२९ गते भृकुटीमण्डपमा नेकपाको चियापान, १ लाखलाई निम्ता !

  • साझा डबली
  • सोमवार, अशोज १३, २०७६
  • काठमाडौँ, असोज १३। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालीहरुका मुख्यपर्वको अवसरमा आयोजना गर्न लागेको चियापानका लागि एक लाख जनालाई निम्ता गर्ने भएको छ ।

    आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको चियापान तयारी बैठकले सोमबारदेखिनै निमन्त्रणा कार्ड वितरण गर्ने निर्णय गरेको हो । महासचिव विष्णु पौडेलको उपस्थितिमा बसेको बैठकले एक लाख कार्ड प्रकाशन गरी वितरण गर्नेलगायतका तयारी थालेको केन्द्ररीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

    चियापानमा निम्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

    नेकपाले असोज २९ गते भृकुटीमण्डपमा मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान आयोजना गर्दैछ । गत वर्ष पनि नेकपाले सोही ठाउँमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

    दशैं, तिहार, छठ, नेपाल संवत, इद, ल्होसार लगायतका नेपाली जनताका चाडपर्वको अवसरमा पार्टीले शुभकामना आदान प्रदान आयोजना गरेको केन्द्रीय कार्यालयका अर्का सचिव ईश्वरी रिजालले जानकारी दिए ।

    चियापानमा कुटनीतिक नियोग, उद्योगी व्यवसायी, कलाकार, संवैधानिक अंग, राष्ट्रसेवक, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई निम्ता गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology