चिनियाँ राष्ट्रपति सीको स्वागतमा तीव्र तयारी

  • साझा डबली
  • शनिबार, अशोज १८, २०७६
  • काठमाडौं, असोज १८। यसै महिनाको अन्त्यमा हुन गइरहेको चीनका राष्ट्रपति सी जिनपिङको औपचारिक नेपाल भ्रमणको व्यापक तयारी भएको छ ।

    सरकारको विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायमा यतिबेला राष्ट्रपति सी भ्रमणको तयारीको चटारो छ । नेपालीको महान् पर्व बडादशैँको अवधि भए पनि यस पर्वको अघि र पछि तयारी अवस्थामा बस्न कर्मचारीलाई निर्देशन दिइएको छ ।

    “चीनका राष्ट्रपतिको आसन्न भ्रमणको सरकारले तीव्र तयारी गरिरहेको छ,” प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भन्नुभयो, “सबै तहबाट उच्चस्तरीय भ्रमणलाई उच्च बनाउने प्रयास भइरहेको छ ।” उहाँका अनुसार चीनका राष्ट्रपति सीको औपचारिक भ्रमणको मिति सार्वजनिक नभए पनि भ्रमण तय भएकाले सोहीअनुसार नेपाल सरकारले आफ्नो तयारी गरिरहेको छ ।

    उच्चस्तरीय भ्रमणका लागि हुने सहमतिका कार्यसूचीबारे भने थप छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो । द्विपक्षीय सम्बन्धलाई मर्यादित, प्रभावकारी र नेपालका लागि फलदायी बनाउन परराष्ट्र मन्त्रालयले छुट्टै तयारी गरिरहेको छ ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना मन्त्रालयका सम्बन्धित महाशाखा र पदाधिकारीलाई भ्रमण सफल बनाउन चनाखो रहेर काम गर्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । दुई देशको सम्बन्ध मात्र हैन, विश्वकै आँखा परेको चीनका राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न कुनै कसर बाँकी नराख्ने गरी तयारी गर्नुपर्नेमा मन्त्री ज्ञवालीको जोड रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका शिष्टाचार महापाल ९चिफ अफ प्रोटोकल० गेहेन्द्र राजभण्डारीले युद्धस्तरमा तयारी चलिरहेको जानकारी दिनुभयो । “चीनका राष्ट्रपति सीको स्वागतका लागि सबै नेपाली तम्तयार भएझैँ हामी पनि आफ्नो तर्फबाट गर्नुपर्ने सबै तयारीमा जुटेका छौँ,” उहाँले थप्नुभयो, “स्वागत सत्कारदेखि मर्यादापालनका हरेक अवयव चुस्त बनाउन लागि परेका छौँ ।”

    यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकासित छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology