नेकपाले सभामुख नछाड्ने, तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी

  • साझा डबली
  • शुक्रबार, अशोज १७, २०७६
  • काठमाडाैं, असोज १७।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख पद नछोड्ने भएको छ । कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ ।

    ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन ।’

    संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पहिल्यै एक पद छोड्नु पर्नेमा नेकपाले अनेक बहाना गरेको आरोप लगाउँछन् । ‘सभामुख वा उपसभामुखमध्ये उहाँहरूले एक पद पहिल्यै छोडनु पथ्र्यो,’ अधिकारी भन्छन्, ‘त्यतिबेला अनेक बहाना बनाउनु भयो । अब पनि बहाना बनाउनु भयो भने संविधानमाथि आक्रमण हुन्छ ।’

    प्रतिनिधिसभाको निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख र तत्कालीन एमालेबाट तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए । तर दुवै पार्टी एकतापछि एकै दलको सभामुख र उपसभामुख बनेको भन्दै कांग्रेसले विरोध जनाएको थियो। नेकपाले कुनै एक पद नछोडेपछि त्यससम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

    उपसभामुखको राजीनामाबारे अन्योल

    सभामुख पद रिक्त रहेकाले उपसभामुखले कसलाई राजीनामा दिने भन्ने अन्योल छ । संविधानमा सभामुख र उपसभामुखले पदबाट राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था रहे पनि दुवैले कसलाई राजीनामा दिने भन्नेमा मौन छ ।

    प्रतिनिधिसभा नियमावलीले सभामुखले उपसभामुखलाई र उपसभामुखले सभामुखलाई सम्बोधन गरेर आफ्नो पदबाट लिखित राजीनामा दिन सक्ने व्यवस्था गरेको छ । नियमावलीको नियम २११ को (१) मा सभामुखले उपसभामुखलाई सम्बोधन गरी पदबाट राजीनामा दिन सक्ने व्यवस्था छ । उपसभामुख वा कुनै सदस्यले पदबाट राजीनामा दिँदा सभामुखलाई सम्बोधन गर्नुपर्ने हुन्छ ।

    पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ उपसभामुखले राजीनामा दिँदा ‘सभामुखलाई सम्बोधन’ गरेर दिन सक्ने तर्क गर्छन् । ‘सभामुखलाई नभई सभामुखलाई सम्बोधन गरेर राजीनामा दिने व्यवस्था नियमावलीमा छ,’ नेम्वाङको तर्क छ, ‘सभामुख नभएको अवस्थामा उपसभामुखलाई राजीनामा दिन केहीले पनि रोक्दैन ।’

    नियमावलीको नियम २११ को उपनियम २ मा सभामुख वा उपसभामुखमध्ये जसले राजीनामा दिए पनि बैठकको अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउने व्यवस्था गरेको छ । ‘दुवै जनाले राजीनामा दिए बैठकको ज्येष्ठ अध्यक्षले बैठकमा सुनाउन सक्ने कुरालाई हेक्का राखेर नियमावलीमा यस्तो व्यवस्था गरिएको नेम्वाङको तर्क छ ।’

    सांसद अधिकारी संविधान तोडमोड नगरेर ‘पोलिटिकल सेटलमेन्ट’ गर्नुपर्ने बताउँछन् । ‘उपसभामुखले म पदमा बस्दिनँ भन्नुभयो भने राजीनामा गर्न सक्नुहुन्छ,’ अधिकारी भन्छन्, ‘तर संविधान तोडमोड गर्नेतर्फ नलागौं ।’

    सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र एक जना महिला हुनैपर्ने संवैधानिक बाध्यताका कारण नेकपाले उपसभामुखबाट तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पद नछोडने संकेत गरेको हो ।
    यस्तो छ अभ्यास
    नयाँ संविधान जारी भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले एकापसमा राजीनामा साटासाट गरे। सभामुखले उपसभामुख र उपसभामुखले सभामुख समक्ष राजीनामा दिने संसद् नियमावलीको व्यवस्थाअनुसार एकै साथ दुवै जनाले राजीनामा साटासाट गरेका कारण त्यतिबेला राजीनामाको प्रक्रिया विवादमा परेन ।

    दुवै जनाले राजीनामा दिएपछि ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरे । संसद् सचिवालयले सभामुख र उपसभामुखको नयाँ प्रक्रिया शुरु गर्‍यो ।

    -अन्नपूर्ण पोष्ट

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology