानंच दुर्योधने ।।
    दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तीसुते ।
    विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

    अर्थात् द्रणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।

    त्यसैगरी दशैँको टीका लगाउँदा स्त्रीलाई यसरी आशिष दिइन्छः

    ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
    दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्तुते ।
    जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणी
    जय सर्वगते देवी कालरात्रि नमस्तुते ।

    अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन् जो हरेक अन्धकारको निदान गर्न सक्दछिन् । समयको पाबन्दिभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँदछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी१ यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं भनी मान्यवरबाट आशीर्वाद ग्रहण गरिन्छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology