आज महानवमी, सिद्धिदात्री भगवतीको पूजाअर्चना गरिंदै

  • साझा डबली
  • सोमवार, अशोज २०, २०७६
  • काठमाडाैं, असोज २० । बडादशैंको नवौं दिन आज घर–घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ।पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने धार्मिक विश्वास छ। भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ। सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ। भारत हिमाचलको नन्दा पर्वतमा सिद्धिदात्रीको प्रसिद्ध तीर्थस्थल पनि छ।

    दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने गरिन्छ। चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेको दिनका रूपमा पनि महानवमीलाई लिइन्छ। भगवान श्रीरामले रावणको बध गर्ने शक्ति प्राप्त गर्न नौ दिनसम्म दुर्गा भवानीको आराधना गरेको रामायणमा वणिर्त छ। काठमाडौं हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणलाई दर्शनका लागि वर्षमा एक दिन आज मात्र खोलिन्छ। हनुमानढोका दरबारका साथै सेनाका ब्यारेकहरूमा बाजागाजासहित बलि दिएर जंगी निशान र कोत पूजा गर्ने चलन पनि छ। सिद्धिदात्री मन्त्र –

    रूपं देहि जयं देहि यशो देहि भगवति देहि मे।
    पुत्रान् देहि धनं देहि सर्वकामाश्चं देहि मे।

    यसैगरी यस दिन महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । आजैका दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बली दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । देवीको पूजाअर्चनाका लागि देवी मन्त्र –

    या देवी सर्वभूतेषु मां सिद्धिदात्री रूपेण संस्थिता।
    नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस्।।

    यस दिन देवीको पूजाका अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । कन्या पूजाका बारेमा यस्तो धारणा रहिआएको छ – “दस वर्षभन्दा बढी उमेर भएकी कन्या रजस्वला हुने हुँदा पुज्नु हुँदैन । चढाएको फल आदि खान र चन्दन आदि बास्नाको स्वाद लिन नजान्ने, एक वर्षकी कन्या पनि पुज्नु हुँदैन ।” देवीका शक्ति पिठहरूमा भक्तजनहरूको घुइँचो यस दिन पनि रहन्छ । काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology