राजपा न महाधिवेशन न एकीकरण

  • साझा डबली
  • मङ्लबार, अशोज १४, २०७६
  • काठमाडौं, असोज १४। समाजवादी पार्टीसँग एकीकरण नभए कात्तिक मसान्त भित्र राष्ट्रिय जनता पार्टी नेपालले महाधिवेशन गर्नु पर्छ। कात्तिक २८, २९ र ३० गते राजपाको महाधिवेशनको तिथी तय गरिएको छ । तर महाधिवशनको तयारी हेर्दा कात्तिक मसान्तभित्र राजपाको महाधिवेशन हुने स्थिति छैन।

    यसअघि दुई पटक राजपाको महाधिवेशन सरेको छ। राजपाका अध्यक्ष मण्डलका ६ सदस्यमध्ये ४ सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र शरतसिंह भण्डारी महाधिवेशनको तयारी भन्दा पार्टी एकीकरणतीर लागेका छन्। जसबाट राजपाको महाधिवेशनको तयारी शून्य अबस्थामा छ।

    कात्तिक मसान्तसम्म समाजवादी पार्टीसँग पार्टी एकीकरण हुने सम्भावना पनि घट्दै गएको छ। पार्टी एकीकरण भए एकीकृत पार्टीको मयार्दाक्रममा अध्यक्ष मण्डलको पहिलो अध्यक्षमा कसलाई राख्ने भन्ने विषयमा राजपा र समाजवादी पार्टीवीच कुरा मिल्न नसकेको समाजवादी पार्टीका नेताहरु बताउछन्।

    राजपाका नेताहरु भने अध्यक्ष मण्डलमा मयार्दाक्रममा पहिलो अध्यक्षमा महन्थ ठाकुरलाई राख्न समाजवादी पार्टीका नेताहरु सहमत भएको दावी गर्छन्। राजपाका एक नेता भन्छन, एकीकृत पार्टीमा ४ सदस्यीय अध्यक्ष मण्डल बनाउने, जसमा पहिलो अध्यक्ष ठाकुर, दोश्रोमा बाबुराम भट्टराई, तेश्रोमा उपेन्द्र यादव र चौथोमा राजेन्द्र महतोलाई राख्ने सहमति भइसकेको छ।’

    समाजवादी पार्टीका एक पदाधिकारीले भने ठाकुरलाई पहिलो अध्यक्ष मान्न नसकिने दावी गरे। उनले प्रष्टसँग भने, ‘ उहाँ (ठाकुर) यसअघि प्रधानमन्त्री, उपप्रधानमन्त्री हुनु भएन। नेता नेपाली कांग्रेसमा हुँदा दोश्रो तेश्रो स्थानमा पनि हुनु भएन। उहाँलाई कसरी पहिलो अध्यक्षमा राख्न सकिन्छ?’ती पदाधिकारीको तर्क छ,‘बाबुरामजी यसअघि प्रधानमन्त्री हुनु भएको छ। माओवादीमा हुँदा उहाँ दोश्रो स्थानमा हुनुहुन्थ्यो’। राजनीतिक वरिष्ठताको आधारमा पनि ठाकुर वरिष्ठ हुन नसक्ने ती पदाधिकारीको भनाइ छ।

    ठाकुरलाई मयार्दाक्रममा पहिलो स्थानमा नराख्ने हो भने समाजवादी पार्टीसँग कुनै पनि अवस्थामा एकीकरण नहुने राजपाका नेताहरु ठोकुवा गर्छन। उनीहरुको भनाइ छ, ‘अरु कुरामा हामी लचिलो हुन्छौ। तर ठाकुरलाई पहिलो मयार्दाक्रममा पहिलो अध्यक्षमा राख्नु पर्ने विषयमा हामी कुनै पनि अवस्थामा लचिलो हुन सक्दैनौ ।’

    राजपाका अध्यक्ष मण्डलका दुई सदस्य अनिल झा र राजकिशोर यादव भने समाजवादी पार्टीसँग पार्टी एकीकरण भन्दा महाधिवेशनमै राजपाले ध्यान दिनु पर्ने अडान राख्दै आएका छन्। उनीहरुको अडान अनुसार राजपाका अध्यक्ष मण्डलका सबै सदस्यहरु अब महाधिवेशनमै केन्द्रित भए पनि कात्तिक मसान्तभित्र राजपाको महाधिवशन हुने स्थिति छैन।
    अहिलेसम्म क्रियाशील सदस्यहरुको नाम संकलन गर्ने काम पुरा भएको छैन। जिल्ला जिल्लाबाट क्रियाशील तथा साधारण सदस्यहरुको नाम केन्द्रमा नाम आएको छैन। गाउँ अधिवेशन, नगर अधिवेशन, क्षेत्रीय अधिवेशन प्रदेश अधिवेशन गर्न बाँकि नै छ। राजपाको विधानमा मातहतका ६ निकायमा अधिवेशन गरीसके पछि मात्र केन्द्रमा महाधिवेशन गर्नु पर्ने प्रावधान छ। त्यसैले कात्तिक मसान्तसम्म राजपाले महाधिवेशन गर्न सक्ने स्थिति छैन ।

    राजपाका अध्यक्ष मण्डलका ६ सदस्य मध्ये राजकिशोर र झा एकातीर छन भने बाँकि चार जना अध्यक्ष ठाकुर महतो, महेन्द्र र  भण्डारी अर्कोतीर छन्। बहुमत सदस्यहरु कात्तिकमा हुने भनिएको महाधिवेशन अघि नै समाजवादी पार्टीसँग एकीकरण गर्ने तयारीमा छन्। राजकिशोर र झा पक्षधरहरु भने महाधिवेशन पछि मात्र पार्टी एकीकरण गर्नु पर्छ भन्ने लाइनमा सक्रिय भएर लागेका छन्।

    यता, प्रत्येक दुई दुई महिनामा चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने पार्टीको विधानमा गरिएको व्यवस्था अनुसार असोज ६ देखि अध्यक्ष मण्डलको संयोजक ठाकुर भएका छन्। यसअघि ठाकुर अध्यक्ष मण्डलको संयोजक हुने वित्तिकै समाजवादी पार्टीसँग पार्टी एकीकरण प्रक्रिया टुंगोमा पुर्‍याउने तयारी महतो, भण्डारी र महेन्द्रले गरेका थिए। तर ठाकुर अध्यक्ष मण्डलको संयोजक भएको एक हप्ता नाघ्दा पनि एकीकरणको प्रक्रिया जहाको त्यही छ, अघि बढ्न सकेको छैन ।

    समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्न राजपाले महतोलाई वार्ता टोलीको संयोजक बनाएको छ। संयोजक भएको हैसियतले पनि महतोले यसअघि समाजवादी पार्टीका नेताहरु लगायत बाबुराम र उपेन्द्रसँग पटक पटक गोप्य वार्ता गरेका छन्। यता महतोलाई वार्ता टोलीको संयोजक बनाइएकोमा अनिल र राजकिशोरलाई भने मन परेको छैन ।

    २०७४ वैशाखमा तत्कालिन ६ तराई मधेस केन्द्रित दलवीच एकीकरण भइ राजपा गठन गरिएको थियो। राजपा गठन हुँदा एक वर्ष भित्र महाधिवेशन गर्ने भन्ने प्रतिबद्धता पार्टीको विधानमै गरिएको थियो। तर एक वर्षभित्र महाधिवेशन हुन नसके पछि पार्टीको विधान संशोधन गर्नुपरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology